पार्टीलाई एक बनाएर लान सक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नु भयाे : महत

 मंसिर २९, २०७८ बुधबार १६:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आउँदाे आमचुनावमा पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको छ । 

आज बुधवार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेता महतले आउँदाे आमचुनावमा पार्टीलाई एक बनाएर लैजान सक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभएको बताउनुभएको हो ।

देउवाले सबै नेतालाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उहाँले बताउनुभयो । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रूपमा निर्माण गर्ने उहाँको भनाइ छ ।

नेता महतले भन्नुभयो, ‘उहाँलाई समग्र पार्टी पङ्क्तिले समर्थन गरेका हेर्दा उहाँ सबै नेतालाई जोड्न सक्नुहुन्छ भन्ने थाहा हुन्छ । कसैलाई पनि असुरक्षाको अनुभुति हुने परिस्थिति आउँदैन भन्ने विश्वासले नै सबैले उहाँलाई सहयोग पनि गर्नुभयो । मलाई के कुरामा विश्वास छ भने आउँदाे आमचुनावमा पार्टीलाई एक बनाएर लान सक्ने खुबीका कारण नै उहाँ दोस्रो कार्यकालमा निर्वाचित हुनुभएकाे हाे । उहाँको दोस्रो कार्यकालमा हामी पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित, नागरिक केन्द्रित, देश केन्द्रित, देशको स्वार्थ र आवश्यकता केन्द्रित पार्टी बनाउँछाैँ । उहाँ सबैलाई व्यवस्थापन गर्नुहुन्छ । शेरबहादुरजीको मूल खुबी नै व्यवस्थापन गर्न सक्नु हाे ।’

पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् । देउवालाई बधाई दिन बालुवाटार पुग्नुभएका नेपाली कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आउँदाे चुनावमा पार्टीलाई दुई तिहाइ बहुमत दिलाउनका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो । 

नेता सतारले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता काँधमा काँध जोडेर सहयोग गर्न तयार रहेको बताउनुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया