पेट्रोलको भाउ वृद्धि : नोक्सान एक नाफा अनेक !

 माघ २३, २०७८ आइतबार ८:३८:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

हैट अब त बाइक पनि चलाउन नसकिने भयो, बेचेर साइकल किन्नुपर्ला जस्तो छ ।

किन र के भयो ?

सुनिनस् पेट्रोलको भाउ बढेर आकाश छोइसक्यो रे । 

आकाश छोएको त उहिल्यै, अहिले त आकाश नै नाघिसक्यो ।

मलाइ त बाल छैन हौ । बढे पनि घटे पनि पाँच सय रुपैयाँको पेट्रोल हाल्ने हो क्यारे ।

खुबै नापिस् । उतिबेला पाँचसयको हाल्दा पाँच दिनसम्म पुग्थ्यो, अहिले पाँच मिनेटमै सकिन्छ भन्ने हिसाब चाहिँ गर्दैनस् ।

त्यो त हो है । तर सरकारले चाहेको भए लिटरको दुई सय रुपैयाँ नै पुर्‍याउन सक्थ्यो नि । तर डेढसय पनि पुर्‍याएन । खुशीको कुरा हो यो । सरकारले नागरिकको भावना बुझेरै डेढसय रुपैयाँ नपुर्‍याएको त हो नि ।

होला होला । अनि अहिले पेट्रोलको भाउ इतिहासकै धेरै बनाउनुको भित्री कारण पनि छन् क्या ।

के हो त त्यस्तो कारण हामी पनि सुनौं न ।

पहिलो कुरा त कोरोनाको यस्तो बिगबिगी छ । जति भने पनि मान्छे बाहिर निस्कन छोडेका छैनन् । धेरैले त मास्क पनि लगाउँदैनन् । लगाइहाले पनि नाकमुख छोपिने गरी लगाउँदैनन् । सडकमा पनि उस्तै भिड, गाडीमा पनि उस्तै भिड । भिडकै कारण कोरोना झन् बढ्ने भयो । त्यसैले कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले पेट्रोलको भाउ बढाएको हो ।

कुतर्क पनि कति जानेको हँ यसले । पेट्रोलको भाउ बढेर कोरोना रोकथाम कसरी हुन्छ ?

हरे सिल्ली प्रष्टै छ त । पेट्रोलको भाउ बढेपछि जसले पायो त्यसले गाडीमा तेल हाल्न सक्दैन । तेल नहालेपछि गाडी गुड्दैन । गाडी नगुडेपछि सडकमा भीड कम हुन्छ । 

अरे हो त, यो कुरा त मैले ख्याल नै गरेको थिइनँ । 

त्यति मात्र हो र, वातावरण सफा र स्वच्छ बनाउने पनि सरकारको प्रयास हो । 

गाडी नगुडेपछि धुवाँ धुलो उड्दैन । वातावरण त यसै पनि सफा भैहाल्छ नि ।

हो नि अहिले भने यसले मज्जाले कुरो बुझ्यो । अनि अर्को कुरा चाहिँ सबै नागरिकलाई स्वस्थ, तन्दुरुस्त, फुर्तिलो र निरोगी बनाउन पनि सरकारले पेट्रोलको भाउ बढाएको हो । कसरी भन्लास् ? ल सुन यसरी । पेट्रोल महंगो भएपछि दिनको दिन गाडीमा पेट्रोल हाल्न सकिंदैन । पेट्रोल हाल्न नसकेपछि गाडी गुड्दैन । गाडी नगुडेपछि हिँड्नुपर्छ । डाक्टरहरुले हिँड्नु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ भनेर भन्दै आएका छन् । बिहान बिहान एकछिन हिँडेर फेरि बाइक र गाडी चढ्ने बानी भएकाहरु पनि अब हिँड्न थाल्छन् । आफ्नो खुट्टाको पैतालासमेत नदेखिनेगरी घ्याम्पे भुँडी भएकाहरुको पेट सुक्न थाल्छ । सारंगीजस्तो पेट भएकाहरुको फुक्न थाल्छ । सबै स्वस्थ, निरोगी, फूर्तिला, छरिता देखिन्छन् । सबै नागरिक स्वस्थ भएपछि पुरै देश नै स्वस्थ हुन्छ । 

ओहो सरकारले त हाम्रै हितको लागि पेट्रोलको भाउ बढाएको रहेछ त । हामी कुरै नबुझी सरकारको विरोध गर्छौं । 

त्यति मात्र कहाँ हो र पेट्रोलियम पदार्थको आयात शून्यमा पुर्‍याउने लक्ष्यअनुसार सरकारले काम गरिरहेको छ । पेट्रोलको भाउ यसैगरी बढाउँदै लगेपछि पेट्रोलियम पदार्थको माग नै घट्छ । माग घटेपछि आयात घट्छ । अहिलेदेखि नै मान्छेहरु पेट्रोलियम पदार्थको विकल्पतिर सोच्न थाल्छन् । विद्युतीय गाडी, सजिवनको तेल, घामको किरणतिर मान्छेको ध्यान जान्छ । अनि पेट्रोलको कुरा मान्छेले बिर्सन्छन् । पेट्रोलियम पदार्थ आयात गर्ने झण्झट र बाध्यताको अन्त्य हुन्छ । पेट्रोलियम पदार्थको आयात शून्य पुगेपछि अर्बौं रकम विदेशिनबाट जोगिन्छ । देश धनी हुन्छ । देश धनी हुनु भनेको सबै नागरिक धनी हुनु हो । पेट्रोलको भाउ बढाएर नागरिक धनी बनाउने सरकारको योजनामा बिरोध गर्ने कि समर्थन ?

ओहो यो हो नि त खाँटी कुरा । मान्छेले कुरा बुझेका छैनन् । खाली सरकारको मात्र विरोध गर्छन् । सरकारले हाम्रै लागि पेट्रोलको भाउ बढाएको हो भन्ने कुरा अब सबैले बुझ्न जरुरी छ ।

हो हो अब सरकारको समर्थनमा एउटा काम गरौं । 

के काम गर्ने त ? विरोधमा टायर बाल्छन् क्यारे, समर्थनमा चाहिँ बत्ति बालौं ।

ठीक हो, बत्ति बालेर सरकारको समर्थन गर्नुपर्छ । खै भित्रबाट लालटिन लेरा त बालौं ।

लालटिन त्यसै बल्दैन, तेल हाल्नुपर्छ । 

अनि हाल न तेल ।

अनि महंगो तेल कसरी हाल्ने नि ?

अन्तिम अपडेट: बैशाख ७, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया