मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्दै सर्लाहीका किसान

 पुस ११, २०७८ आइतबार १९:४१:३४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा उखुको मुल्य निर्धारण नहुँदै किसानले धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदे बाली लगाउन ढिलो भइसकेकाले मूल्य निर्धारण नहुँदै उखु काट्न थालेको हरिपुरका उखु किसान विनोद साहले बताउनुभयो ।

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनाली भने सरकारले उखुको समर्थन बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने बताउनुहुन्छ ।  

उखुको मूल्य निर्धारण गर्न काठमाण्डाैमा केही दिनअघि भएको त्रिपक्षीय छलफल विना निष्कर्ष टुङ्गेपछि अहिलेसम्म उखुको मूल्य निर्धारण हुन नसकेको मैनालीको भनाइ छ ।

किसानले यस क्रसिङ सिजनका लागि उखुको मूल्य न्यूनतम प्रति–क्विन्टल ६ सय ८० रुपैयाँ पाउनुपर्ने भए पनि तत्कालका लागि ६ सय ४० रुपैयाँ मूल्य  कायम गरेर उद्योग सञ्चालन गर्न सुझाव दिइएको अध्यक्ष मैनालीले बताउनुभयो । यता उद्योगले भने सरकारले पछि निर्धारण गरेको मूल्यमा उखु किसानलाई भुक्तानी गर्ने गरी उखु क्रसिङको तयारी थालेको छ ।

उखुको मूल्यमा सहमति जुट्न नसके पनि चिनी कारखानाले यसै हप्तादेखि उखु क्रसिङ गर्ने गरी किसानलाई धमाधम उखु ल्याउने चलान पुर्जी वितरण गर्न थालिसकेको छन् । 

उखुको मूल्य निर्धारण भइनसकेकाले अगाडि नै उखु बिक्री गर्दा पछि किसानलाई भुक्तानीमा समस्या पर्ने उखु किसानका अगुवा राजकुमार उप्रेतीले बताउनुभयो । 

विभिन्न उखु किसान सम्बद्ध सङ्घ–सङ्गठनले भने यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति–क्विन्टल ६ सय ८० रुपैयाँभन्दा माथि हुनुपर्ने र त्योभन्दा कम मूल्यमा सहमति गर्न नसकिने बताएका छन् ।
पुसको आधाआधी बितिसकेको र धेरै किसानको उखु खेतमा सुक्न थालेकाले किसानले धमाधम उखु काट्न थालेका हुन् । 

उखु बिक्री गरेर गहुँ बाली लगाउन ढिलो भइसकेकाले सस्तै मूल्यमा भए पनि उखु काटेको किसानको भनाइ छ । गएकाे वर्ष सरकारले उखुको प्रति–क्विन्टल मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा कायम गरेको थियो । त्यसमा उद्योगीले चार सय ७१ रुपैयाँ २८ पैसा र सरकारले उखु किसानलाई अनुदान स्वरूप ६५ रुपैयाँ २८ पैसा भुक्तानी गरेको थियो । उखुको लागत मूल्य बढेकाले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ पुर्‍याउनुपर्ने किसानको माग छ । मूल्य निर्धारण नभएर समयमा चिनी उद्योग सञ्चालन नहुँदा धेरै किसानले तीन वर्षदेखिको खुट्टी (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) उखु बिक्री गर्न सकेका छैनन् ।

सर्लाहीमा उत्पादन भएको उखु जिल्लामा रहेका दुई वटा चिनी कारखाना इन्दुशंकर चिनी कारखाना हरिवन, महालक्ष्मी सुगर मिल बगदहले क्रसिङ गर्दै आएको छ । सर्लाहीमा नै रहेको अन्नपूर्ण सुगर मिल धनकौलले किसानलाई दुई वर्षदेखिको भुक्तानी गर्न नसकेका कारण बन्द छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया