नगरपालिकाको सुरुवात चउरमा डायरी र कलम लिएर भएको थियो

 फागुन १३, २०७८ शुक्रबार १३:५४:३० | शोभा घिमिरे
unn.prixa.net

पहिले त जनप्रतिनिधिका रुपमा नगरवासीले मलाई जुन जिम्मेवारी दिनुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु । सुरुमा हामीलाई यो सङ्घीय संरचना अलि जटिल भएको थियो । बुझ्न अस्पष्ट नै भएको थियो । गाउँ गाउँमा सिंहदरबार घरघरमा अधिकार भन्दै गर्दा यो अधिकार कसरी सुनिश्चित गर्न सकिएला, कसरी घरघरमा पुर्याउन सकिएला भन्ने कुराले चिन्तित थियौँ । तर, गर्दै भन्दै जाँदा कामले कामलाई सिकाउने हो भनेजस्तै अहिले हामी यसमा सहज ढङ्गले जान सफल भएका छौँ । यसले हाम्रो हिम्मत पनि बढाएको छ । कामले नै मान्छेलाई महान बनाउँछ भने उद्देश्यका साथ अघि बढिरहेका कारण पनि यसलाई अहिले सहज रुपमा लिएको छु । 

चार वर्षको कुरा गर्दा पहिलो वर्ष त अन्धकार नै भयो । के गर्ने कसरी जाने भन्ने सन्दर्भमा जानी नजानी कार्यक्रम गरियो । यसको कारण भने एउटा ढङ्गले वा विधाबाट आइरहेको व्यक्तिलाई एकै पटक सङ्घीय संरचनामा स्थानीय सरकारका ऐन, नियम, कानुनको परिधिभित्र बसेर काम गर्नुपर्ने सन्दर्भमा ऐन, नियम तथा कानुन नभएका कारण त्यसै पनि अलमल भयो । 

अर्को भनेको त्यसै वर्ष मात्र घोषणा भएको हाम्रो नगरपालिकामा कुनै पनि संरचना थिएन । २०७३ साल फागुन २६ गते मन्त्रिपरिषद्को निर्णय पश्चात गठन भएको धर्मदेवी नगरपालिका सङ्खुवासभाको कान्छो नगरपालिका भएका कारणले पनि हामीलाई काम गर्न अप्ठ्यारो थियो । 

हामीसँग बस्ने मेच र काम गर्नका लागि टेबल पनि थिएन । पहिलो पटक हामी चउरमा डायरी र कलम लिएर बसेका थियौँ । त्यसबेला हाम्रा घोषणा–पत्र र जनताका चाहना बमोजिमका काम कसरी गर्न सकिएला भन्ने लागेको थियो । कारण कानुन पनि थिएन । काम गर्नलाई कर्मचारी पनि थिएन । त्यसकारणले पनि काम गर्न अन्धकार भयो भन्ने कुरा इङ्गित गर्न खोजेको हो मैले । 

नगरपालिकाको कुनै भौतिक संरचना तथा कानुन थिएन । शून्य संरचना तथा कानुनका आधारमा प्रवेश गर्दै गर्दा त अन्धकार नै भयो । जनतालाई सन्तुष्ट बनाउन सकिँदैन कि, उहाँहरुको चाहना अनुरुप काम गर्न सकिएन भने के गर्ने । उहाँहरुले यति धेरै अबिर र खादा लगाएर सम्मान गर्नु भएको छ त्यो सम्मान बमोजिम काम गर्न सकिएन भने के गर्ने भन्ने थियो । 

नागरिकका चाहना बमोजिम दत्तचित्त भएर काम गर्न काम गर्न खोज्दा कानुन थिएन । कर्मचारी थिएन । कर्मचारी पदपूर्तिका लागि सङ्घ तथा प्रदेशमा कुरा गर्दा पनि केही गर्न सक्ने अवस्था थिएन त्यसकारण पनि काम गर्नलाई समस्या परिरहेको थियो । एउटा मार्ग दिशाबाट आइरहेको अर्को मार्ग दिशामा मोडिनुपर्दा समस्या पर्न गयो । 

दोस्रो वर्षमा आउँदा भने काम तीव्र गतिमा गर्दै गरेको अवस्था हो । हामीले कानुन बनायौँ, कर्मचारीहरु माग गर्यौँ । आवश्यक्ता बमोजिमका कर्मचारी त अझै पुगेको छैन । तथापि, जति कर्मचारी आउनुभयो त्यसबाट अहिले काम चलाइरहेको अवस्था छ । 

तेस्रो वर्षमा आउँदै गर्दा देश नै अछुतो नरहेको कोभिडले हाम्रो काम गर्ने रफ्तारलाई कम गर्यो । नागरिकहरुको निधन पनि भयो । नागरिकहरुको मृत्यु भएका कारण वातावरण पनि त्रसित बन्न पुग्यो । यसले गर्दा काम फेरि भने जस्तो रफ्तारमा गर्न सकिएन ।  तर, पछिल्लो वर्षमा कोभिडसँग सुरक्षित रहेर काम गर्ने क्रममा हामीले एक दिन पनि नगरपालिका बन्द गरेनौँ । अहिले भने काम तीव्र गतिमा अघि बढेको तथा आफूमा पनि आत्मविश्वास र हिम्मत उच्च भएको छ । अहिले कार्यकालको करिब करिब अन्त्यतिर आइपुग्दा काम रफ्तारमा अघि बढेको छ । 

सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा साकार 

हामीले नागरिकलाई सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई अनुभूत गराउने प्रयास गरेका छौँ । न्यायिक समितिको संयोजक भएका नाताले पनि मैले न्याय सम्पादन गर्ने सन्दर्भमा पनि धेरै काम अघि बढाएको छु । 

योजना अनुगमन संयोजक पनि भएको हुनाले योजना तर्जुमा गर्दा पनि यसमा विशेष ध्यान पुर्याएको छु । अपाङ्गताकोे पनि संयोजक भएका नाताले अपाङ्गता पुनर्स्थापना कार्यक्रम अन्तर्गत अहिले अपाङ्गता भएका व्यक्तिलाई पनि हामीले धेरै कार्यक्रम ल्याएका छौँ । विभिन्न काम तथा सिफारिसका लागि सहर धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । यसकारण पनि नागरिकले त्यसको अनुभूति राम्रै गर्न पाएको मेरो अनुभव छ ।

तिरो तिर्ने सन्दर्भमा पहिलो वर्ष हामीले नागरिकलाई नगरसम्म ल्याउने काम गर्यौँ । । हामी जनप्रतिनिधिले नागरिकलाई सहज र सुलभ ढङ्गले सेवा प्रदान गर्ने भनिसकेपछि पहाडी भूगोल एकदमै टाढा भएका कारण अब यो पनि हुँदैन भनेर हामीले वडा वडासम्म ल्याउने काम गरेका छौँ । 

पहाडी भूगोलमा बाटोघाटोको अभाव छ । पहिले हामी चुनावका बेला ९ वटा वडामा नै पैदलै पुगेका थियौँ । अहिले हामी जनप्रतिनिधिका रुपमा आइसकेपछि भने हाम्रो नगरभरि गाडी लिएर हिँड्न सकिने अवस्था भएको छ । 

सामाजिक सुरक्षा भत्ताका लागि बैँक खातासम्म खोल्न नसकेको अवस्थामा हामीले वडा वडामा बैँकका कर्मचारी पठाएर बैँक खाता खोल्ने काम पनि गर्यौँ । खाता नखोलेको अवस्थामा त हामीले वडा तथा घर–घरमा पुगेर पनि भत्ता वितरण गर्ने काम गर्यौँ ।  

विपद् व्यवस्थापनका सन्दर्भमा कुरा गर्दा हाम्रो नगरपालिकामा त्यस्तो ठूलो अप्रिय र नराम्रो किसिमको विपद् आइपरेको छैन । तर, भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै हामीले विपद् व्यवस्थापन कोष खडा गरेका छौँ । आवश्यक परेका खण्डमा हामी सेवा प्रवाह गर्न पनि सक्छौँ । देशभरिको तथ्याङ्क हेर्दा पनि हाम्रो विपद् त्यस्तो ठूलो देखिँदैन । 

नागरिक र जनप्रतिनिधि दुवैका असीमित चाहना छन् । नागरिकलाई हाम्रा यी काम भए हुन्थ्यो भन्ने लाग्छ । हामी जनप्रतिनिधिलाई यी यी काम सक्न पाए हुन्थ्यो भन्न लाग्छ । तर, साधन श्रोत तथा कर्मचारी व्यवस्थापन राम्रोसँग नहुँदा सोचे अनुरुप काम भएको छैन । 

इजलास नै नहुँदा पनि उत्कृष्ट न्याय निरुपण

जनप्रतिनिधि हुनु अगाडि धेरै सामाजिक क्षेत्रमा धेरै काम गरेका नाताले पनि न्यायिक समितिको संयोजकका रुपमा राम्रो काम गर्न सकेँ भन्ने लाग्छ । किनकि त्यसबेला कानुन पनि थिएन, कानुनी परामर्शदाता पनि थिएन, मनोपरामर्शदाता पनि थिएन । केवल न्यायिक समितिका पदाधिकारी मात्र बहाल भएका भरमा न्याय निरुपण गर्नुपरेको अवस्था थियो । 

न्यायिक समितिका संयोजकको काम, कर्तव्य र अधिकारको विषयमा आफ्नो क्षेत्राधिकारको विषयमा हामीलाई पहिले अप्ठ्यारो थियो भने पछि क्रमशः अध्ययन गर्दै जाँदा र पछि उपमेयरहरुलाई प्रदान गरिएको दुई वटा तालिममध्ये एउटा तालिममा सहभागी हुन पाएका कारण पनि न्याय निरुपणमा धेरै नै सहयोग पुग्यो ।

यहाँको भूगोल पनि अप्ठ्यारो र सानो कुरालाई लिएर पनि जिल्ला सदर मुकामसम्म जानुपर्ने अवस्था थियो । टाढा थियो । तर, अहिले न्यायिक समिति गठन भइसकेपछि यो सबै कुराको अन्त्य भएको छ । सदर मुकाम जाँदा कतिपय ठाउँमा सहज र सुलभ ढङ्गले सेवा लिन सक्नुहुन्थ्यो भने कतिपय ठाउँमा जतिसुकै अप्ठ्यारो भए पनि केही दिनुपर्ने अवस्था थियो । न्यायिक समिति बनेपछि यो सबै अवस्थाको अन्त्य भएको छ। 

न्यायिक समितिमा हामीले निवेदनको दस्तुर पनि लिने गरेका छैनौँ । नागरिकहरु न्यायिक समितिमा अप्ठ्यारोमा नभइ नआउने कारणले पनि हामीले दस्तुर नलिएका हौँ । सेवाग्राहीले निवेदन लेख्न नजानेका खण्डमा निवेदन लेखिदिने व्यवस्था पनि हामीले मिलाएका छौँ । न्यायिक समितिमा भनेर हामीले कर्मचारी भर्ना गरेका छैनौँ । हामीले आईटी इञ्जिनियर एक जना राखेका छौँ । नियमले नपाइने भए पनि सबै काम उहाँबाट लिने गरिएको छ । 

न्यायिक समितिमा कहिले श्रीमान, श्रीमतीका विवाद, कहिले गालमुखाल, सम्बन्ध विच्छेद, कुटपिट आदिका उजुरी आउँछन् । पहिले हामीले त्यो हाम्रो क्षेत्राधिकार अन्तर्गत पर्छ कि पर्दैन भनेर अध्ययन गर्छौँ । क्षेत्राधिकार भित्रका रहेछन् भने उहाँहरुको निवेदन लिएर प्रकृयागत ढङ्गले अगाडि बढाउने गरेका छौँ ।

हाम्रो अनुभवमा जो मानिस आक्रोशित भएर आएको छ त्यो मान्छेसँग आफू एकदमै नजिक भएर उहाँहरुसँग संयमता अपनाउन सक्ने संयोजक हुने हो भने धेरै कुरा समाधान हुन्छ । न्यायिक समितिमा अहिले एक सय ५० भन्दा धेरै उजुरीको समाधान हामीले गरिसकेका छौँ । 

एक सय ५० भन्दा धेरै उजुरीमा सम्बन्ध विच्छेदका दुई वटा उजुरी हाम्रो अधिकार क्षेत्रभित्र नपरेका कारण न्यायालमा पठायौँ । अन्यथा हाम्रो अधिकार क्षेत्रभित्रका कुनै पनि उजुरीलाई हामीले न्यायालय पठाएका छैनौँ । मिलापत्रबाट नै सबै निरुपण भएको छ । त्यसमा पनि दुवै पक्षले जित–जितको भावना महसुस गरेका कारण खुशी छौँ । हामी स्थलगत निरीक्षणका क्रममा जाँदा दुवै पक्षले सन्तुष्टि व्यक्त गर्ने गर्नु भएको छ । 

कहिलेकाहीँ अनुगमनमा जाँदा संयोजकका नाताले हामीबाट भएका न्याय निरुपणका क्रममा केही तितो मिठाे अनि समस्या त परेन भनेर सोध्ने गरिएको छ । त्यस बेला पनि उहाँहरुले कुनै किसिमको गुनासो गर्ने गर्नुभएको छैन । 

न्याय निरुपणका क्रममा उहाँको पैसा पनि खर्च हुने गरेको छैन, झण्झटिलो बनाएको छैन । अदालतले विवाद निरुपण गर्न वर्ष दिन तथा छ महिना लगाउने गरेको छ भने हामीले त्यसो पनि गरेका छैनौँ त्यसकारण पनि उहाँहरु हाम्रा कामबाट सन्तुष्ट हुनुहुन्छ ।

एक सय ५० वटा उजुरी हामीले दर्ता गरेका हौँ । तर, त्यसदेखि बाहेक कतिपय पारिवारिक घटना नगरपालिकासम्म किन जानु भनेर उहाँहरुले सम्पर्क गर्नुहुन्छ । त्यस्तो अवस्थामा हामी उहाँहरुको घर तथा ठाउँमा नै गएर स्थलगत रुपमा गएर बुझेर नै त्यस्ता समस्याको निरुपण गर्ने गरेका छौँ । 

हामीले अहिले नौ वडामै मेलमिलापकर्ताहरु सूचीकृत गरेर उहाँहरुलाई परिचय पत्र र फलानो वडामा फलानो मेलमिलापकर्ताहरु हुनुहुन्छ भनेर ब्यानरमा पनि उल्लेख गरेका छौँ । नगरपालिकाको आफ्नो भवन नभएको र नगरपालिका कार्यालयसँगै एउटा वडा कार्यालय भएका कारण त्यसमा इजलास बनाउँदै गरेको अवस्था छ । त्यसकारण जतिबेला, जुनसुकै र जहाँकहीँ कहिले आफ्नै कार्यकक्षमा छलफल गराउने गरेको छु, कहिले घटना भएका ठाउँमा नै अनि कहिले सहकारी भवनमा पनि छलफल गराउने गरेको छु । 

अहिले त नागरिकको प्रतिक्रिया बुझ्दा पनि राम्रो काम गरिरहेको भन्ने पाइएको छ भने आफ्नो अनुभवमा पनि हामीले सकेसम्म राम्रो काम गरेका छौँ । 

छैन विवाद 

धर्मदेवी नगरपालिकामा प्रमुख तथा उप–प्रमुख लगायत पाँच जना वडा अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ । प्रमुख तथा उप–प्रमुख एउटै पार्टी वा फरक पार्टीको हुँदा पनि कतिपय नगरपालिकामा विवाद भएका कुराहरु हामीले देखेका छौँ । तर, हाम्रो नगरपालिकामा भने त्यस्तो वातावरण बनेको छैन । 

हामीले काम गर्दा समझदारीमा तथा आपसमा सल्लाह गरेर गर्ने भएका कारण पनि त्यस्तो विवाद नदेखिएको हो । त्यति मात्र नभएर कार्यपालिकामा एउटै पार्टीका मान्छे नहुँदा पनि खासै विवाद देखिएको छैन । मेयर तथा उपमेयरले योजना छनाेट गर्दा पनि आपसमा सरसल्लाह गर्दै तर्जुमा गर्ने गरेकोले त्यस्ता विवादहरु कहिले पनि आएनन् । बरु अरु पालिकामा मेयर उपमेयर तथा वडाध्यक्षबीच पनि विवादका कुरा सुन्दा उहाँहरुलाई धर्मदेवी नगरपालिकामा आएर अवलोकन गर्न समेत म अनुरोध गर्दछु ।  

(उपमेयर घिमिरेसँग वैद्यनाथ पाैडेलले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: जेठ २०, २०७९

शोभा घिमिरे

शोभा घिमिरे संखुवासभाको धर्मदेवी नगरपालिकाका उपमेयर हुनुहुन्छ । 

1 Comments

  • Kundan Adhikri

    Feb. 25, 2022, 10:06 p.m.

    धेरै राम्रो छ , सबैठाउँमा यस्तै होस् ...शुभकामना /

  •  0 Reply

तपाईको प्रतिक्रिया