सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टरकाे स्थापना

 माघ ४, २०७८ मंगलबार ९:२५:५ | रासस
unn.prixa.net

हुम्ला - देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ ।

हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्यम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो ।

सोमवारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमानाकामा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।

उहाँले सिमकोटबाट बाहिरिने र भित्रने सबै यात्रुको तीनपुस्ते विवरण लिने र स्वास्थ्य जाँच गर्ने काम सुरु भएको बताउनुभयो । त्यसका लागि दुई स्वास्थ्यकर्मी खटाइएको छ ।

अब चाँडै पैदलमार्गबाट जिल्ला भित्रने दुईवटा नाका चङ्खेली गाउँपालिका–१ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रमुख सिंहले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया