त्रिभुवन विश्वविद्यालयमा लायकहरुलाई नालायकहरुले छिर्न दिँदैनन्

 चैत ७, २०७८ सोमबार १४:१४:१७ | प्रा.डा. रामेश्वर अधिकारी
unn.prixa.net

हाम्रो संस्थाको नाम नै व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र हो । व्यवहारमा आवश्यक पर्ने प्रविधिहरु विकास गर्नका लागि जे गर्नुपर्ने हो त्यो हाम्रो दायित्व हो । त्यस अन्तर्गत अहिले हाम्रा धेरै क्रियाकलापहरु भएका छैनन् । पछिल्लो समय कोभिडले हाम्रो समाजमा औषधिजन्य समस्याहरु रहेको देखापर्यो । त्यसकारण जडीबुटीजन्य पदार्थबाट केही औषधि बनाउन सकिन्छ कि भनेर हामी अहिले त्यसमा केन्द्रित भएर काम गरिरहेका छौँ । 

औषधिको काम हामीले कोभिड आइसकेपछि सुरु गरेका हौँ र त्यस हिसाबले हामीले काम सुरु गरेको करिब डेढ वर्ष जति भयो । हामीसँग पहिले त उपकरण, ज्ञान तथा प्रयोगशाला केही पनि थिएन । पहिले हामीले प्रयोगशाला बनायौँ । त्यसको स्तरोन्नति गर्यौँ अनि उपकरण जुटायौँ । त्यसपछि काम गर्ने वैज्ञानिक जुटायौँ । त्यस हिसाबले अहिले हामी औषधि विज्ञानतर्फ केही उपयोगी औषधि बनाउन सकिन्छ कि भनेर लागि परिरहेका छौँ । 

हामी यसमा लागेको डेढ वर्ष जति भयो । यसमा पहिले औषधि कस्तो बनाउने भनेर (डिजाइन) मार्गचित्र गर्नुपर्ने रहेछ । त्यसपछि त्यसले रोगमा काम गर्छ कि गर्दैन भनेर बनाउनु पर्ने रहेछ । त्यसपछि त्यस अनुसारको औषधि बनाउनका लागि कुन जडीबुटी हो त्यो पत्ता लगाउनु पर्ने हुन्छ । त्यस अनुसार जडीबुटीमा भएको तत्व तथा हाम्रो मार्गचित्र अनुसारको मेल हुनुपर्यो । त्यो सबै मिलेपछि बल्ल औषधि बनाउने प्रक्रियामा जान्छ । त्यसकारण अहिले हामी मार्गचित्र बनाउने र कुन चाहिँ जडीबुटीमा भएको कुन तत्वले त्यस औषधिको काम गर्छ र त्यो जोडिन्छ कि जोडिँदैन भनेर अनुसन्धान गर्ने चरणमा छौँ अहिले हामी । 

कोभिड विरुद्धको औषधिको सन्दर्भमा अहिले हामीले सक्छौँ भन्दा असाध्यै महत्वाकाङ्क्षी कुरा हुन्छ । सक्दैनौँ भन्दा निराशाजनक कुरा हुनसक्छ । कुनै पनि कुराको अध्ययन, अनुसन्धानपछि औषधि निर्माणसम्म पुग्दा धेरै समय लाग्न पनि सक्छ । र कहिलेकाहीँ छिटो पनि हुन सक्छ । तर, अहिलेसम्मको हाम्रो नतिजाले हामी काम गर्न सक्षम छौँ भन्ने कुरा देखाएको छ । जसका लागि हामीसँग जनशक्ति छ, तर स्रोत, साधन कम छन् त्यसलाई बढाउँदै र जुटाउँदै लैजानुपर्छ । मौका पाएका खण्डमा नेपाली वैज्ञानिकहरुले राम्रोसँग मार्गनिर्देश गरेका खण्डमा औषधि बनाउन सकिनेसम्मको स्थितिमा हामी छौँ । त्यसको सङ्केत प्राप्त भएको छ । त्यसमा समय कति लाग्छ त्यो भन्न सकिन्न । त्यसमा हामीले प्रयोगशालाको स्तर कस्तो बनाउँछौँ, वैज्ञानिकहरुलाई हामी कत्तिको काममा लगाउन सक्छौँ र स्रोत साधनको कति जुटाउँछौँ अनि राज्यले त्यसमा कति ध्यान दिन्छ त्यसमा भर पर्छ । 

यो नेपाली वैज्ञानिकहरुको कामले नै पूर्ण हुनसक्छ । हामी त्यो गर्न सक्छौँ, सक्दैनौँ त्यसमा धेरै अवयबहरु छन् तर, के भन्न सकिन्छ जसरी म अनुसन्धानको क्षेत्रमा विगत २० वर्षदेखि लागिरहेको छु यसरी लागि पर्ने अरु थुप्रै अनुसन्धानकर्मीहरु हुनुहुन्छ । उहाँहरुलाई हेर्दा यो क्षेत्रमा नेपालमा केही काम गर्न सकिन्छ भन्ने लागेको छ । भविष्य भएका र कर्मवीर दुवै छन् नेपालमा । नेपालमा नभएको भनेको वातावरण मात्र हो त्यो बनाउन सकिन्छ । 

हामीले यहाँको रैथाने तथा परम्परागत प्रविधिको अन्वेषण, अनुसन्धान तथा अनुकूलन गर्ने साथै अहिलेको आवश्यक्ता अनुसार त्यसलाई ढाल्ने पनि हाम्रो अधिकार क्षेत्र अन्तर्गत हो । त्यस अनुसारको काम हामीले विगतमा पनि धेरै गरेको पनि छौँ । तर, त्यो क्षेत्र हाम्रो ओझेलमा परेको छ । त्यसका धेरै कारण छन् । 

सुधारिएको चुल्हो तथा अन्य काम 

हामीले पहिले गरेको सुधारिएको चुल्हो, हावाबाट बिजुली निकाल्ने टर्बाइनहरु तथा सौर्य ऊर्जामा काम गरेका थियौँ । अहिले भने यस्तो काम हामीले अगाडि बढाएका छैनौँ । यसको कारणमा यस्ता काम गर्ने अरु थुप्रै संस्थाहरु पनि आए । साथै यसरी काम गर्न सकिन्छ भनेर हामीले अरुलाई सिकाएर पठाइ सकेको हुनाले पनि हामीले यसमा काम गरिरहेका छैनौँ । 

विगत सात/आठ वर्षदेखि हामी लागि रहेको भनेको प्रकृति संरक्षण, वातावरणीय परिवर्तन सम्बन्धी, सम्वर्द्धन र संरक्षण सम्बन्धी तथा यसलाई जनजीविकासँग कसरी जोड्न सकिन्छ भनेर अनुसन्धान गर्ने हाम्रो एउटा टोली छ रामप्रसाद चौधरी सरको नेतृत्वमा यसले काम गरिरहेको छ । 

‘नानो प्रविधि’को काम

अर्को भनेको ‘नानो प्रविधि’ अर्थात सुक्ष्म प्रविधिमा थुप्रै काम गरिरहेका छौँ । नानो प्रविधि अलि नयाँ विषय पनि हो । यसमा हामीले विशेष प्रकारको पदार्थ उत्पादन गर्छौँ । त्यसलाई सिन्थेसिस गरिन्छ र त्यसलाई पानीको प्रशोधन गर्नका लागि प्रयोग गरिन्छ । 

नानो प्रविधि भनेको कुनै पनि चिजलाई असाध्यै सानो बनायो भने त्यसको प्रभावकारिता बढ्ने रहेछ । यसको उदाहरणमा यदि एउटा फलामको डल्लोले कसैलाई हान्दा कम दुख्छ, किला बनाएर घोच्यौँ भने झन् धेरै दुख्छ र सियो बनाएर घोच्यो भने झन् दुख्छ । अझ त्यसलाई धुलो बनाएर छर्यौँ भने छालाबाट शरीर भित्र पसेर त्यसले भित्रसम्म असर गर्छ । 

कुनै पनि वस्तुलाई अति सुक्ष्म अवस्थामा लग्यो भने त्यसको प्रभावकारिता बढ्दो रहेछ । जैविक विविधता, वातावरणीय परिवर्तन, जलवायु परिवर्तन आदि क्षेत्रमा हामीले काम गरिरहेका छौँ । 
खाद्य पदार्थ तथा खानेकुराको आनीबानीबाट पनि विभिन्न रोेगहरुलाई जित्न सकिन्छ र त्यस्तो खालको खाद्य वस्तु पनि बनाउन सकिन्छ भन्ने एउटा विज्ञान छ र खाद्य प्रविधिमा त्यस्तो वस्तु बनाउने काम पनि हामी गरिरहेका छौँ ।

प्लास्टिकहरुलाई कसरी पुनःनवीकरण गर्न सकिन्छ भनेर हामी काम गरिरहेका छौँ । तर, यसमा भने धेरै काम भएको छैन । प्लास्टिकलाई क्षयीकरण गर्ने सम्बन्धमा पनि हामी अनुसन्धान गरिरहेका छौँ । 

युग सुहाउँदो काम

हामीले पूर्ववत् गरिरहेको सौर्य विद्युत् सम्बन्धी काम अब अरुले पनि गरिरहेका छन् । त्यसकारण अब हामीले त्यही काम नगरि युग सुहाउँदो काम पनि गर्नुपर्छ भनेर हामीले अरु विषयमा काम गरिरहेका छौँ । 

युग सुहाउँदो प्रविधिको कुरा गर्दा नयाँ नयाँ प्रविधि आइरहेका हुन्छन् त्यसमा हामीले विशेष ध्यान दिएका छौँ । व्यावहारिक विज्ञानमा नयाँ नयाँ विषय आइरहेका हुन्छन जसमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण, सूक्ष्म प्रविधि सम्बन्धी काम त्यसमा हाम्रो विशेष ध्यान रहन्छ । अब त्यसलाई पनि हामीले समेट्नु पर्ने हुन्छ । त्यसकारण हाम्रा अनुसन्धानको विषयमा ती समावेश भएका हुन् । 

अब यसमा काम भएन अगाडि बढेन भन्ने कुरा चाहिँ कस्तो हो भने त्यसमा वातावरण चाहिन्छ । अध्ययन, अनुसन्धान तथा त्यसबाट केही निचोडमा पुग्नका लागि तथा त्यसमा दूरगामी प्रभाव पार्ने वस्तुहरु सृजना गर्नको लागि वातावरण चाहिन्छ । समय र परिवेश सुहाउँदो अनुसन्धान नभएको होइन, त्यसको लागि पनि वातावरण नभएको मात्रै हो । साथै भएका उत्पादन तथा अनुसन्धान तथा वस्तु जनसमक्ष पुर्याउन सकिएको छैन त्यो पनि वातावरण नै नभएकोले हो । त्यसमा हामीले नचाहेको पनि होइन, जनशक्ति नभएको पनि होइन केवल वातावरण नभएको मात्रै हो । जस्तै अहिले हामी बन्द कोठामा छौँ भने त्यसबाट बाहिर निस्कनका लागि त झ्याल ढोका खोल्नुपर्ने हुन्छ । झ्याल ढोका बन्द गर्ने हो भने स्वच्छ हावा भित्र आउन पाउँदैन भने दूषित हावा बाहिर जान पनि पाउँदैन । हामी दूषित नै भइरहन्छौँ । हाम्रो समस्या भनेको त्यही नै हो । 

पहिलो कुरो अनुसन्धान केन्द्रले केही पनि गरेको छैन भन्ने गुनासो छ त्यो कुरा बिल्कुलै सत्य होइन । यसको मापन गर्ने खास मापदण्ड के हो त भन्ने कुरा आउँछ । कुनै पनि अनुसन्धान केन्द्र वा संस्थाले केही पनि काम गर्यो वा गरेन भन्नका लागि मापन गर्ने केही कुरा त हुन्छन् । 

अनुसन्धान गर्ने संस्थाहरुले अनुसन्धान गर्यो कि गरेन भनेर हेर्नका लागि पहिलो कुरा त्यसको पूर्वाधार विकास गर्यो कि गरेन, त्यहाँ उपयुक्त वैज्ञानिकहरु छन् कि छैनन्, अनुसन्धान गरेको कुरा प्रकाशमा ल्यायो कि ल्याएन, त्यस्ता बौद्धिक अधिकारसँग सम्बन्धित काम गर्यो कि गरेन र सबै समस्यका बाबजुद काम अघि बढेको छ कि छैन भनेर हेर्ने हो । 

ती सबै समस्यालाई नियालेर हेर्ने हो भने हाम्रो अनुसन्धान केन्द्र निकै नै अघि बढेको छ । हामीले अरु अनुसन्धान केन्द्रले जस्तो ३०/४० वटा प्रकाशन गरेका छौँ । प्रतिस्पर्धाबाट अनुसन्धानका लागि अनुदान ल्याउने काममा पनि हामी पछि परेका छैनौँ । यी सबै काम हामीले गरेका कारण काम भएन भन्ने कुरा चाहिँ होइन । अनुसन्धान केन्द्रमा काम भएन अनि काम गर्ने मान्छे भएन भन्ने कुरा चाहिँ अन्य अनुसन्धान केन्द्रमा पनि हुने कुरा हो । कहीँ पनि केही पनि समस्या नभएको संस्था हुँदैन । त्यसकारण हाम्रो संस्थामा केही काम भएन भन्ने कुरा सत्य होइन । 

यति भन्दै गर्दा पनि म के भन्छु भने यी सबै प्रयासका बाबजुद पनि हामीले बौद्धिक सम्पत्ति संरक्षणको सन्दर्भमा भने पर्याप्त काम गर्न सकेका छैनौँ त्यो भने सत्य हो । व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले औषधि बनाइदिओस्, ‘इम्युनिटि बुस्टर’को सुत्र देओस् भन्ने कुरामा चाहिँ हामीले सोचे अनुरुप काम गर्न सकेका छैनौँ । यसका लागि भने वातावरण छैन । अध्ययन, अनुसन्धान तथा त्यस कुराको संश्लेषण, प्रचार प्रसार तथा पहिचान सँगसँगै हुनुपर्ने कुरा हो । कुनै ठाउँमा अनुसन्धान गर्नका लागि अध्ययन हुनुपर्छ । अध्ययन गर्ने पनि वातावरण हुनुपर्छ । त्यो भनेको अध्ययन गर्ने मान्छे तथा साधन हुनुपर्छ । 

बन्द ढोका 

हामी सबै अनुसन्धान केन्द्रको समस्या के छ भने यहाँ स्वप्नदर्शी युवा वैज्ञानिकहरु, समाजशास्त्रीहरु अर्थात जुन जुन क्षेत्रमा जो जो चाहिन्छ ती मानिस आउने ढोका भने यहाँ बन्द छ । हामीकहाँ जे जति मान्छे अनुसन्धान केन्द्रमा छन् ती जागिरे हुन्छन् । मैले साथीहरुलाई इङ्गित गरेर यसो भन्न खोजेको होइन । कसैले पनि त्यस रुपमा नलिनुहोला । स–सम्मान के भन्न चाहन्छु भने जागिर सुरक्षित भए त भैगो नि । तर, हामीलाई जागिरे चाहिएको होइन ।

हामीलाई त अनुसन्धानकर्ता चाहिएको हो । हामीलाई वैज्ञानिक, प्राध्यापक चाहिएको हो । हाजिर गर्ने मान्छे चाहिएको होइन । तर, जब अनुसन्धान केन्द्रलाई हामी हाजिर गर्ने मान्छेले भर्छौँ भनेदेखि त्यहाँबाट आउने भनेको हाजिर नै हो । जे रोप्नुभयो फल्ने त्यही हो । सुन्तला रोपे सुन्तला फल्छ । लप्सी रोप्नुभयो भने लप्सी फल्छ । यदि हामीले अनुसन्धान केन्द्रमा अनुसन्धान गर्ने हो भने अनुसन्धादाताहरु, वैज्ञानिकहरु, सपना भएका मानिसहरुलाई हामीले त्यहाँ ठाउँ दियौँ भने उनीहरुले त्यही कुरा निकाल्छन् । 

यसमा कसैलाई दोष लगाउनु भन्दा ढोका बन्द गर्ने काम हामी सबैले गर्यौँ । मेरो पनि यसमा जिम्मेवारी छ । प्रयास गरेको छु तर, सफल भएको छैन । यहाँ म भनेको म नभएर त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आठ हजार प्राध्यापकहरु हो । हामीहरुले गरेनौँ । 

हामीले खुलाउन खोजेको भए वा हामीहरुले गरेको भए महिनौँदेखि हाम्रो विश्वविद्यालय बन्द हुँदैनथ्यो । हामी १६ हजार कर्मचारी र शिक्षक छौँ त्रिविमा र यदि हामीले खोल्न चाहेको भए विश्वविद्यालय बन्द हुँदैनथ्यो । 

कस्तो मान्छे राख्ने भन्ने सन्दर्भमा सरकारी तवरबाट हरेक शिक्षक, प्राध्यापक जो जो यहाँ हुनुहुन्छ उहाँहरुले काम गर्नुपर्छ भनेर निर्देशन दिनुपर्ने काम लगाउनु पर्ने होइन आफैँ गर्नुपर्ने हो । हामी प्राध्यापक भनेको कसैले काम लगाएर काम गर्ने प्राणी हामी होइनौँ । 

प्राध्यापकको हैसियतमा मैले के काम गर्ने भन्ने मलाई थाहा हुनुपर्छ । थाहा छैन भने खोजी गर्नुपर्छ । खोजी गरेर पनि पत्ता लगाउन सकिएन भने छोड्नु पर्छ । होइन भने प्राध्यापकको काम पढाउने हो । अनुसन्धान गर्ने हो । अनुसन्धानको लागि प्रस्ताव लेख्ने हो । योजना ल्याउने हो । विद्यार्थी छैन भने विद्यार्थी खोजेर ल्याउने हो । अहिले रिकास्टको कुरा गर्दा विभिन्न संस्थाबाट आएका ४० जना जति युवा वैज्ञानिक स्वयंसेवकका रुपमा काम गर्नुहुन्छ । उहाँहरु हाम्रो माया भएर आएको नभइ हाम्रो सीप, क्षमता देखेर आएको हो नि । 

तर, सरकारले रिकास्टलाई यस वर्ष एक करोड रुपैयाँ दिन्छु अनि हाम्रो काम गर्नुपर्ने क्षेत्र खनिजका बारेमा, पानीको बारेमा तथा औषधिका बारेमा काम गर्नुपर्ने छ भनेर भन्नुपर्याे । यदि गरेर देखाउनु भयो भने अर्को वर्ष एक करोड थप गर्छौँ होइन भने जेल हाल्छु भनेर सरकारले भन्नुपर्यो । तर, सरकारले यसो नभनेर हामीलाई खोँचे थाप्छ र अनुसन्धान केन्द्रले काम गरेन भनेर कराइरहन्छ । नेपाल सरकारसँग अनुसन्धानमा खर्च गर्नका लागि प्रशस्त पैसा छ रातो किताबमा हेर्दा । तर, उहाँहरुले त्यो काम परामर्शदाता लगाएर गराउनु हुन्छ । त्यसबाट के फाइदा हुन्छ थाहा भएन । तर, विश्वविद्यालयलाई भने फाइदा हुँदैन । 

हामी विश्वविद्यालयमा प्राध्यापक भएर आएका हौँ । काम गर्छु भनेर आएका हौँ । जीवन दिन्छु भनेर आएका हौँ । हामीलाई प्रोत्साहन भन्दा पनि काम गर्ने थलोमा अवरोध नभए पुग्छ ।

युवाका लागि छैन वातावरण

नेपालको भविष्य भनेको युवाहरु हो । ३०/३५/४० वर्षका युवायुवतीका लागि वातावरण छैन । अस्ति भारतमा जाँदा त्यहाँ जहाँ पनि युवाहरु देखेँ मैले । युवाहरुलाई सम्मान दिएको छ । आउनुस्, काम गर्नुस्, के समस्या छ भने हामी छौँ भन्ने मानिसहरु छन् । 

आजैको कुरा हो यहाँ रसायनशास्त्र विभागमा यहाँ युवाहरुको के समस्या छ, आउनुस काम गर्नुस् भनेर अग्रजहरुले भनेका छन् ? त्यस्तो वातावरण छ ? छैन । अनि त्यो मान्छेलाई यहाँ काम गरौंँ गरौँ लाग्छ, लाग्दैन । यो देशमा बस्छ, बस्दैन । अनि ब्रेन ड्रेन भयो विद्यार्थी बाहिर गयो भनेर हुन्छ र ! हाम्रो यहाँ युवाहरुलाई रचनात्मक काम गर्नलाई वातावरण छैन । 

युवाहरुले यहाँ आएको मान्छेले अनुसन्धान गर्छु, पीएचडी गर्छु, गराउँछु, अनुदान खोजेर ल्याउँछु, अथवा अलिकति तपाईँ पनि सहयोग गर्नुस् भन्दा त्यो वतावरण छैन । बाहिरबाट पढेर पीएचडी गरेर आएको उप–प्राध्यापकलाई पीएचडी गराउने, अनुसन्धान गराउने अधिकार पनि छैन । प्राध्यापक भएपछि त्यसले धेरैलाई अनुसन्धान गराउन पाउने तर, योग्यता उत्तिकै भए पनि उमेरले कनिष्ठ मान्छेले पीएचडी गराउँछु भन्दा पनि पाउँदैन । त्यस्ता उल्टो नियमहरु बनाएर हामी प्राध्यापकहरु बसिरहेका छौँ । 

त्रिविको पढाइ अनुसन्धानमुखी छैन । अनुसन्धानमुखी बनाउन प्रयासहरु भएका छन् तर, त्यो स्तरमा हामी पुगेका छैनौँ । हाम्रो सेवा आयोगबाट केही समय अगाडि थुप्रै उप–प्राध्यापकहरुको नियुक्ति भयो । हुँदैछ पनि र भएको ठाउँमा नियुक्त गर्न पाइँदैन भनेर तालबन्दी भएको र भर्खर भर्खर खुलेको भन्ने सुनेको छु मैले । 

संसारभर जो बाहिर गएर पढ्नु भएको छ र अनुसन्धान पनि गर्नु भएको छ उहाँहरु नेपाल आएर काम गर्न चाहन्छु, पढाउन चाहन्छु, अनुसन्धान गर्न चाहन्छु भन्नुहुन्छ । उहाँहरुलाई उपयुक्त हुने खालको वातावरण बनाएर नियुक्त गर्न पाए त उहाँहरुले विश्वविद्यालयलाई उचाल्नुहुन्छ नि । तर, हामीहरु उहाँहरु के गर्यो भने आउन सक्नुहुन्न, के गर्यो भने छिर्न सक्नुहुन्न त्यो नियम बनाउँछौँ । रसायनशास्त्र, भौतिक शास्त्र, जीव विज्ञानको कुराकानी गर्ने हो भने सयौँको सङ्ख्यामा रहेका लायकहरुलाई नालायकहरुले छिर्न दिँदैनन् । यसो भन्दै गर्दा शब्द अलि कडा हुनसक्छ मेरो आशय मात्र बुझ्नुहोला यसमा । 

न्यूनतम योग्यता पीएचडी 

हाम्रो विश्वविद्यालयहरुमा सपना भएका, काम गर्न चाहने, ऊर्जाशील युवायुवतीहरुलाई नियुक्ति गर्नको लागि वा प्राध्यापक हुनका लागि न्यूनतम योग्यता पीएचडी हुनुपर्छ । अनि बल्ल त्यसले पढाउन पनि सक्छ र अनुसन्धान पनि गर्न सक्छ अनि उसले युग हाँक्छ । त्यसो हुने बित्तिकै धेरै कुरा सुध्रन्छ । 

नेपालको कुनै पनि विश्वविद्यालयमा प्राध्यापन गर्नको लागि र अनुसन्धान गर्नको लागि पीएचडी हुनुपर्छ र उसको पीएचडी छानबिन हुनुपर्छ । सबै पीएचडी पीएचडी हुँदैन त्यसको छानबिन हुनुपर्छ । छानबिन गर्दा स्वतन्त्र आयोग बनाएर गर्नुपर्छ । जसले किर्ते गरेको छ त्यसलाई सजाय पनि हुनुपर्छ । 

हाम्रो स्तर तल खस्कनुको मुख्य कारण हामीले हाम्रो संस्कृति, सभ्यता भुल्दै गएर पनि हो । अमेरिक भन्ने देश बन्नु अगाडि न्यातपोल मन्दिर बनेको हो । पाटनको मंगलबजारमा रहेको मणिहिटीमा जानुभयो भने अहिले पनि पानी आउँछ । तर, गन्हाउने पानी आइरहेको छ । त्यो बनेको करिब १६/१७ सय वर्ष भयो जुन नेपाली इन्जिनियरहरुले बनाएका हुन् । त्यसबेला कतिपय त देश नै थिएनन् । त्यस्तो सम्भयताको खानी हो यो देश । 

परम्परागत औषधिदेखि, रङ रोगन, कपडा आदि थुप्रै कुरामा हाम्रो आफ्नै प्रविधि छ । तर, हामीले त्यो सभ्यता सिक्न पाएका छैनौँ । हामी बच्चाहरुलाई त्यो कुरा सिकाउँदैनौँ । हामी देश, भूगोल र सभ्यताको बारेमा स्कुलमा सिकाउँदैनौँ । त्यसलाई हामीले अनुसन्धान गर्नुपर्छ, खोज्नुपर्छ, उत्खनन गर्नुपर्छ भनेर सिकाउँदैनौँ । 

हाम्रो विश्वविद्यालयमा मात्र होइन स्कुलदेखि नै पाठ्यक्रममा हाम्रो भूगोल, संस्कार, संस्कृति  र सभ्यताको बारेमा राख्नुपर्छ । र त्यस लायकको मान्छेलाई त्यहाँ पठाउनु पर्छ । तपाइँ पाठ्यक्रम राम्रो बनाउन सक्नुहोला तर पढाउन क्षमता नभएको मानिस भयो भने के काम । 

हाम्रो विश्वविद्यालयमा जस्ले पढ्छ उसले झण्डैझण्डै सित्तैमा पढ्छ । यहाँ पीएचडी गर्ने ठाउँमा चाहिँ पैसा लगाउँछन् लगाउन नपाउनु पर्ने हो । पीएचडी गरेर अनुसन्धान गरेर जसले देशको लागि काम गर्छ उसलाई त पैसा दिनुपर्ने हो । तर, हामी पैसा लिन्छौँ । हामी उल्टो काम गर्छौँ । 

जस्ले यहाँ स्नातकोत्तर गर्छ उसलाई हामीले हरेक गाउँको विद्यालयमा हाम्रो परम्परागत संस्कृति, कला, प्रविधि आदि समेत सिकाउनको लागि र त्यहाँ भएका विज्ञान शिक्षकलाई तालिम दिनको लागि एक वर्षका लागि पठाउनुपर्छ । त्यस्तो कार्यक्रम नेपाल सरकारले बनाएको विज्ञान प्रविधि नीतिमा समुदायसँग युवा वैज्ञानिक भन्ने कार्यक्रम पनि छ । तर, लागू हुँदैन । यति तीनवटा मात्र काम गर्न सक्यौँ भने पनि यो देशको कायापलट हुन्छ । 

(प्रा.डा.अधिकारीसँगकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत २९, २०८०

प्रा.डा. रामेश्वर अधिकारी

प्रा.डा.अधिकारी व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ ।

1 Comments

  • Guru Prasad Poudel

    March 22, 2022, 10:02 a.m.

    चित्त बुझ्ने रहेछ । अहिले को बास्तबिकता नै येहि हो। आपराधिक प्रवृत्ति का ब्यक्ति हरु बाट बिश्वबिधलय कब्जा गर्ने प्रयास भइरहेकै छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया