सुत्केरी र ७५ वर्षमाथिका विपन्नलाई घिरिङ गाउँपालिकाकाे निःशुल्क एम्बुलेन्स सेवा

 माघ ८, २०७८ शनिबार १३:४१:३२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

तनहुँ – तनहुँको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा विपन्न सुत्केरी, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न नागरिक र दुर्घटनामा परेका घाइतेलाई निःशुल्क प्रदान गरिने भएको हो ।

गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सुन्धारा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार एम्बुलेन्स खरिद गरिएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो ।

गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा निजीस्तरबाट सञ्चालित एम्बुलेन्स र सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स खरिद गरिएको उहाँले बताउनुभयो । दोस्रो लहरको कोरोना सङ्क्रमणका बेला पनि गाउँपालिकामा एम्बुलेन्सको आवश्यकता खड्किएको थियो । “एम्बुलेन्स नहुँदा जनप्रतिनिधिले चढ्ने सवारीमा पनि कोभिड सङ्क्रमित बोक्यौ, तेस्रो लहरको कोरोना आइसकेकाले एम्बुलेन्सको अति आवश्यकता थियो”, उहाँले भन्नुभयो ।

जिल्लाकै तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि गत सातादेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को महामारीका बेला खड्किएको आवश्यकतालाई महसुस गर्दै एम्बुलेन्स खरिद गरी ल्याइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकावासीलाई स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता अब हट्ने उहाँले बताउनुभयो । 

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क दिने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवाबाट तनहुँका अतिरिक्त गोरखा र चितवनका स्थानीयवासी लाभान्वित हुनेछन् । यो एम्बुलेन्स सरकारी तवरबाट सञ्चालित हो । आँबुखैरेनीमा निजी क्षेत्रबाट थप तीन एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

यसअगाडि तनहुँकै व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । स्थानीय तहले सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट सर्वसाधारणले न्यूनतम मूल्यमा सेवा पाइरहेका छन् । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया