‘बुस्टर डोज खोप भनेको निभ्न लागेको दियोमा तेल थपेजस्तै हो’

 माघ ९, २०७८ आइतबार ७:४६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले कोरोनाविरुद्ध खोप अभियान सञ्चालन गरिरहेको छ । अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज पनि दिन थालेको छ । बुस्टर डोजको विषयमा हामीले स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलसँग कुरा गरेका छौँ।

बुस्टर डोज खोप भनेको के हो ?

बुस्टर डोज भनेको अहिले देखिएको आधारमा खोपले जुन सहयोग, फाइदा गर्छ त्यो मात्रा शरीरमा घट्दै जाने हुनाले फेरि त्यसलाई बढाउन दिने खोपको मात्रालाई बुस्टर डोज भनिन्छ । अहिले देखिएको आधारमा खोप लिएको ६ महिना भित्र बुस्टर डोज लगाउनु पर्ने हुन्छ । ६ महिना नाघेका फ्रन्ट लाइनका स्वास्थ्यकर्मी र अन्य व्यक्तिहरुलाई सरकारले बुस्टर डोज दिन लागेको हो । यो सँगै दीर्घरोगी र ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पनि खोप दिने तयारी भइरहेको छ । 

बुस्टर डोज भनेको अर्कै खालको खोप हो भन्ने धेरैको बुझाइ छ नि ?

बुस्टर डोज भनेको अर्को खोप होइन । पहिले जुन खोप लगाएको थियो, त्यही खोपको मात्र एक पटक थप्ने भनेको हो । भोलिका दिनमा शरीरमा रोगको सङ्क्रमण थपिन्छ कि भनेर छ महिना नाघेपछि थप एक डोज थप्ने काम गरेको मात्रै हो । सजिलो भाषामा बुझ्दा निभ्न लागेको दियोमा तेल थपेजस्तै बुस्टर डोज लगाउने कामलाई पनि शरीरमा त्यसै गरी थप मात्रा लगाइएको हो भनेर बुझ्दा हुन्छ ।  

काठमाण्डौ उपत्यका बाहिर धेरै ठाउँमा अझै पनि बुस्टर डोज सुरु भएको छैन भनेर जनगुनासो आएको छ । ती ठाउँमा खोप कहिले पुग्छ ?

अहिले हामीले नेपालभरि नै ९ लाख ५० हजार डोज खोप, जो फ्रन्ट लाइनमा काम गरिरहेका छन् उनीहरुलाई दिन लागेका छौँ । कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत अग्रपङ्क्तिमा काम गर्नुहुने सबैलाई खोप लगाउने भनेर काठमाण्डौबाट पनि खोप सबै ठाउँमा पठाइसकेका छौँ । काठमाण्डौ बाहिर पालिका, प्रदेशले कहिले सुरु गर्छ भन्ने मात्रै हो । हामीले खोप अभियान माघ २ गतेदेखि सुरु गरेका छौँ । यो अभियान माघ १३ गतेसम्म चल्छ । 

प्रदेश र पालिकाले समय मिलाएर निर्णय गर्ने हो ?

हो । जिल्लाले आफ्नो हिसाबले निर्णय गरेको छ । हामीले सबै तल्ला निकायमा २ गतेपछि नै खोप अभियान सुरु गर्नु भनेका छौँ । कतिपय ठाउँमा सुरु हुन सकेको छैन । कतिपय ठाउँमा सुरु भइसकेको छ भने कतिपय ठाउँमा सुरु हुने तयारीमा छ ।

बुस्टर डोज लगाउन  जाँदा के-के कागजपत्र चाहिन्छ ?

पहिले जुन खोप लगाउनु भएको छ त्यही खोप लगाउने हो । पहिले लगाएको खोपकार्ड लैजानु पर्छ । फ्रन्टलाइनमा काम गर्ने व्यक्ति हो भने सो कुरा खुल्ने कागजपत्र, परिचयपत्र मागेको खण्डमा देखाउनु पर्छ । 

माघ १३ गतेसम्म अग्रपङ्क्तिमा काम गर्नेले लगाउनु भयो भने १४ गतेदेखि हामी ६० वर्षभन्दा माथिकालाई बुस्टर डोज खोप लगाउँछौँ। अहिले तत्कालको लागि जोखिम समूह जो जोखिममा खटिएका छन्, स्वास्थ्यकर्मी, डाक्टर, सुरक्षाकर्मी, सरसफाइकर्मीहरुलाई अहिले लगाउन थालिएको हो । अहिले ज्येष्ठ नागरिक गएर भिड नगरौँ । उनीहरुको पालो बिस्तारै आउँछ । अरु नागरिकको पनि बिस्तारै पालो आउँछ ।

अग्रपङ्क्तिमा खटिनेलाई पहिले पालो दिऔँ । खोप स्थलमा गएर भिडभाड नगरौँ । अग्रपङ्क्तिमा काम गर्नेहरु २५ प्रतिशत छन् । अग्रपङ्क्तिमा नै काम गर्नेहरु बिरामी भए भने हामीलाई खोप कसले दिन्छ ? कसले हाम्रो काम गरिदिन्छ ? पहिलो लाइनमा काम गर्नेहरु नै बिरामी भए भने त झन अरु नागरिकलाई कसरी सेवा दिने ?  उनीहरुलाई खोप दिन पाएपछि उनीहरुले आवश्यकताअनुसार कार्यक्षेत्रमा काम गर्न पाउँछन् र आम नागरिकलाई सहज तलिकारले खोप दिन पाइन्थ्यो भन्ने हाम्रो कुरा हो। 

बुस्टरसँगै नियमित खोप अभियान पनि चलिरहेको छ । त्यस्ता खोप केन्द्रहरुमा भिड हुँदा त्यहीँबाट सङ्क्रमण सर्ने जोखिम छ । खोप केन्द्रलाई किन व्यवस्थित गर्न नसकेको ?

हामीसँग भएको खोप लगाउने जनशक्तिले नै खोप केन्द्र व्यवस्थापन गर्ने हो । बुस्टर र नियमित खोप अभियानमा खोप लगाउने, खोप केन्द्र व्यवस्थापन गर्ने जनशक्ति एउटै छ । उनीहरु निरन्तर सेवामा रहँदा थकित भइसकेका छन्।

नियमित खोप, बुस्टर खोप अभियान, अग्रपङ्क्तिमा काम गर्नेहरुलाई दिनुपर्ने खोप, खोपकेन्द्र व्यवस्थापन सबै काम तिनै खोप केन्द्रमा खटिएका सीमित जनशक्तिले गरिरहेका छन् । अहिले हामीले मेडिकल कलेज र प्राइभेट संस्थाहरुलाई दिएर सबैतिर खोप लगाउने र पुर्याउने कोसिस गरिरहेका छौँ। तर मैले खोप पाइहाल्छु भनेर अरु पनि लाइन बस्ने गर्दा खोप केन्द्रमा भिडभाड भएको छ, समस्या भएको छ ।

खोप जसले प्राथमिकतामा पाउनु पर्ने हो उसले नपाएर भिड भएको छ । जस्तो टेकुमा हेर्नुभयो भने त्यहाँ युवाहरु धेरै नै लाइनमा देखिन्छ । लाइनमा बसेकाहरु कतिपय न त स्वास्थ्यकर्मी हो न त सुरक्षाकर्मी नै हो । तर, उहाँहरुले ६ महिना अगाडि खोप लगाएका थियाैँ मैले बुस्टर डोज खोप पाउनु पर्छ भनेर लाइनमा बस्नु भएको छ ।

राज्यले बोलाएको नै छैन त्यस्ता व्यक्ति लाइनमा बसेर भिड बढेको छ । तपाईंँहरुको पनि पालो आउँछ । पालै–पालो खोप दिँदै जाने हो । राज्यले बिस्तारै पालै–पालो खोप दिँदै जान्छ । पालो आउँछ पालो कुरेर खोप लगाउन जाने गरियो भने पक्कै पनि भिड कम हुन्छ । 

सरकारले सार्वजनिक ठाउँमा जान खोपकार्ड अनिवार्य गरेकाले पनि खोप लगाउनेको भिड बढेको हो नि ? 

उहाँहरुले पहिले नै लाइदिनुभएको भए सहज हुन्थ्यो । गएको पुस १४ देखि हामीले निरन्तर खोप दिइरहेका छौँ । विगत ३ हप्तादेखि राज्यका निकाय खोप केन्द्रमा खोप लगाउन बसेको थियो । त्यस समयमा खोप केन्द्रमा मान्छे नै आउँदैन थिए । सरकारले नियम परिवर्तन गर्दैछ भन्ने कुरा थाहा भएपछि यसरी भिडभाड बढेको हो ।  

भिड बढे पनि हामीलाई खोप अभाव हुन्छ कि भन्ने डर छैन तर व्यवस्थित भएर लगाउन सबैले सहयोग गरिदिनु पर्यो । स्थानीय सङ्घसंस्था, रेडक्रस, स्काउट, गृह मन्त्रालय सबैले सहयोग गरिदिनु पर्यो । स्थानीय निकाय र जनप्रतिनिधिले पनि खोप लगाउने काम व्यवथित गर्न सहयोग गरिदिनु पर्यो ।

सबै कुराको व्यवस्थापन मन्त्रालयले नै गर्नुपर्छ भन्ने त छैन नि । स्वास्थ्य मन्त्रालयले मात्रै खोप केन्द्र व्यवस्थापन गर्नका लागि जनशक्ति नहुन सक्छ । त्यसैले खोप केन्द्रमा पुग्ने सबैले यस कुरालाई व्यवस्थित गर्ने, आफैँ सतर्क हुने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता कुरामा सहयोग गरिदिनु पर्छ । 

खोप मात्रै कोरोनाबाट बच्ने उपाय हो त ?

खोप एउटा सहयोगी हो । बच्ने उपाय त मास्क लगाउने, स्यानिटाइजर लगाउने र दुई मिटरको भौतिक दूरी कायम गर्ने नै हो । 

खोप लगाएकालाई पनि किन सङ्क्रमण भइरहेको छ ?

खोप लगाएकालाई सङ्क्रमण नहुने भन्ने कुरा छैन । सङ्क्रमण हुन सक्छ । खोपले सङ्क्रमणको जुन गहिराइ छ, त्यसलाई कम गर्ने हो । खोप लगाएको व्यक्तिलाई कोरोना सङ्क्रमण भयो भने अस्पताल जाने क्रम कम हुन्छ भन्ने हो । अहिले हामीले देखेका छौँ कि जुन व्यक्ति बिरामी भएर अस्पताल पुगेका छन् प्रायः खोप नलगाएका व्यक्ति नै छन् । तसर्थ खोप लगाउँदा कडा सङ्क्रमणबाट बच्न सकिन्छ ।

खोप लगाएको भन्दैमा रोग नै नलाग्ने भन्ने कुरा होइन । खोप लगाए पनि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने गर्नुपर्छ । खोप लगाए पनि सङ्क्रमण हुन सक्छ । सङ्क्रमण भयो भने खोप लगाएकालाई कडा हुँदैन भन्ने कुरा हो । 

अहिले सङ्क्रमण भएका मानिसले खोप लगाउने कि नलगाउने ? सङ्क्रमण निको भएको कति समय पछि खोप लगाउने ?

सङ्क्रमण निको भएको ४ हप्ता पछि मात्रै खोप लगाउने हो । कतिपय मानिसले त महिना पनि भनेका छन् । अहिले हामीले निर्णय नै भने गरिसकेका छैनौँ, तर ४ हप्तापछि शरीरमा एन्टीबडी विकास भइसकेको हुन्छ । त्यसकारण ४ हप्तापछि खोप लगाउँदा हुन्छ । सङ्क्रमण निको भएपछि मात्रै खोप लगाउनु राम्रो हुन्छ । 

२४ लाख खोप कम हराएको भन्ने कुरो चाहिँ के हो ?

यो कुरा गलत हो । खोप हराएको होइन । खोप कहाँ हराउँछ ? खोप घरमा लगेर लुकाउने कुरा हो र ? हिसाब मिलेन भन्ने कुरा सही हो । अझै पनि डाटा इन्ट्री भइसकेको छैन । कतिपय पालिकामा काम गर्ने साथीहरुले हरेक दिन ४ बजेसम्म काम गर्नुहुन्छ । जहाँ काम गर्नुहुन्छ सबै ठाउँमा इन्टरनेटको सुविधा पनि छैन । उहाँहरुले रिर्पोटिङ गर्न ढिला भइरहेको छैन । एउटा पाटो यो हो ।

अर्को पक्ष भनेको कतिपय साथीहरुले खोप लगाउनुभयो तर खोप कार्ड लिनुभएको छैन । कतिले सोर्सफोर्सले खोप लगाएको तर कार्ड नलिएको अवस्था छ, त्यसरी खोप लगाउनेहरुले कृपया खोपकार्ड लिनुहोस् । यसले उहाँहरुलाई भोलिका दिनमा सजिलो पनि हुन्छ । हाम्रो रेकर्डमा पनि खोपको डाटा निकाल्न पनि सजिलो हुन्छ । खोप कहाँ कति गयो भन्ने प्रष्ट डाटा हामीसँग छ । कहाँ कुन पालिकाले खोप कति लगे कति खपत गरे भन्ने रेकर्ड हामीसँग छ ।  

खोप लगाउँदा केही खेर पनि जान्छ । हामीले पालिकामा जाँदा ५ प्रतिशत वेस्टेज भनेका छौँ । खोलिसकेको खोप फेरि भोलिपल्ट प्रयोग गर्न मिल्दैन । त्यसकारण डाटा नआएको र वेस्टेजका कारण खोपको रेकर्ड दुरुस्त नमिलेको हो । सबै रेकर्ड भइसकेको छैन । रिर्पोटिङको क्रम अझै जारी छ । खोपको हिसाब मिल्छ जस्तो मलाई लागेको छ । 

(डा. पाेखरेलसँगकाे कुराकानी काेराेना क्याप्सुलमा सुन्नुहाेस्।)

अन्तिम अपडेट: चैत १९, २०७८

1 Comments

  • अर्जुन खत्री

    Jan. 23, 2022, 10:38 a.m.

    यौटा कुरा न बुझेको जब मान्छे लाई कोरोना पोजेटिभ हुन्छ नेपाल को मेडिकल बिभाग्ले 4 हप्ता मा डोज लिन मिल्छ भन्छ तर जब कोरोना हुन्छ नि त्यो मानिस पुण रुपमा निको हुनको लागि 6 महिना लग्छ भन्छ बिशो स्वास्थ्य सङगठन ले के नेपाल को सरकार ले नबुझेको हो या लापरबाही गरेको हो यस्को बरेमा जानाकारी गराइदिन अनुरोध गर्दछु l

  •  0 Reply

तपाईको प्रतिक्रिया