भ्यूटावरबाट चुनावी भ्यू : ओलीको आँखामा रुख, अरुको आङमा घाम !

 चैत २०, २०७८ आइतबार १०:५८:१६ | मिलन तिमिल्सिना
unn.prixa.net

आफू र आफ्ना परिवार, आफन्त, नातागोता सबै सुखी भैसके ! आफू बसेको आसपास समृद्धि छाइसक्यो । पार्टीको नाम र नारामा समाजवाद जोडेपछि समुदाय र समाजमा समेत समाजवाद आइसक्यो । मतलब सबै नागरिक सुखी भए, देश पुरै समृद्ध भयो ।

सुख र समृद्धिले दुनियाँ हराभरा भएको र समाजमा हरियाली छाएको फेदमा बसेर देखिंदैन । फेदबाट हेर्दा जताततै भुईंमान्छे मात्र देखिन्छन् । भुइमान्छेका गलित, दलित, दु:खी र निराश अनुहार र तिनको अनुहारमा छल्कने दुःखकष्ट मात्र देखिन्छ । भुईंमान्छेबाट आफूलाई माथि उठाएका मानिसले फेरि आफ्नै पुरानो अनुहार र अवस्था हेर्नु आफै फेरि भ्रममा पर्नु हो । टुप्पोमा पुगेपछि भुईंतिर फेरि किन आँखा लगाइरहनु ? टुप्पोबाट त चारचौरास मज्जाले देखिन्छ । भुईं छाडेर परतिर हेरेपछि जता पनि हराभरा । सबै सुखी र समृद्ध !

फेद बिर्सेर टुप्पोमा पुगेकाहरु यही दृश्य हेर्न अग्लो ठाउँ पुगे । अग्लो ठाउँमा पनि अग्लो भ्यूटावर बनाए । त्यही भ्यूटावरको टुप्पोमा पुगेर दुरबिन घुमाए । चुनाव आउनै लाग्दा भ्यूटावरको टुप्पोमा पुगेका उनीहरुले कस्तो भ्यू देखे त ?

सबैभन्दा पहिले घामपार्टीका मूलीले देखेको भ्यू । सपना देख्न, बाँड्न र यस्ता भ्यूटावर बनाउन खप्पिस घामपार्टीका मूली डन्डी समाउँदै टावरको माथि पुगे । सहयोगीसँग दूरबिन मागे । यति माथि टुप्पोमा आइपुग्दा पनि घाम त मलिन मलिन पो देखिन्छ । वरपर जताततै रुखैरुख । रुखमाथि आफ्नै पार्टीको झण्डा फरफराइरहेको । तर झण्डाको हँसिया हथौडामा छ गोलाकार घेरा । देख्दै रीस उठ्यो । आफ्नो हो कि जस्तो लागेको झण्डा परेछ बिरोधी बान्धबको । रुखको हाँगोमा नटाँसीकन फरफराउन नसक्ने त्यो झण्डा मूलीलाई लुते लाग्यो, अथवा लुतो कन्याउनसम्म काम लाग्ने । रुखकै अर्को हाँगामा लिसो टाँसिएझैं चपक्क टाँसिएर बसेका नेपाल, तर देश हैन मान्छे नेपाल । अलि पहिलेसम्म सर्टको गोजीबाहिर सूर्यको लोगो टाँस्थे । अहिले त्यो लोगो भएको ठाउँमा कलम भिरेका रहेछन् । अलिअलि देखिने कलम । तरबारभन्दा कलम बलियो भन्ने वादविवाद प्रतियोगितामा विश्वास गर्दै रुखमा टाँसिएर बसेका । अग्लो र झ्याम्म परेको रुख, त्यहीमाथि एकातिर कलम अर्कोतिर गोलाकारभित्र हँसिया हथौडा । रुखको हाँगामा फरफराइरहेको झण्डाले सूर्य नै छेक्लाछेक्ला जस्तो । ओहो अग्लोमा आएर यसरी हेर्दा मुली आफैंलाई नदेखिने हो कि भन्ने डर लाग्यो । घामपार्टीका मूली भ्यूटावरबाट हतारहतार ओर्लिएर पार्टी प्रवेश गराउन भन्दै बाटो लागे ।

त्यसपछि भ्यू टावरमा चढ्ने पालो आयो कहिले घाम, कहिले छाया भन्दै चारतिरको माया चाखेर हिँड्ने मने कम्रेडको । रोल्पामा उबेला आफू बास बसेका घरमा केटाकेटीलाई पापा मात्रै लगेको भए कति खुशी हुन्थे ! तर भुईंतिरको पापा, चाचा, नाना र छानामा भन्दा उनलाई पनि टावरकै टुप्पोले तान्यो । टुप्पोमा पुगेर हेर्दा त रुखभन्दा माथि सूर्य नै छ ! गर्मीयामको रापिलो, तापिलो सूर्य । रुखमा अड्केको झण्डा त के, रुख नै सुकाउने हो कि भन्ने डर । त्यसमाथि रुखकै मालिकले सूर्यलाई कमजोर नठान्नु भनेका । सूर्यको अघिल्तिर पुरानो र बलियो रुख त बेलाबेला झस्किन्छ, आफ्नो त झण्डा नै पातलो । रुखले हाँगो दिएन भने झण्डा फरफराउने ठाउँ पाउन समेत मुस्किल । धन्न रुखले हाँगो दिन्छु भनेको छ । त्यो हाँगो अझै अग्लो बनाएर त्यसमाथि लामो झण्डा टाँग्न सकियो भने त सूर्यलाई छेक्न सकिन्छ कि भन्ने आश पलायो । मुख मिठ्याउँदै मने कम्रेड तल झरे । 

खै खै म पनि हेरौं भन्दै थरवाला नेपाल अघि सरे । आहा कति चम्किलो सूर्य ! बेलाबेला ग्रहण लागे पनि कस्तो तेज ! गर्मीयाम, त्यसमाथि सूर्यको राप ! यही राप र तापमा जनताले छाप लगाए त बिरोधी सबै पत्तासाफ ! हैट यो त आफ्नो पार्टीको चुनाव चिन्ह हैन क्यारे । उहिले पो आफ्नो थियो, अहिले त पराइको । उतिबेला यही सूर्य देख्दा र सम्झंदा कस्तो गर्व लाग्थ्यो । अहिले त सम्झ्यो कि रीस मात्रै उठ्छ । जसले जे भने पनि यो चैते घाममा, गर्मीयाममा सूर्यभन्दा रुख नै शीतल । रुख पनि कमको छैन । पालुवा पलाएर जताततै हरियाली भएको बेला । रुख बलियो हुँदा उसलाई त फलिपाप छ नै, यही रुखको बलियो हाँगा समात्न सकियो भने आफ्नो लिखुरे कलम पनि मोटो होला भन्ने आश छ । अरु केही गर्न नसके पनि सूर्यलाई मात्र छेक्न सकियो भने पनि गज्जब हुन्छ । सूर्यमा ग्रहण लागेको सपना देख्दै थरवाला नेपाल भ्यूटावरबाट ओर्लिए र रुख पार्टीका मूलीलाई ठाउँ छोड्दे । 

यस्ता भ्यूटावरभन्दा त आफ्नै रुख अग्लो । ठिकै छ भ्यूटावर नै बनाउनुछ भने पनि किन भुईंमा बनाउने ? बनाइसकेपछि रुखमै बनाउने ! उनले हतारहतार डाँडामाथिको अग्लो रुखको टुप्पोमा भ्यूटावर बनाउन लगाए र हेलिकोप्टर चढेर भ्यूटावरको टुप्पोमा पुगे । टुप्पोमा पुग्नेबित्तिकै हपहपी गर्मी भयो । ओहो कस्तो रापिलो सूर्य । सूर्यलाई सबै मिलेर छेक्न खोजे पनि अझै चम्कन छोड्दैन । अरुले त कमजोर भन्छन्, तर आफूलाई सूर्य कमजोर भए जस्तै लाग्दैन । तर यो गर्मीमा मान्छेले रुखकै शीतल खोजेका छन् । उ त्यहाँ पनि सबै मान्छे रुखकै शीतलमा बसेका छन् । अरु त अरु पहिले सूर्य मेरो भन्नेहरु पनि रुखकै हाँगा समात्न आइपुगेका छन् । यिनीहरुले अलिअलि बल गरे भने त त्यस्ता जाबो घाम मज्जाले छेलिन्छ । यिनीहरुले समातेको हाँगो पछि भाँचिदिने र सूर्यलाई पनि छेक्न सकिने हो भने यस्ता जाबा भ्यूटावर त कति बनाइन्थ्यो कति ! त्यो पनि रुखका हाँगाहाँगा र पातपातमा !

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया