म्याग्दीमा हिउँमा परेर बेपत्ताको स्थानीयद्वारा खोजीकार्य सुरु

 पुस १६, २०७८ शुक्रबार १३:२७:५२ | प्रताप बानियाँ
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिउँमा परेर बेपत्ता भएका एक व्यक्तिको स्थानीयले खोजीकार्य सुरु गरेका छन् । 

बुधवार वर्षासँगै परेको बाक्लो हिमपातमा परेर बेपत्ता भएका गुर्जाका ५० वर्षीय रामबहादुर छन्त्यालको आज बिहानदेखि खोजीकार्य सुरु गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ । 

बिहीवार नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत गुर्जा गाउँबाट लगेर गएको चार जनाको स्थानीयवासीको टोलीले खोजीकार्य थालेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । गुर्जाको सुकेलट्टे भन्ने ठाउँमा हिउँमा परेर ५० वर्षीय छन्त्याल बेपत्ता हुनुभएकाे स्थानीयले बताएका छन् ।

बाक्लो हिमपातकै कारण मानव बस्तीभन्दा धेरै टाढाको जङ्गलमा रहेको भेडीगोठमा बस्दै आएका गुर्जाका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेका थिए । उनीहरुलाई सेनाको हेलिकप्टरबाट खाद्यान्न सामग्रीसहित स्थानीयवासीलाई समेत लगेर सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

हिमपहिरोमा परेर छन्त्याल बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ भने झण्डै चार/पाँच फिटसम्म हिउँ जमेको बताइएको छ । वर्षा र हिमपातले गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा समेत बन्द भएको छ । छिमेकी वडा लुलाङबाट गुर्जा गाउँ पुग्नका लागि पूरै एकदिन पैदलयात्रा गर्नुपर्दछ । पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्धार तथा बेपत्ताको खोजी गर्न हेलिकप्टर बोलाइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।

हिमपात र वर्षाका कारण विद्युत् सेवा बन्द भएकाले टेलिफोन सम्पर्क हुन नसकेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । उहाँले बेपत्ता भएका नागरिकको वास्तविक अवस्था पत्ता लागेपछि हेलिकप्टर जाने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया