चुनावी तालमेलको लागि मापदण्ड बनाउने कांग्रेसको तयारी

 चैत १४, २०७८ सोमबार ७:३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलको लागि मापदण्ड बनाउने तयारी गरेको छ ।

शुक्रवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएपछि यसबारे मापदण्ड बनाउने तयारी भएको हो । पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ ।

२०७४ सालको स्थानीय तह चुनावमा ७५३ स्थानीय तहमध्ये कांग्रेसले २ सय ५३ तहमा जितेको थियो । महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट तथा नगरपालिका र गाउँपालिकामा स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेल गर्ने कांग्रेसको तयारी छ ।

केन्द्रीय समिति बैठकमा नेताहरुले पार्टीभित्र एकता र विश्वासको वातावरण मिलाएर तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आउनुभएको छ ।

सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला लगायतकाहरु नेताहरु पनि चुनावी तालमेलको पक्षमा छन् । शेखर कोइराला पक्षका नेताहरुले भने कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने बताउँदै आएका छन् ।

विमलेन्द्र निधि लगायतका केही नेताहरु पनि कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् । तर केन्द्रीय समिति बैठकमा बहुमत सदस्यले तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तह चुनावको तयारी, दलहरुबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा कांग्रेसले गएको शुक्रवारदेखि केन्द्रीय समिति बैठकमा छलफल गर्दै आइरहेको छ । केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया