ज्ञानेन्द्र, दीपेन्द्रसहित चार खेलाडीमाथिकाे कारबाही फिर्ता गर्न माग

 पुस ७, २०७८ बुधबार १७:४७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) बाट खेलाडीको कारबाहीबारे 'नोट अफ डिसेन्ट' लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन् । 

क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, छुम्बी लामा, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले आज बुधवार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका हुन् । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारबाही गरेको आरोप लगाउँदै कारबाही फिर्ता लिनुपर्ने उनीहरूकाे माग छ ।

पत्रकार सम्मेलनमा पुस १३ र १४ गते हुने भनिएको साधारण सभालाई ‘अवैधानिक’ भन्दै तत्काल रोक्न पनि माग गरिएको छ । क्यानको विधानअनुसार जिल्ला सङ्घहरूको साधारण सभा प्रत्येक चार वर्षमा हुनुपर्ने र २० भन्दा बढी जिल्लाको समयसीमा सकिएकाले त्यहाँबाट आउने प्रतिनिधि नै अवैधानिक हुने भन्दै ६ जना बोर्ड सदस्यले साधारण सभा अवैधानिक भनेका हुन् ।

क्यानका ६ जना बोर्ड सदस्यले आफूहरूले असोजमा भएको बैठकमा खेलाडी ग्रेडिङको मापदण्ड र प्रस्तावमाथि मत राखे पनि त्यसलाई बेवास्ता गरिएकाे बताए । खेलाडीले सामान्य असन्तुष्टि जनाउँदा ठूलो प्रतिक्रिया देखाएको, दुई घण्टाको समय राखेर बोलाइएको जुम बैठकबाट राष्ट्रिय टोलीका कप्तानसहित चार मुख्य खेलाडीलाई कारबाही गर्ने अपरिपक्व निर्णय गरिएको, बैठकका लागि सदस्यहरूलाई एजेन्डा उपलब्ध नगराएको, नेतृत्वले स्वेच्छाचारी ढङ्गले सङ्घ चलाएको लगायतका आरोप लगाइएको छ ।

उनीहरूले क्यानको वर्तमान नेतृत्वले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथि लगाएकाे प्रतिबन्ध पूर्णरूपमा फुकुवा गराउन नसकेको, नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्त्वपूर्ण योगदान गरेका खेलाडीलाई सम्मानको साटो नियोजित कारबाही गरिएको आरोप लगाएका छन् ।

क्यानले गरेको खेलाडी वर्गीकरणमाथि असहमति जनाएका कारण कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित राष्ट्रिय टोलीका मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको थियो । कारबाही स्वरूप ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाइएको थियो । क्यान नेतृत्वले ज्ञानेन्द्रको ठाउँमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया