पीएम कप : पुलिसले कर्णालीलाई ८९ रनले हरायाे

 पुस ३०, २०७८ शुक्रबार १३:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई हराउँदै लगातार तेस्रो जित दर्ता गराएको छ । 

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिसले कर्णालीलाई ८९ रनले हराएकाे हो । पुलिसले दिएको दुई सय ४५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै एक सय ५५ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान गरे । बलिङतर्फ पुलिसका योगेन्द्रसिंह कार्की र दीपेन्द्र सिंह ऐरीले दुई/दुई तथा पवन सर्राफ, कुशल भुर्तेल, करण केसी र गुल्सन झाले एक/एक विकेट लिए ।  

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ४४ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ८२ रनको योगदान दिए । यस्तै  दीपेन्द्रसिंह ऐरीले ६२, दिलीप नाथले ३१, पवन शर्राफले २२, आरिफ शेखले १८ र मञ्जित श्रेष्ठले १९ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुई/दुई विकेट लिए । 

याे जितसँगै पुलिस सेमिफाइनल नजिक पुगेको छ । पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई दुई रनले र त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराएको थियो ।

कर्णाली भने अहिलेसम्म खेलेका चार खेलमध्ये तीनमा पराजित भएको छ । कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । यसअघि कर्णालीले आर्मी र सुदूरपश्चिमविरुद्धको खेलमा पराजय भोगेको थियो भने प्रदेश नं १ लाई हराएकाे थियो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया