युट्युबमा हेरेर व्यावसायिक कालिज पालन

 माघ २, २०७८ आइतबार १८:१९:३० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा पहिलो पटक व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । कालिज पालनको भिडिओ युट्युबमा हेरेर प्रभावित भएका एक युवाले आफ्नाे व्यक्तिगत लगानीमा कालिज पालन व्यवसाय सुरु गरिएकाे हाे ।

रोल्पाको परिवर्तन गाउँपालिका–५ राङकोटका मिलन रोकाले केही महिना अघि युट्युबमा कालिज पालनको बारेमा भिडिओ हेर्नुभयाे । जिल्लामै केही नयाँ व्यवसाय गर्ने सोच बनाइरहनु भएका रोकाका लागि त्याे भिडिओ नै नयाँ व्यवसायको मार्गदर्शन बन्न पुग्यो । फलस्वरुप सदरमुकाम लिबाङमा जग्गा भाडामा लिएर करिब २० लाख रुपैयाँ लगानीमा कालिज पालन व्यवसाय सुरु गरेको रोकाकाे भनाइ छ ।

‘खोर निर्माण, चल्ला खरिद, जग्गा भाडा गरेर २० लाख रुपैयाँ बढी लगानी भइसक्यो’ रोकाले भन्नुभयो, ‘अझै थप लगानीकै क्रममा छ ।’

हाल व्यक्तिगत लगानी मात्रै रहेको यस व्यवसायमा केही अनुदान पाए हेचरी मेसिन लिएर कालिजको चल्ला यहीँ उत्पादन गर्ने रोकाको योजना छ । जिल्लामै पहिलो पटक सुरु भएको कालिज पालनलाई थप विस्तार गर्न कुनै कार्यक्रम नभए पनि नयाँ व्यवसाय भएकाले केही अनुदान सहयोग गर्न सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख सुकइप्रसाद चौधरीको भनाइ छ । 

प्रदेश सरकारबाट प्रत्येक स्थानीय तहमा कुनै नयाँ किसिमको काम गरेका कृषकलाई अनुदान दिने कार्यक्रम रहेकाले रोकालाई सोही अनुदान दिन सकिने चौधरीले बताउनुभयाे ।

‘स्थानीय तहसँगको सहकार्यमा दिने भएकाले यहाँका मेयरसँग कुरा गरेर उक्त कार्यक्रमबाट उहाँलाई सहयोग गर्न सकिन्छ’ चौधरीले भन्नुभयो, ‘त्यसका लागि रोल्पा नगरपालिकाका मेयरसँग सल्लाह गर्दैछौं ।’

कालिजको मासु स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । तर यसको लागत अनुसार मूल्य केही महङ्गो पर्ने भएकाले जिल्लामा कम खपत् हुने अनुमान गरिएको छ । रोकाले एउटा कालिजलाई दुई हजार रुपैयाँका दरले बिक्री गरिरहनुभएकाे छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया