नेपालको आधिकारिक नक्सा प्रयोग नगरे कारबाही गरिने

 भदौ २४, २०७५ आइतबार १५:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । 

नेपालको नक्सा त्रुटिपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरी नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको हो । 

त्रुटिपूर्ण रुपमा निशान छापमा समेत नेपालको नक्सा प्रयोगमा ल्याउने काम विभिन्न मन्त्रालयबाटै भएपछि त्यसलाई सच्याउन सम्बन्धित सबैलाई आग्रह गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो । उहाँले अव पनि नेपालको नक्सा त्रुटिपूर्ण ढंगले प्रयोग गरेको पाइए कानुनी कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी पनि दिनुभयो ।

मन्त्रालयले नापी विभागले सार्वजनिक गरेको नेपालको आधिकारिक नक्सा प्रयोग गर्न पटक–पटक आग्रह गर्दै आएको छ । तर पनि त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा ल्याउने काम नरोकिएपछि मन्त्रालयले यसलाई सच्याउन अनुगमनको कामलाई प्रभावकारी बनाउने र नेपालको आधिकारिक नक्साको चित्र छपाएर देशभर वितरण गर्ने अभियान पनि संचालन गर्ने योजना बनाएको छ । त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा रोक लगाउन अनुगमनलगायतको कामलाई अघि बढाउन नापी विभागलाई निर्देशन दिइएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जानकारी दिनु भयो ।

यता, नापी विभागले पनि विभागको वेबसाइट www.dos.gov.np मा राखिएको नेपालको आधिकारिक नक्सा मात्रै प्रयोग गर्न सम्बन्धित सबै निकायलाई पुनः आग्रह गरेको छ । विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले विभागको आधिकारिक वेबसाइटमा राखिएको नेपालको सीमासहितको नक्सा प्रयोग गर्न पुनः आग्रह गर्नु भएको हो ।

विभागले यसअघि पनि पत्रकार सम्मेलन गरी नेपालको आधिकारिक नक्सा प्रयोगमा ल्याउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदै आएको छ । जग्गा नाप जाँचसम्बन्धि ऐन र नियमावलीमा नापी विभागले तयार पारेको नेपालको नक्सामात्रै प्रयोगमा ल्याउनुपर्ने किटानी व्यवस्था गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • दामोदर फुयल

    Sept. 9, 2018, 5:56 p.m.

    प्रायःजसो नेपालको राष्ट्रिय झण्डाको आकारलाई पनि विकृत बनाएर प्रयोग गरिन्छ । यसलाई पनि रोक्नुपर्छ । सम्पर्क भएमा विस्तृत जानकारी गराउने नै छु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया