तान्न पुगेन सास, जताततै चल्यो बतास !

 पुस २५, २०७८ आइतबार ८:२९:१ | मिलन तिमिल्सिना
unn.prixa.net

ओहो ! चिसो, त्यसमाथि हावा...! यो जाडो कसरी कटाउने होला ?

धन्न यहाँ हावा मात्रै चलेको छ, सहरतिर बतास नै चल्यो रे ।

अनि यहाँ पनि बतास नै चलेकै छ नि, हावा भनेको बतास हैन र भन्या, के कुरा गरेको होला ?

यहाँ चलेको बतास कपाल मात्रै उडाउन खालको, सहरतिर चलेको बतासले त कुर्सी पनि उडाउन सक्छ रे ।

कुर्सी उडाउन बतास नै चल्नुपर्दैन क्या । अनि कुनै कुर्सी त जति बतास चले पनि डेग चल्दैन । बरु यसपालि सहरमा चलेको बतास चाहिँ कस्तो खालको हो त ?

खै कस्तो कस्तो । कुरा सुन्दा गतिवान बतास जस्तो लाग्छ, तर परिणाम सुन्दा अगतिलो लाग्छ ।

हैन भन्न खोजेको के हो प्रष्ट भनौँ न । 

खै, बतासले कहिले नारायणहिटी उडाउन लाग्यो भन्छन् । कहिले पोखराको गण्डकी सङ्ग्रहालयमा पनि पस्यो भन्छन् । तनहुँको मानहुँकोटमा पनि पुग्यो, पाटन दरबारमा पनि छिर्यो भन्छन्। क्या हो क्या ।

भनेपछि लहरो तान्दा पहरो थर्केझैँ जता पनि बतासले हानेको देखिन थाल्यो हैन त।

खै त्यही भन्छन् । अस्तिताकासम्म कसैले कतै बतास चलेको सुइँको पाएको थिएन । अहिले त यता पनि बतास चलेको छ, उता पनि बतासले केही न केही उडाउन खोजिरहेको छ । हिटरमा बसेका धेरैले अहिले चिसो उ बतास चल्यो भन्छन् । बतास मिसिएका गीत गुन्गुनाउँछन् । खै के हो के ?

नारायणहिटीदेखि गण्डकीसम्म चलेको बतास चाहिँ कस्तो हो त ?

अब कस्तो बतास भन्ने ? ठूलो हावाहुरी पनि बतास नै हो । पसेपछि तहसनहस बनाउने हुण्डरी पनि बतास नै हो । 

भनेपछि पसेपछि तहसनहस बनाउने सबै बतास हुन् ?

हुन् नि । बतास नै नाम राख्ने पनि बतास नै हुन् । बतासजस्तो गुण भएका तर नाम चाहिँ अरुथोक नै भएका पनि बतास नै हुन् ।

त्यसो भए हाम्रो देशमा बतास त कति कति ? कहिले लाउडा भएर बतास चले, कहिले धमिजा भएर बतास चले । कहिले टनकपुर र कहिले गण्डक बनेर बतास चले । कहिले ओम्नी, कहिले यति, कहिले सुमार्गीले पनि बतासकै रुप लिए । 

यी त देखिने र हामीलाई बतासजस्तो लाग्ने बतास भए । हामीले नदेखेका र बतासजस्तो नलाग्ने बतास त झन् कति कति !

गाउँनै पिच्छे सिंहदरबार छन्, सबै दरबारमा थरीथरी राजा छन् । टोलै पिच्छे नेता छन् । घरै पिच्छे कार्यकर्ता छन् । राजा नेता र कार्यकर्ता सबैका मुख छन् । मुख भएकाले खान्छन्, कमाउँछन् । जति ठूलो पद, मुख त्यत्तिकै ठूलो हुन्छ । ठूलो मुखमा हाल्ने गाँस सानो हुँदैन, यस्ता मुखलाई थोरैले पुग्दैन, धेरै ताक्नुपर्छ । ताकेको तान्न सासले पुग्दैन, सासले नपुगेपछि बतास नै खोज्नुपर्छ । 

भनेपछि हामीकहाँ बतास खोज्ने, बतास चलाउने, बतासकै तालमा उड्ने र त्यही बतास देखाएर अरुलाई पछार्नेको कमी छैन । हैन त ? 

हो नि बतासै नाम राखेका र बतासजस्तो गुण बोकेका सबै कुरा नेता कार्यकर्ताको निर्देशन र इशारामा चल्छन् । कहिले यसको, कहिले उसको पोल्टामा बसेर रजाइँ गर्छन् । भेटेजति ठाउँमा पसेर तहसनहस बनाउँछन् । पालैपालो नेता कार्यकर्ताको दैलोमा पुग्छन् । उनीहरुको आशीर्वाद लिन्छन् । त्यसपछि ती नेता कार्यकर्तालाई नै आफ्नो मुठीमा लिन्छन् । त्यसपछि आफ्नो इशारामा उनीहरुलाई नचाउँछन् । बतास चल्छ । हावाहुरी चल्छ । हुण्डरी ल्याउँछ । बेलाबेला भूमरी बन्छ । त्यसपछि खैलाबैला मच्चिन्छ ।

भनेपछि सक्नेजति सबै बतासेले बतास चलाउँछन् ।

हो पालैसँग चलाउँछन् । बतासेहरुले बतास चलाउँछन् । हामी बतास र हावाहुरीको तालमा एकछिन बहकिन्छौँ । केही दिन बतास देख्छौँ, त्यसपछि आँखा चिम्लन्छौँ। दिनहुँ बतास चलिरहँदा पनि हाम्रो रौँ हल्लिन छाड्छ । कहिलेकाहीँ अरुले बतास चल्यो रे भनेपछि चाहिँ कपाल मिलाउन थाल्छौँ ।

भनेपछि बतासेले बतास चलाउँछन्, हामी बतासको चालमा बहकिन्छौँ ।

बतास चलाउने मात्रै बतासे हुँदैन क्या । बतास सँगसँगै बहने पनि बतासे नै हो ।

त्यो त भित्र हावा मात्र भएको, सार वा तथ्य नभएको पनि बतासे हो नि ।

अनि हावाले उडाउन सक्ने, हलुंगो र पातलोलाई नि बतासे भनिन्छ ।

त्यति मात्र होइन भाले नलागिकन पारिएको र चल्ला ननिस्कने, निर्जीवलाई पनि बतासे भनिन्छ ।

त्यसो त बकबक गरिरहने र बढ्ता बोल्ने पनि त बतासे नै हो नि ।

त्यसो भए यी सबै गुण कुन चाहिँ बतासेमा छ त ?

पहिले बतास चलाउने, त्यसपछि बतास चलाउनेलाई नै बतासले चलाउने र अनि बतासको तालमा बहकिने सबै बतासेमा धेरथोर यी गुण छन् ।

ओहो..ल धेरैबेर बतासको कुरा नगरौँ आफैँलाई उडाउन सक्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया