किसानसँगै खेतबारीमै रमाउने कृषि प्राविधिक चन्द्रकान्त

 माघ २१, २०७८ शुक्रबार १४:६:२८ | हरि हुमागाईं
unn.prixa.net

सिरहा जिल्ला सखुवानकट्टी गाउँपालिका वडा नम्बर–५ महेशबारी घर भएका ४१ वर्षीय चन्द्रकान्त चौधरी अहिले मकवानपुरगढी गाउँपालिकामा कृषि अधिकृतको रुपमा काम गर्दै आउनु भएको छ ।

घर तराईका जिल्लामा भए पनि उहाँले मकवानपुरमा धेरै वर्ष कृषि प्राविधिकका रुपमा काम गर्नुभयो । सधैँ किसानसँग मात्र रमाउन चाहने चौधरी अहिले कृषि शाखाको प्रमुखको जिम्मेवारी समेत समाल्नु परेको छ । उहाँको हरेक दिन किसानको हितका निम्ति काम बित्ने गरेको छ ।

२०६० सालदेखि कृषि सेवामा प्रवेश गर्नु भएका चौधरीको  सुरुको नियुक्ति बाली विकास निर्देशनालय हरिहर भवन अन्तर्गतको कपास विकास शाखामा भएको हो । त्यसपछि क्षेत्रीय बीउ बिजन प्रयोगशाला हेटौँडा मकवानपुर, सुन्दरपुर कञ्चनपुर, जिल्ला कृषि विकास कार्यालय मकवानपुर, रसुवा हुँदै अहिले मकवानपुरगढी गाउँपालिका, मकवानपुरमा कार्यरत हुनुहुन्छ । उहाँको जागिरे जीवनको धेरैवर्ष भने मकवानपुरमै बित्यो।

 

उहाँले कार्यालयहरुको प्रकृति अनुसार तथ्याङ्क कम्पाइलेशन, बिउको गुणस्तर नियमन नियन्त्रण, कृषि प्रसार सेवा प्रवाह गरी तीन थरीका कार्यालयहरुमा काम गर्ने अवसर प्राप्त भइ तीनै थरीको अनुभव बटुल्ने अवसर प्राप्त भयो । यी सबै कार्यालयहरुमा असिस्टेन्टको रुपमा काम गरे र कार्यालयले दिएको जिम्मेवारी आफूले जानेबुझेसम्म समयमै कार्य सम्पन्न गर्नमा सहयोग गरको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ–‘मैले सरकारी सेवामा कहिल्यै काम नपाएर कहिल्यै बस्नु परेन जहिले पनि कामको चाप उत्तिकै देख्छु र तोकेको जिम्मेवारी भन्दा पनि केही अतिरिक्त क्रियाकलापहरु गर्दै जानुपर्छ भन्ने अनुभव प्राप्त गरेको छु ।’ 

उहाँ एउटा कृषि प्राविधिक भएको नाताले कृषकहरुले भोगिरहेको समस्या कृषकको खेतबारीमै पुगेर समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यताका साथ प्रायःजसो कृषकहरुको खेतबारीमा पुगिरहनुहुन्छ ।

खेतबारीमै प्राविधिक सेवा उपलब्ध भएपछि व्यावसायिक खेतीतर्फ आकर्षिक भएको उहाँले बताउनुभयाे । कृषकहरुको खेतबारीमा पुग्दा खास समस्याको बारेमा प्रत्यक्ष अवलोकन गरी समाधानको उपायहरुको बारेमा कृषकहरुलाई जानकारी गराइ समाधान गर्ने प्रयास गरिरहेको पाइएको छ । कृषकहरु धेरै अनुभवी हुने भएकाले उनीहरुबाट पनि धेरै कुराहरु सिक्ने अवसर प्राप्त भएको चौधरी बताउनुहुन्छ ।  

प्राविधिकले दिएका सल्लाह सुझाव अनुसार सबै कृषकहरुलाई सुरुमै नयाँ प्रविधि ग्रहण गर्न गाह्रो मानिरहेको हुन्छ । तथापि अगुवा कृषकहरु एकैपटकमा ग्रहण गरी प्रविधिमैत्री विधि अपनाइ आफ्नो कृषि व्यवसाय विस्तार गरिरहेका छन् र अगुवा कृषकहरुको सफल भएपछि साना कृषकहरु पनि पछिपछि प्रविधिमैती खेतीतर्फ आकर्षित भइरहेको देखिन्छन् ।

वास्तवमा विभिन्न बालीको खेती गर्दा कृषकहरुले विभिन्न रोग, किरा, खाद्यतत्त्वको कमी, प्राकृतिक प्रकोप लगायतका समस्याहरु भोगिरहेका हुन्छन् । याे समस्या समाधानको लागि कृषकहरुमाझ जनचेतना जगाउने र आइपरेका समस्याहरुको स्थलगत अनुगमन गरी समस्याको पहिचान गरी समाधान गर्ने प्रयास गर्ने गरिएको उहाँले अनुभव सुनाउनुभयो ।  

किसानहरुलाई नयाँ प्रविधि सम्बन्धी जानकारी एवम् विभिन्न रोगकिराबाट हुने नोक्सानीको विषयमा कृषि प्रसारका विभिन्न माध्यमहरुबाट जानकारी गराउने कार्य गरिरहेको उहाँ बताउनुहुन्छ । वडा वडामा रहेका कृषि प्राविधिकहरुमार्फत कृषक समूह, सहकारीमा बैठक, तालिम, साथै रेडियो, पत्रपत्रिका एवम् सामाजिक सञ्जालमार्फत समेत जानकारी दिने कार्य गरिरहेको उहाँले बताउनुभयो ।  

नेपालमा साना किसानको बाहुल्यता रहेको र जग्गाको खण्डीकरणले गर्दा कृषिमा व्यावसायिकता हुन नसकेको यथार्थ उहाँले सुनाउनुभयो । विगत केही वर्षदेखि कृषि क्षेत्र व्यावसायिक उन्मुख रहेको देखिन्छ र यसलाई थप व्यावसायिक बनाउदै लैजानु पर्ने बताउनुहुन्छ ।  

कृषि क्षेत्रमा जुन रुपमा व्यावसायीकरण हुनुपर्थ्याे त्यो हुन नसकेको बताउँदै उहाँ भन्नुहुन्छ–‘अहिले केही ठाउँहरुमा विशेष गरी तरकारी उत्पादनको क्षेत्रमा व्यावसायीकरण हुँदै गइरहेको देखिन्छ र यो हावापानी सुहाउँदो सबै बालीहरुको व्यावसायीकरण औद्योगिकीकरण गर्दै लैजानुपर्दछ । खेतीयोग्य जमिनको खण्डीकरण, जग्गाको वर्गीकरण हुन नसक्नु, पुँजीको अभाव, खेतीयोग्य जमिनमा सिँचाइ उपलब्ध नहुनु, समयमा मल, बिउ लगायतका उत्पादन सामग्री उपलब्ध हुन नसक्नु, उत्पादनको उचित भण्डारण र बजार सुनिश्चितता नहुनु नै व्यावसायीकरणको मुख्य बाधक हुन्।'

नेपालमा कृषिजन्य उत्पादनमा खाद्यान्नको वर्चश्व प्रमुख रहेको भए पनि आजसम्म नेपालको कृषि क्षेत्रले खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न नसकेको यथार्थ छ । यसको मतलब कृषि क्षेत्रमा काम नभएको पनि होइन।

पहिलाको तुलनामा खाद्यान्नबालीको उत्पादन र उत्पादकत्त्व बढेको देखिन्छ र उत्पादकत्त्व अझै पनि बढाउन सक्ने प्रशस्त आधारहरु पनि छन् । तथापि खेतीयोग्य जग्गा घडेरीमा परिणत हुनु, जनसङ्ख्या वृद्धि, दिनानुदिन जग्गा बाँझो हुँदै जानु र अन्य विकसित देशको तुलनामा उत्पादकत्व कम हुनु नै मुख्य कारण हो । 

उहाँले गरेको सेवा अवधिमा मकवानपुर जिल्लामा रहेर सेवा गरेको आधाभन्दा धेरै भइसक्यो । यस जिल्लाको हावापानी अरु जिल्लाको भन्दा धेरै नै विविधता रहेको बताउँदै उहाँ भन्नुहुन्छ–‘तराईदेखि हिमालसम्मको हावापानी भएको भौगोलिक बनावट रहेको छ र हावापानी अनुसार धेरै किसिमका बालीहरु खाद्यान्न, दलहन, तेलहन, फलफूल र तरकारी बालीहरु मौसमी तथा बेमौसमी रुपमा उत्पादन भइरहेका छन् ।’

मकवानपुरमा पनि ठाउँ विशेष केही ठाउँहरु नेपालमै नाम चलेका उत्पादनहरु पनि रहेको छ । जस्तै हाँडीखोलाको तरकारी,  बेमौसमी तरकारीको लागि थाहा नगरपालिका, भीमफेदीको गाँजर, सिस्नेरीको सुन्तला, मकवानपुरगढीको गोलभेँडा आदि । 

मकवानपुर यस जिल्लाका किसानहरु धेरै नै अनुभवी हुनुहुन्छ । लामो समयदेखि तरकारी र अन्न खेती गरिरहेका किसानलाई प्राविधिकले धेरै कुरा सिकाइरहनु पर्दैन । पहिलादेखि नै निरन्तर रुपमा खेती गर्दै आइरहेका किसान धेरै छन् । तर पनि समय परिवर्तनशील हुन्छ । जलवायुमा केही परिवर्तन भएको छ, नयाँ नयाँ प्रविधिहरुको विकास र विस्तार निरन्तर भइरहेको हुन्छ ।

पहिलाको तुलनामा माटोको उर्वराशक्तिमा ह्रास हुँदै गइरहेको देखिन्छ । त्यसैले अबका दिनहरुमा कृषकहरुले व्यावसायिक योजना बनाइ बालीपात्रो अनुसार माटोको परीक्षण गरी गराइ माटोको सुधार गरेर हावापानी सुहाउँदो बालीको प्रविधिमैत्री खेती गर्दा किसानहरु बढी लाभान्वित हुने उहाँको सुझाव छ । 

किसानको खेतबारीमा पुग्दा किसानले गरिरहेको क्रियालापहरु र भोगिरहेको समस्याहरु प्रत्यक्ष रुपमा अवलोकन गर्ने र अन्तरक्रिया गर्ने उहाँको दैनिकी जस्तै हो ।

किसानले भोगिरहेको समस्याहरुको बारेमा छलफल गरी तत्काल समाधानको उपाय भन्न पाउँदा र किसान खुशी भएको देख्न पाउँदा मन आनन्दित हुने उहाँ बताउनुहुन्छ । अब किसानहरुले परम्परागत निर्वाहमुखी खेती पद्धतिलाई क्रमशः व्यावसायिक बनाउँदै लैजानु, व्यावसायिक खेती गर्दा अरुको लहैलहैमा लागेर जथाभाबी लगानी नगर्नु, व्यवसाय सुरुवात गर्नुभन्दा पहिला आधारभूत प्राविधिक ज्ञान हासिल गरेर, बुझेर, सिकेर, मात्र व्यवसाय सुरुवात गनु, स्थानीय श्रोत र साधनको अधिकतम प्रयोग गरी प्रविधिमैती खेती गर्नु र कृषिलाई एउटा व्यवसायको रुपमा स्थापित गर्नुपर्ने उहाँ देख्नुहुन्छ । 

अहिले वास्तविक किसानभन्दा पनि पहुँचवाला किसानले अनुदान पाएको समाचारहरु विभिन्न सञ्चारमाध्यममा आइरहेको देखिन्छ । सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक सोच, दृढ इच्छाशक्ति र लगनशील भएर काम गर्यौँ भने यस्तो समस्या आउँदैन उहाँ बताउनुहुन्छ ।

मकवानपुरगढी गाउँपालिकाले वास्तविक किसानलाई ध्यानमा राखेर अनुदानको कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । स्थानीय तह सञ्चालन भएको करिब पाँच वर्ष बित्न लाग्यो । यस गाउँपालिकाले अहिलेसम्म सञ्चालन गरेको अनुदानको कार्यक्रमहरुमा सबै वास्तविक किसानलाई मात्र समेटेको उहाँको अनुभव छ । 

कृषिमा भइरहेको अनुदान प्रणालीलाई सुधार गर्न पहिचान सहितको किसान वर्गीकरण र वर्गीकरणको आधारमा अनुदान गर्नुपर्ने, अहिले उत्पादन सामग्रीमा अनुदान दिइरहेकोमा क्रमशः उत्पादनमा आधारित अनुदान प्रवाहको किसानका अनेक समस्याहरु हुन्छन्।

किसानहरुको खेतबारीमा पुग्ने र समाधानको उपाय बताउने आफ्नो कर्तव्य रहेको बताउँदै उहाँ भन्नुहुन्छ–‘मकवानपुरगढी गाउँपालिकामा किसानहरुको समस्या समाधानका लागि हरेक वडामा कृषि प्राविधिकको व्यवस्था गरेको छ र ती प्राविधिकहरु मार्फत किसानहरुको समस्या बझ्ने र समाधान गर्ने कार्य गरिरहेका छौँ । कतिपय समस्याहरु पालिकास्तरबाटै समााधन भइरहेको छ भने पालिकास्तरबाट समाधान हुन नसकेको विषयहरुमा प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गरेर समाधान गरिरहेको छौँ ।’

मकवानपुरगढी गाउँपालिकामा विशेष गरेर प्लास्टिक टनेल भित्र गोलभेँडा खेती व्यापक रुपमा विस्तार भएकाे छ । साथै लहरे तरकारीहरु काँक्रो, करेला, फर्सी काउली, भन्टा, रायो साग लगायतका तरकारीकाे व्यावसायिक रुपमा खेती भइरहेकाे छ । त्यसैगरि खाद्यान्नमा मकै, धान, काेदो तेलहन बालीमा तोरी, दलहनबालीमा सिमी र फलफूलमा केरा, लिची, कागती र ड्रागन फ्रुट लगायतका बाली लगाइएकाे छ ।  

मकवानपुरगढी गाउँपालिकाले विदेशबाट सीप सिकेर फर्केका युवाहरुलाई स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धनका लागि  पाँच लाख रुपैयाँसम्मको अनुदानको व्यवस्था गरेको छ । त्यसैगरी कृषि तथा पशुक्षेत्रमा व्यावसायिक गर्नेलाई उत्पादन सामग्री, यन्त्र उपकरण, प्रविधि हस्तान्तरण र कृषि ऋणमा ब्याज अनुदानको समेत व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया