लेटाङमा एक महिला प्रहरीको ज्यान गएकोबारे छानबिन सुरु, आठ जना पक्राउ

 चैत ७, २०७८ सोमबार ११:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मोरङको लेटाङमा भड्किएको हिंसामा एक महिला प्रहरीको ज्यान गएपछि प्रहरीले छानबिन थालेको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिनुभयो । उहाँका अनुसार  छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ ।

शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका छन्।

तनाव बढेपछि लेटाङमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको छ । दक्षिणमा लेटाङ नगरपालिका-३ र ४, लेटाङ-५ का सबै क्षेत्र, उत्तरमा लेटाङ-६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भएको छ ।

होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि विद्यालयमा यसबारे छलफल भइरहँदा झडप भएको हो।

छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका थिए । उनीहरुले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो। 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया