खुर्सानीको धुलो आँखामा छरेर ४२ तोला सुन र १२ लाख रुपैयाँ लुटपाट, २ जना पक्राउ

 फागुन ३०, २०७८ सोमबार १८:५७:२५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डाैका अनुसार यही फागुन २५ गते राति सवा १० बजेको समयमा काठमाण्डाै महानगरपालिका ७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो । 

चाबहिलमा रहेकाे ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि त्यस घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर सुन व्यवसायीको गतिविधि निगरानी गरी योजनासमेत बनाएर लुटेका छन् । 

यसरी लुटपाटमा संलग्न भएकामध्ये अहिलेसम्म दुई जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ । पक्राउ पर्नेमा दाङका महेश विश्वकर्मा र राजेन्द्र सिन रहेका छन् । अन्य फरार भएकाको खोजी भइरहेकाे जनाइएको छ । उनीहरूकाे साथबाट प्रहरीले एक लाख ६६ हजार रुपैयाँ र प्रयोग भएको मोटरसाइकल, खुँडा, तरबारलगायत सामग्री बरामद गरेको छ । 

त्यस घटनाका सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुरमा काठमाण्डाै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया