पीएम कप : लुम्बिनी र एपीएफकाे जित

 पुस २९, २०७८ बिहिबार १७:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । कीर्तिपुरमा आज बिहीवार भएको खेलमा प्रदेश २ लाई हराउँदै लुम्बिनीले पहिलो जित निकालेको हो ।

लुम्बिनीले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रनमा सीमित भयो । प्रदेश २ का लागि विवेक यादवले २४ बलमा ३६ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदेश २ लाई एक सय १९ रनमै रोक्न लुम्बिनीका अनिल खरेलले पाँच विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६१ रन बनायो । लुम्बिनीका लागि देव खनालले अर्धशतकीय पारी खेले । उनी ३८ बलमा ५४ रन बनाएर आउट भए । यस्तै बसिर अहमद र सन्दीप रजालीले ३०–३० रन जोडे । बलिङतर्फ प्रदेश २ का रुपेश सिंह र विवेक यादवले दुई–दुई विकेट लिए ।

यो जितसँगै लुम्बिनी दुई खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ भने तीन खेलमा दुई अङ्कसहित प्रदेश २ चौथो स्थानमा छ । 

यसैबीच मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई दुई रनले हराएको छ । ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । 

गण्डकीका लागि विपिन खत्रीले ३६ र विधान श्रेष्ठले २९ रन बनाए पनि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेनन् । गण्डकलीलाई ९० रनमै राेक्न एपीएफका कमल एरीले तीन र किशाेर महताेले दुई विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे एपीएफले १८ ओभर ४ बलमा अलआउट हुँदै ९२ रन बनायाे । एपीएफका लागि प्रदीप एरीले १७, आसिफ शेखले १६ र दीपक बाेहराले १५ रन बनाए । बलिङतर्फ गण्डकीका लागि कमल परियारले तीन र विशाल पाैडेलले दुई विकेट लिए । 

जितसँगै तीन खेलबाट ६ अङ्क जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । एपीएफले यसअघि प्रदेश २ र वाग्मती प्रदेशलाई हराएकाे थियाे । प्रतियाेगितामा गण्डकीको याे लगातार दोस्रो हार हो । गण्डकीले पहिलाे खेलमा प्रदेश २ सँग हारेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया