वाग्मती प्रदेश : ७ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाएपछि खर्च बढ्याे, आम्दानी उही

 पुष १, २०७८ बिहीबार १९:५०:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशमा सात वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउँदा सरकारकाे खर्च बढेको छ । प्रदेश सरकारको आम्दानी भने उही छ । सात वटा मन्त्रालयलाई १४ वटा पारेपछि हेटौँडामा पहिले जिल्लास्तरका सरकारी कार्यालयका लागि निर्माण गरिएका पुराना र जीर्ण भवनमा तीन वटासम्म मन्त्रालय राख्नुपर्ने बाध्यता छ । कुनै मन्त्रालय भाडाको घरमा राखिएको छ ।

प्रदेश र जिल्लास्तरका धेरै कार्यालय भाडाका घरमा छन् । सरकार टिकाउनका लागि मुख्यमन्त्री पाण्डेले एउटै मन्त्रालय फुटाएर तीन वटासम्म पार्दा मन्त्रीका लागि गाडी, सचिवालयका पाँच जना कर्मचारीका लागि तलब भत्ता, सुविधाले प्रदेश सरकारको खर्च निकै बढेको छ । तर आम्दानी भने उत्तिकै रहेको छ । मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरे पनि बस्ने ठाउँ नहुँदा झनै समस्या परेको छ । कर्मचारी अभावका कारण मन्त्रीका लागि निजी सचिवसमेत दिन नसकिएको मन्त्रालयका एक सचिवले जानकारी दिए । मन्त्रालय फुटाउने र मन्त्री थप्ने प्रवृत्तिको कर्मचारीले पनि विरोध गरेका छन् । तर बोल्न भने सकिरहेका छैनन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलभित्र भागबन्डा मिलाउनका लागि १४ मन्त्रालय पुर्‍याउँदा मन्त्रालय राख्ने भवनको अभावसँगै खर्च पनि निकै बढेर गएको छ । गठबन्धनमा रहेका दलमा भागबन्डा मिलाउन मुख्यमन्त्री पाण्डेले ६ वटा मन्त्रालय थप गरिसके पनि मन्त्रिपरिषद्लाई भने पूर्णता दिइसक्नुभएको छैन । अझै कांग्रेसबाट मन्त्री नियुक्त गर्न बाँकी छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको बताए पनि सत्तारुढ गठबन्धनका दलबीच भागबन्डा मिलाउन मन्त्रीको सङ्ख्या थप्नुभएको हो । सत्तामा आफू टिकिराख्नका लागि मन्त्रालय फुटाएको प्रतिपक्ष दल नेकपा एमालेका सांसद बताउँछन् । मन्त्रालय विभाजन भएसँगै प्रदेश सरकारको खर्च पनि बढ्ने निश्चित छ । प्रदेशका मन्त्रीहरूको सेवा सुविधा, मन्त्रालयका लागि कर्मचारी तथा भवनलगायत विभिन्न शीर्षकमा प्रदेशको आर्थिक भार बढ्ने निश्चित छ । प्रदेशका मन्त्रालय सरकार गठन भएको चार वर्षसम्म पनि विभिन्न सरकारी कार्यालयका भवनमा बस्दै आएका छन् ।

अहिले कायम रहेका मन्त्रालयले नै बस्ने ठाउँ, कर्मचारी र गाडी अभाव भएको बताइरहेका छन् । यस्तोमा ६ वटा मन्त्रालय थपिँदा प्रदेश सरकारमा अन्य धेरै आर्थिक भार थपिने स्पष्ट छ । वाग्मतीमा स्वास्थ्य मन्त्रालय विस्तार भएको तीन महिनाभन्दा बढी भयो । तर अझैसम्म पनि सानो ठाउँ, थोरै कर्मचारी र स्रोत साधन अभाव रहेकाले मन्त्रालयले प्रभावकारी काम गर्न सकेको छैन । सामाजिक विकास मन्त्रालयबाट विभाजन भएर तीन महिना पहिले बनेको स्वास्थ्य मन्त्रालय सामाजिक मन्त्रालयकै भवनमा बस्दै आएको छ । 

साढे तीन वर्षसम्म एउटा मात्र मन्त्रालय बस्दै आएको भवनमा दुई वटा मन्त्रालय बस्दा ठाउँ अपुग भएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी बताउनुहुन्छ । ‘एउटा मन्त्रालयलाई ठिक्क भइरहेको भवनमा दुई वटा मन्त्रालय बस्दा ठाउँ अपुग नै छ । ठाउँ नपुग्दा मन्त्रालयको विभिन्न शाखा र कर्मचारीलाई एउटै कोठामा राखिएको छ । सबै मन्त्रालयमा आवश्यक कर्मचारी नहुँदा मन्त्रालयले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । मन्त्रालयसँग सवारीसाधन पनि आवश्यकताअनुसार नहुँदा असहज भइरहेको छ’, उहाँले भन्नुभयो । 

प्रदेश सरकार स्थापनाको सुरुवातमा तत्कालीन जिल्ला विकास समिति मकवानपुरको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरेर सरकारले काम थालेको थियो । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालय स्थापना गर्नुभएको थियो । उहाँको सरकारले तत्कालीन जिल्ला वन कार्यालय रहेको क्षेत्रमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, वन कम्प्लेक्स भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शिक्षा विकास कार्यालय हटाएर त्यो भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखेको थियो । त्यस्तै, किटजन्य रोग नियन्त्रण तथा अनुसन्धान केन्द्रका केही भवनमा सामाजिक विकास मन्त्रालय, श्रम तथा रोजगार कार्यालयको नवनिर्मित भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालय स्थापना गरेर काम सुरु गरेको थियो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया