अर्को लहरको सङ्घारमा छौँ, भोजभतेर–सभा सम्मेलनबाट टाढै बसौँ

 मंसिर २८, २०७८ मंगलबार १९:११:३५ | डा. अनुप सुवेदी
unn.prixa.net

बितेका केही दिनदेखि देखिन थालेका कोभिड–१९ सङ्क्रमित बिरामीका सङ्ख्या र स्थिति देख्दा हामी कोरोना भाइरस सङ्क्रमणको अर्को लहरको सङ्घारमा उभिएका छौँ जस्तो देखिन्छ । 'ओमिक्रोन' भेरियन्ट देखा नपर्दै पनि डेल्टा भेरियन्टले पनि हिउँदमा फेरि अर्को लहर आउने सम्भावना थियो । 

उच्च जोखिम समूहका व्यक्तिमा खोप वा सङ्क्रमणका कारण बनेको प्रतिरोधी क्षमता घट्दै जाने कारण हिउँदयाममा पहिलेको भन्दा अलि सानो भए पनि अर्को लहर चल्ने सम्भावना थियो । तर ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टाको कारण सम्भावना रहेको भन्दा ठूलो हुने निश्चित जस्तै भएको छ । ओमिक्रोनको कारण आउने लहर अघिल्लो लहरजस्तै ठूलो वा उस्तै ज्यान जाने किसिमको हुन्छ कि त्योभन्दा सानो वा त्योभन्दा पनि ठूलो हुन्छ भन्ने कुरा अहिल्यै अनुमान गर्न सकिन्न । तर अर्को लहर आउने कुरा भने अब भन्न सकिन्छ । 

बितेका केही दिनमा विशेषगरी सभा–सम्मेलन, बिहे, भोजमा सङ्क्रमित भएर हप्ता दिन जति पछि अस्पताल जाने, भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ । यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित हिउँदे उभार हो कि यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला । तर मूल कुरा, सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो । बिहेबारी, भोजभतेर, सभा–सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला । 

स्वास्थ्यका मापदण्ड पालना गरौँ

सकेसम्म भिडभाड हुने ठाउँमा नजाऔँ । घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन–९५ वा त्याे सरहको मास्क सधैँ लगाउनुहोला । आफूले विद्यालय पठाएका छोराछोरीलाई पनि त्यसो गर्न सिकाउनुहोला । मास्क लगाउँदा, मास्कको छेउ वा तलमाथिबाट हावा ननिस्कने गरी अनुहारमा टपक्क मिल्ने मास्क मात्र लगाउनुपर्छ । त्यस्तो मास्क नभेटिएमा बरु टपक्क मिल्छ भने एन–९५ मास्क र सर्जिकल मास्क, वा सर्जिकल र कपडाको मास्क, आदि दुई थरी मास्क एकैचोटि लगाउने गर्नुपर्छ ।  

भेन्टिलेशन राम्रो नभएको बन्द कोठा वा ठाउँमा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला । सकेसम्म भेटघाट र विशेषगरी अरू व्यक्तिसँग खानपान, बाहिर खुला ठाउँमा मात्रै गर्नुहोला ।

परिवारको कसैलाई सामान्य रुघा वा खोकी वा हल्का ज्वरो मात्र वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने पनि तुरुन्त पीसीआर जाँच गराउनुहोला । अनि रिपोर्ट नआउन्जेल घरका अरू कोही पनि सदस्य कार्यालय, विद्यालय वा बाहिर कतै नजानुहोला । यदि घरको एक जनाको मात्र पीसीआर पोजेटिभ देखियो भने पनि पोजेटिभ हुने त छुट्टै बस्नै पर्‍याे । बाँकी अरूले पनि क्वरेण्टीनका सबै नियमको पालना सकेसम्म गर्नुहोला ।  

कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला । गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधि खाने सबैले कोभिडविरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ र लगाउनुपर्छ । 

आफू जोगिऔँ, अरूलाई जोगाऔँ !

अन्तिम अपडेट: बैशाख १५, २०८१

डा. अनुप सुवेदी

सुवेदी सङ्क्रामक रोग विशेषज्ञ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया