तातोपानी कुण्डमा नुहाएपछि ज्यान हलुङ्गो भयो, कुण्ड संरक्षण गर्नुपर्छ : एमाले उपमहासचिव गुरुङ

 पुस ६, २०७८ मंगलबार २०:१५:४१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । आज (मङ्गलवार) तातोपानी कुण्डको स्थलगत अवलोकनपछि उहाँले संरक्षण गर्नुपर्ने बताउनुभएको हो । 

एमाले उपमहासचिव गुरुङले नजिकैबाट बगिरहेको म्याग्दी खोलाको कटानले जुनसुकै समयमा पनि कुण्डलाई असर गर्ने हुँदा संरक्षणको पहल थाल्न आवश्यक रहेको बताउनुभयो । उहाँले तातोपानी कुण्डको संरक्षण गर्नका लागि म्याग्दी खोलाको किनारमा ग्याबिन, जालीभन्दा पनि ठूल्ठूला ढुङ्गाको बलियो पर्खाल लगाउनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहनुभएका एमाले उपमहासचिव गुरुङले भन्नुभयो, ‘तातोपानी कुण्डको संरक्षण गर्नका लागि अलि धेरै पैसा चाहिन्छ । पैसा कि प्रदेश सरकारसँग माग्नुपर्‍याे, कि केन्द्र सरकारसँग माग्नुपर्‍याे । यो २०/३० लाखले केही पनि हुँदैन । दुई/चार करोडदेखि पाँच/दश करोडसम्मको बजेट चाहिन्छ ।’ 

म्याग्दीको तातोपानी कुण्डलाई प्राकृतिक उपचारको चिकित्सालयका रूपमा विकास गर्नुपर्ने भन्दै एमाले उपमहासचिव गुरुङले यसका लागि आवश्यक संरचनाहरू निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कुण्डमा आवश्यक पर्ने संरचना बनाउनका लागि पालिका, प्रदेश र केन्द्र सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो । तातोपानी कुण्डको महत्त्व बृहत्तर रहेको उहाँको भनाइ छ । 

तातोपानी कुण्डमा नुहाएपछि अनुभव सुनाउँदै एमाले उपमहासचिव गुरुङले भन्नुभयो, ‘कुण्डमा डुबेर ज्यान हलुङ्गो भयो । याे कुण्ड पक्कै पनि स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण छ जस्तो लाग्यो । तातोपानी कुण्डमा मान्छेले नुहाएर स्नान गरेर फिजियोथेरापीसँग जोड्ने कुरा छ । वा प्राकृतिक चिकित्सालयसँग जोड्ने कुरा एकदमै महत्त्वपूर्ण छ । कुण्डलाई म्याग्दीकाे चिकित्सालयका रूपमा विकास गर्नुपर्छ । यसले धेरै बिरामीलाई उपचार गरेर निको बनाएको कुराले हामी धेरै उत्साहित भएका छौँ । यसको यथोचित प्रचार गर्नुपर्‍याे । तातोपानी कुण्डको संरक्षण जरुरी छ । खोलाले कुनै पनि दिन यसको अस्तित्व समाप्त गर्न सक्छ । त्यसैले यसमा राज्यको ध्यान जानुपर्‍याे ।’ 

तातोपानी कुण्डलाई प्राकृतिक चिकित्सालयको रूपमा विकास गर्नका लागि यसअघि पर्यटन मन्त्रालयबाट ५० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको छ । यसैगरी गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँको आर्थिक सहयोगमा थेरापी र प्राकृतिक चिकित्सालय सञ्चालन गर्न आवश्यक उपचार सामग्री जडान गरिएको छ । 

जमिन मुनिबाट झन्डै ५० डिग्री सेन्टिग्रेडको तापक्रममा बिरेनुनको स्वादमा तातोपानी निस्कने गर्दछ । तातोपानीको कुण्डमा स्नान गरेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, घाउखटिरा, सड्केको, मर्किएको, नसा च्यापिएको, बज्रिएको साथै चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास छ । कुण्डमा नुहाउन स्वदेश र विदेशबाट बिरामीहरू आउने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया