आलुकाे मूल्य घटेपछि सर्लाहीका किसान चिन्तित, ‘भारतीय आलुले बजार खाइदियाे’

 फागुन १, २०७८ आइतबार १६:१७:५५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – आलुको मूल्य घटेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । आलु खनेर बिक्री गर्ने समयमा धमाधम आलुको मूल्य घटेपछि आफूहरू समस्यामा परेको बरहथवा नगरपालिका–२ हजरियाका किसान बद्री कटुवालले गुनासो गर्नुभयो । 

‘माघको पहिलो हप्ता खेतबाटै आलु प्रतिकेजी ३० रुपैयाँका दरले बिक्री भएको थियो, अहिले  मूल्य घटेर १८ रुपैयाँमा बिक्री भइरहेको छ । एक हप्तामा आलुको मूल्य प्रतिकेजी १२ रुपैयाँले घट्यो, यो मूल्यमा आलु बिक्री गर्दा लागत मूल्य पनि उठ्दैन् । बिउ, मलखादको मूल्य बढ्दो छ । किसानले उत्पादन गरेको वस्तुको मूल्य भने घट्दो छ । नौ सय रुपैयाँमा पाउने युरिया मल अहिले १३ सय रुपैयाँमा किन्नुपर्छ, त्यही पनि  नेपाली मल नपाएर भारतीय मल हाल्नुपर्छ । त्यस कारण यस वर्ष आलुको उत्पादन समेत घटेको छ, खेतीको लागत मूल्य उठाउनै मुस्किल पर्ने भयो’, उहाँले भन्नुभयो । 

भारतीय आलु नेपाली बजारमा सहजै भित्रिन थालेपछि आलुको मूल्य एक्कासी घटेको किसानहरूले गुनासो गरेका छन् । खुला सीमा हुँदै नेपाली बजारमा भित्रिएको भारतीय आलु कम गुणस्तरको भए पनि नेपाली आलुभन्दा सस्तो मूल्यमा बजारमा पाउने गरेकाले नेपाली आलुभन्दा भारतीय आलु नै उपभोक्ताको बढी रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन् । 

हजरियाका किसान श्याम मैनाली भन्नुहुन्छ, ‘भारतीय आलु भित्रिएका कारण यो वर्ष पनि आलुको मूल्य एक्कासी घट्यो, यही अवस्था भए लागत मूल्य उठाउन मुस्किल पर्छ, नेपाली आलु भनेको बेलामा बिक्री पनि हुँदैन, राख्नलाई नजिकै शीत भण्डार पनि छैन, यस वर्ष विगतको वर्षभन्दा उत्पादन पनि निकै कम छ, मूल्य पनि कम नै छ । पहिले आलु खेतीबाट राम्रै फाइदा हुन्थ्यो, अहिले भारतीय आलुले बजार खाइदियो ।’ 

आलुको बजार मूल्य राम्रो हुँदा सबै खर्च कटाएर  प्रतिकठ्ठा १० हजार रुपैयाँसम्म फाइदा हुने गरेको किसानहरूको भनाइ छ। आलु खेती गर्ने धेरै किसानले आलुसँगै मकै खेती पनि गर्ने गरेका छन् । यसरी एकै पटक दुई बाली एउटै जग्गामा लगाउँदा एक बालीबाट लागत मूल्य उठ्ने र अर्को बालीबाट फाइदा हुने स्थानीयवासी मदन खड्काको भनाइ छ । आफूले उत्पादन गरेको फसलको बजार मूल्य राम्रो नपाएपछि  धेरै किसानको खेतीप्रतिको आकर्षण घट्दै गएको खड्काले बताउनुभयो । 

आलु खेती सर्लाहीको बरहथवा नगरपालिकाको  हजरिया, मुर्तिया, सुन्दरपुर, वाग्मती नगरपालिकाको राजघाट, शङ्करपुर र  हरिपुर नगरपालिकाको हजारबिघा क्षेत्रमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । कमलो दोरस् खालको माटो भएको जग्गामा आलु  प्रतिकट्ठा ८–९ क्विन्टलसम्म उत्पादन हुने गरेको किसानहरू बताउँछन् । तर यस वर्ष आलु खेती गर्ने  समयमा सहजै रासायनिक मल नपाएकाले विगतको वर्षको तुलनामा उत्पादन घटेको मुर्तियाका किसान विष्णु खड्काले बताउनुभयो । आलु रोप्ने बेलामा सहजै मल नपाएर र एक बोरा मल किन्न हेटौँडादेखि भारतको सोनवर्षासम्म पुग्नु परेको खड्काले गुनासो गर्नुभयो । 

यस वर्ष जिल्लाभर झन्डै १५ सय हेक्टर क्षेत्रफल जग्गामा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ। आलुको बजार मूल्य राम्रो नभएपछि किसानले आलु खेती छोडेर अन्य तरकारी खेती गर्न थालेका छन् । यस क्षेत्रमा उत्पादन भएका आलु स्थानीय व्यापारीले खरिद गरेर काठमाण्डौ ,पोखरा लगायतका व्यापारिक केन्द्रमा पठाउने गरेका छन् । 

बजारमा अहिले रातो आलु प्रतिकेजी १८ रुपैयाँको दरले बिक्री भइरहेको किसानहरू बताउँछन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया