फागुनसम्म सबैले स्मार्ट लाइसेन्स पाउनुहुन्छ : महानिर्देशक घिमिरे

 पुस २५, २०७८ आइतबार १३:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका साढे चार लाख जनाभन्दा धेरैले अहिले पनि रसिदका भरमा गाडी चलाउन बाध्य छन् । 

कार्ड सकिएपछि झण्डै १५ महिनादेखि स्मार्ट लाइसेन्स छपाइको काम रोकिएको थियो । तर यसै हप्तादेखि स्मार्ट कार्ड छाप्न थालेको यातायात व्यवस्था विभागले जनाएको छ । 

कार्ड छाप्न सुरु गरे पनि सेवाग्राहीका हातमा पुगेको छैन । स्मार्ट कार्ड छपाइमा अहिले भइरहेको कामका बारेमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसँग कुराकानी गरेका छौँ ।

यातायात व्यवस्था विभागले रोकिएको स्मार्ट कार्ड छपाइको काम थालेको भनेको छ, काम र वितरण प्रक्रिया चाहिँ के भइरहेको छ ?

कार्ड छाप्ने काम दैनिक दुई सिफ्टमा चलिरहेको छ । अहिले बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म कार्ड प्रिन्टको काम हुन्छ । दैनिक ३५ सयदेखि चार हजारको हाराहारीमा कार्ड प्रिन्ट भइरहेको छ । अब कार्ड प्रिन्टको स्पीड बढाउनु पर्नेछ । 

मैले तीन सिफ्ट चलाउने गरी छलफल थालेको छु । बिहान ७ बजेदेखि १ बजेसम्म, दिउँसो १ देखि बेलुकी ७ बजेसम्म र बेलुकी ७ बजेदेखि राति १ बजेसम्म कार्ड प्रिन्ट गर्ने तयारी छ, तीन सिफ्ट सुरु भइसकेको छैन । तर जसरी भए पनि दैनिक प्रिन्ट गर्ने कार्डको सङ्ख्या बढाउने कुरा भइरहेको छ ।

अघिल्लो हप्ताबाट सुरु भयो भने अहिलेसम्म के कति सङ्ख्यामा छपाइ भएको छ ?

आजसम्म हामीले २४–२५ हजार कार्ड प्रिन्ट गरिसकेका छौँ। त्यसमध्ये हामीले एकान्तकुनामा सन् २०२० सम्मका सबै कार्ड प्रिन्ट गरिसकेका छौँ। जुम्लाको जुन थोरै सङ्ख्यामा कार्ड छाप्नुपर्ने थियो, प्रिन्ट गरेर पठाइसकेका छौँ । काम नियमित भइरहेको छ । 

यसअघि त दैनिक ७ देखि १० हजारसम्म कार्ड छाप्न सकिन्छ भनेर यातायात व्यवस्था विभागले भनेको थियो नि ? व्यावहारिक रुपमा त देखिएन ।

मेसिनको क्षमता अनुसार घण्टाको चार सय ५० वटाका दरले दैनिक १८ घण्टा चलाउन सक्यौँ भने दैनिक १० हजार छापिन्छ भन्ने हो । त्यसका लागि अहिले भइरहेको जनशक्तिले पुग्दैन । जनशक्ति थप्नु पर्नेछ । दैनिक १० हजार छाप्ने तयारी हाम्रो थियो र अहिले पनि छ । 

१० हजार भनेर १० हजार नै प्रिन्ट भइरहेको छैन । मैले लुकाउनु पर्ने झुटो बोल्नुपर्ने कुरा छैन । अहिले दैनिक झण्डै ३५ सय–चार हजारको दरमा छापिरहेका छौँ। अहिले अर्को एउटा समस्याले गर्दा १० हजार दैनिक छापिने सम्भावना देखिएन । 

दैनिक जस्तो एक सयदेखि तीन सय मानिस वैदेशिक रोजगारमा जाने र उनीहरुले मेरो टिकटको म्याद २/३ दिन मात्रै छ, लाइसेन्सको म्याद सकिन लाग्यो भन्दै आउने गरेका छन् । पुरानो कार्डको अर्ली प्रिन्टिङ गर्नुपर्ने अवस्थाका कारण मास प्रिन्टिङको काममा असर गरेको छ । 

तीन सय कार्ड प्रिन्ट गर्न पनि एउटा सिफ्ट छुट्याउनु पर्ने अवस्था छ । त्यसकारण ढिलाइ भइरहेको हो । तर हामीले जतिसक्ने त्यो मात्रामा काम गरिरहेका छौँ। 

यस्तो तरिका र गतिले सेवाग्राहीको हातहातमा स्मार्ट लाइसेन्स कहिले पुग्छ त ?

एक डेढ हप्ताको बीचमा २५ हजार हाराहारीमा कार्ड छापिसकिएको छ । यसअघि कार्डको पर्खाइमा रहेका साढे चार लाखमध्ये अब सङ्ख्यात्मक रुपमा घट्दैछ । हामीले क्षमताले भ्याएसम्म कार्ड छपाइको काम सक्दै जाने हो । 

ठ्याक्कै सङ्ख्यामा / डाटामा रहेर यो काम यति समयमा यसैगरी सकिन्छ भन्न त सकिन्न । मेसिनलाई आवश्यक पर्ने आराम, काम गर्न लाग्ने समय र अरु प्राविधिक कुरालाई पनि हेरेर दिनमा अधिकतम कति चलाउन सकिन्छ, त्यो हामी चलाउँछौँ। 

१८ घण्टा दैनिक चलाउन पाइयो भने हामी १० हजार कार्ड दैनिक छाप्न सक्छौँ भन्नेमा विश्वस्त नै छौँ। १८ घण्टा सहज तरिकाले मेसिन चलाउन पाइन्छ / पाइँदैन भन्ने कुरा अरु कुराले पनि निर्धारण गर्छ । 

हामीले काम गर्ने कुरामा रोकेका छैनौँ । कार्ड छपाइ नगरि तपाईँहरुका प्रश्न सुन्न त हामीलाई पटक्कै मन छैन । चाहना त  १५ दिनमा नै सक्न पाए त हुन्थ्यो भन्ने छ नि तर सकिँदैन । 

उसोभए, सेवाग्राहीले अझै कति पर्खिनुपर्ने हो ?

कति पर्खनु पर्ला भनेर मैले कसरी तपाईँलाई जवाफ दिने । जबसम्म कार्ड प्रिन्ट भएर आइपुग्दैन तबसम्म पर्खिनु पर्ला । 

तपाईँले यसो भन्न मिल्ला ? फेरि पनि प्रश्न सेवाग्राहीले स्मार्ट कार्ड कहिलेसम्म पाउँछन् ?

हाम्रो पहिलादेखिको लक्ष्य भनेको माघ मसान्त हो । माघ मसान्तको एक दुई हप्ता यताउता होला । फागुन महिनासम्म सबैले कार्ड पाउनुहुन्छ । 

फागुनसम्म अहिले रसिदका भरमा गाडी चलाउँदै आएका सबैले कार्ड पाउँछन्, फेरि पनि जनशक्ति बाहेक अरु झैँझमेला, बहाना देखिने पो हुन् कि ?

जनशक्तिको समस्या त समाधान गर्न सकिन्छ । त्यसबाहेक अर्ली प्रिन्टिङ गर्नुपर्नेको लागि समय छुट्याउँदा २/३ घण्टा काम रोकिन्छ । ३/४ सय कार्ड छाप्नको लागि पनि एक सिफ्टको समय छुट्याउनु पर्ने हुँदा मास प्रिन्टिङको काम रोकिन्छ । 

वैदेशिक रोजगारीमा जाने अत्यावश्यक नै भयो । कम्प्युटर सिस्टमलाई कामको लोड दिँदा केही ढिलाइ भएको छ । त्यसबाहेक अन्य प्राविधिक समस्या अहिले देखिएको छैन । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया