रुस–युक्रेन युद्धको प्रभाव नेपालको पर्वतीय पर्यटनमा

 फागुन ३०, २०७८ सोमबार ११:६:५८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

फाइल तस्बिर

रुस र युक्रेनबीच सुरु भएको युद्धले नेपालमा पनि मूल्य वृद्धिदर बढेको छ । पेट्रोलियम पदार्थको नियमित उपलब्धतामै प्रश्न उठ्न थालेको छ । युद्धको बाछिटाले नेपालको अर्थतन्त्रमा पनि सङ्कट आउने आकलनलाई यहाँको पर्वतीय पर्यटनमा बढेको जोखिमले पनि साथ दिएको छ । कोरोना महामारीका कारण दुई वर्ष थलिएर उठ्ने कसरत गरिरहेको नेपालको पर्यटन व्यवसायमा रुस–युक्रेन युद्धको प्रभाव नराम्रोसँग परेको पर्यटन व्यवसायीहरू बताउँछन् । 

कोरोना महामारीको कडा प्रतिबन्धका बीच पनि सन् २०२१ मा नौ सय ९७ जना युक्रेनीले नेपालको भ्रमण गरे । सन् २०२१ मा रुसबाट दुई हजार एक सय सात जना पर्यटक नेपाल आएका थिए । सन् २०१९ मा रुसबाट १० हजारभन्दा धेरै पर्यटक आएका थिए । यो त रुस र युक्रेनको तथ्याङ्क मात्रै भयो । युद्धको प्रभाव युरोप हुँदै विश्वभर बढ्दै गएकोले नेपालमा आउने पर्यटकको सङ्ख्या धेरैले घट्न सक्छ । अहिलेकै अवस्थामा यस वर्षको वसन्त ऋतुमा पर्यटकको सङ्ख्या झन्डै २० प्रतिशतले घट्ने अनुमान गरिएको पर्यटन बोर्डका निर्देशक एवम् प्रवक्ता मणिराज लामिछाने बताउनुहुन्छ । 

यो वर्ष घुम्नेहरू बढ्ने आशा थियो 

कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा मानिसहरू घुमघामका लागि निस्कन पाएनन् । यो वर्ष कोरोना सङ्क्रमणको जोखिम घटेको छ । धेरैजसो मानिसले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् । प्रायजसो देशले कोरोना महामारी रोकथामका लागि लगाएका प्रतिबन्धहरू हटाएका छन् । यसैले लामो समय घुम्न जान नपाएका पर्यटकहरू घुमफिरमा निस्कँदा यो वर्ष नेपालमा पर्यटकको सङ्ख्या धेरै बढ्ने व्यवसायीहरूको अनुमान थियो ।

पर्यटक बढ्ने पूर्वानुमान गर्दै व्यवसायीहरूले लगानी पनि बढाएका थिए । तर मुख्य सिजन सुरु हुँदै गर्दा रुस–युक्रेन युद्ध सुरु भएकोले व्यवसाय धरापमा परेको आरोहणमा प्रख्यात कम्पनी सेभेन समिट एक्सिपिडिशनका कार्यकारी निर्देशक मिङ्मार शेर्पा बताउनुहुन्छ । वसन्त ऋतुमा नेपाल आउनका लागि अग्रिम बुकिङ गरेका मध्ये युक्रेनका सबैजसोले यात्रा रद्द गरिसकेका र रुसीहरूले पनि रद्द गरिरहेका शेर्पा बताउनुहुन्छ । 

अर्थतन्त्र जोखिममा पर्दा पर्यटक घट्छन् । रुस–युक्रेन युद्धको कारण रुसी र युक्रेनी अर्थतन्त्र त समस्याग्रस्त भएकै छ । रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण युरोपलगायत विश्वका धेरैजसो देशको अर्थतन्त्र सङ्कटमा पर्न थालेको छ ।

आर्थिक सङ्कटका कारण नेपालमा पर्यटकको सङ्ख्या घट्ने पर्यटन व्यवसायी एवम् नेपाल पर्वतारोहण सङ्घका द्वितीय उपाध्यक्ष माया शेर्पा बताउनुहुन्छ । अमेरिकी डलरको भाउ बढेकाले अमेरिकी डलर प्रयोग गर्ने देशबाहेकबाट यात्राका लागि देश छाड्न डलर साट्दा आफ्नो देशको बढी रकम खर्च गर्नुपर्छ । यस्तै कतिपय बहुराष्ट्रिय कम्पनीहरूले रुसमा उत्पादन बन्द गर्नुका साथै अरू क्षेत्रमा पनि उत्पादन घटाएका छन् । यसको असर कर्मचारीलगायत अर्थतन्त्रमा पर्छ । यी सबै कारण पर्यटकको सङ्ख्या घट्छ ।

युद्ध बढ्दै जाँदा रोजगारी गुम्ने, मूल्य वृद्धि हुने लगायतका कारण मानिस घुमघामका लागि कम निस्कने पर्यटन व्यवसायीहरू बताउँछन् । यस्तै विभिन्न देशले रुसमाथि तथा रुसले अरूमाथि लगाएका उडान प्रतिबन्धका कारण कतिपय उडानहरू घुमाउरो हुनुको साथै टिकम मूल्य धेरै बढेकाले पनि पर्यटकको सङ्ख्या घट्छ । नेपालको पर्वतीय पर्यटनमा गुणस्तरीय पर्यटक आउने युरोप, रुस र अमेरिकी देशमा देखिएको समस्याका कारण नेपालमा पनि असर बढेको पर्यटन बोर्डका निर्देशक लामिछाने बताउनुहुन्छ । 

यात्रा जोखिमपूर्ण हुन्छ 

अहिले लागि रुस र युक्रेनबीच युद्ध भइरहेको छ । अहिलेसम्म त अमेरिका तथा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले अहिल्यै रुसविरुद्ध सेना परिचालनको निर्णय गरेकाे छैन । तर युद्ध लम्बिँदै गएमा यो त्यहाँमात्र सीमित नरहन सक्छ । त्यसैले अवस्था जुनसुकै बेला जटिलतातर्फ जान सक्ने भएकाले यस्तो बेला यात्रा गर्नुलाई धेरैले जोखिम मान्छन् । यसैले यस वर्षको वसन्त ऋतु मात्रै हैन अरू दुई–तीन वर्ष नेपालमा पर्यटकको सङ्ख्या घट्न सक्ने व्यवसायी मिङ्मार शेर्पा बताउनुहुन्छ । 

रुस–युक्रेन युद्धको प्रभावले पर्वतीय पर्यटकको सङ्ख्या घट्दा पर्यटन व्यवसायसँगै नेपालको समग्र अर्थतन्त्रमै असर गर्छ । युरोप र अमेरिकी पर्यटकको विकल्पमा छिमेकी देश भारत र चीनबाट बढी पर्यटक भित्र्याउने पहल उपयुक्त हुन्छ तर पर्यटकीय सिजन सुरु भइसकेकाले यही वर्ष त्यो सम्भावना कम रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउनुहुन्छ ।

युद्धको प्रभाव आउँदो सिजनमात्रै नभएर अरू केही वर्ष रहन सक्ने भएकाले पर्वतीय पर्यटनमा रुस, युरोप र अमेरिकी पर्यटकको विकल्पका रूपमा सरकारले पहल गर्नुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया