दार्चुलामा कोरोना खोप अभाव

 पुष ३०, २०७८ शुक्रबार ११:४२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश दिएको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो ।

प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्ध लगाइने खोपको भने अभाव छ । हिजो बिहीवार जिल्लाका कुनै पनि ठाउँमा कोरोना खोप थिएन । ‘कोरोनाको खोप सकिएको छ’, स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले भन्नुभयो, ‘अहिले खोप माग गरिएको छ, एक–दुई दिनभित्र खोप जिल्ला पुग्छ, अहिलेसम्म जिल्लामा ७७ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन् ।’

यस्तै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले निकाल्नुभएको आदेशमा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुने गरी राजनीतिक, सामाजिक, धार्मिक तथा प्रशासनिक कार्यक्रम, मेला, भेला, महोत्सव, पर्व सञ्चालन गर्ने, आवश्यक कार्यक्रमको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ । 

सार्वजनिक यातायातमा तोकिएको सिटभन्दा बढी यात्रु राख्न नपाउने र घरबाट बाहिर निस्कँदा अनिर्वायरूपमा मास्क लगाउनुपर्नेछ ।  त्यस्तै भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा आउने नागरिकले पालिकाको स्वास्थ्य शाखाको निगरानीमा होम क्वरेण्टीनमा बस्नुपर्नेछ । हिजोसम्म जिल्लामा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट रोजगारी गरेर फर्किने नेपालीमा कोरोना सङ्क्रमण देखिने गरेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण देखिने गरेको छ ।

भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले जाँचको व्यवस्था गरिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया