ललितपुरमा लाखेको संस्कृति झल्काउने 'डिजिटल आर्ट' प्रदर्शनी

 चैत २५, २०७८ शुक्रबार १०:६:२० | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा मजिपा लाखे नाच इन्द्रजात्राको अवधि आठ दिनसम्म नचाइने चलन छ । मजिपा लाखे कुमारीको रथयात्रा गर्दा देवीलाई बाटो देखाउनको लागि रथको अघि–अघि नाच्दै–नाच्दै हिँड्ने गर्दछ ।

शान्त भैरवको रूपमा पुजिने लाखेको स्वरूप रातो राक्षसको मुखौटा लगाएको, डरलाग्दो अनुहार भएको, रातो लामो कपाल भएको, च्यातिएको ठूलो मुखबाट निस्केका दुईवटा दाह्रा, तासको जामा (पछाडिपट्टि षट्कोण लेखिराखेको) र लुगा लगाएको, हातको औँलामा लामा–लामा नङ्ग्रा भएको, कमरमा ठूला–ठूला घङ्गला र रातो पटुका बाँधेको हुन्छ ।

भाषा वंशावलीमा लाखे नाचको चलन कान्तिपुरका राजा गुणकामदेवले सुरु गर्नु भएको भन्ने उल्लेख छ।

मजिपा लाखेका सम्बन्धमा उपत्यकामा प्रचलित किंवदन्तीमा  आधारित रहेर शताब्दी पुरूष सत्यमोहन जोशीले मजिपा लाखे नामक नाटक लेख्नु भएको छ । सन् २०१० मा शताब्दी पुरूष जोशी बेलायतको लण्डनमा पुग्नुभएको समयमा मजिपा लाखेको संस्कृति राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रासँग पनि जोडिएको उल्लेख गर्नुभएको थियो। उहाँले लाखेको बारेमा चलचित्र निर्माण गर्न सकिएको खण्डमा यसको ऐतिहासिकताको बारेमा जनमानसमा प्रचार गर्न सजिलो हुने बताउनु भएको थियो।

जोशीको भनाइबाट प्रेरित भएर बेलायतमा बस्नु हुने कलाकार संयुक्त श्रेष्ठले विगत ६ वर्षदेखि उपत्यकामा लाखेको संस्कृतिको आगमनलाई उजागर गर्ने उद्देश्यसहित एनिमेशन चलचित्र बनाइरहनु भएको छ। लाखेको स्थानीय युवतीसँगको प्रेम, भक्षकका रूपमा आगमन भएको लाखे कसरी रक्षक हुन पुग्यो भन्ने उपत्यकामा प्रचलित मिथलाई विषयवस्तु बनाएर श्रेष्ठले लाखे नामक एनिमेशन चलचित्र बनाइरहनु भएको छ।

लाखे एनिमेशन चलचित्रमा समावेश भएका डिजिटल चित्रहरूलाई समेटेर कलाकार श्रेष्ठले 'आर्ट अफ लाखे' नामक डिजिटल प्रदर्शनी गर्नुभएको छ। प्रदर्शनीमा २० वटा डिजिटल चित्रहरू समावेश गरिएका छन्। गएको शनिवार सुरू भएको प्रदर्शनी आज शुक्रवार बेलुकी ६ बजेसम्म ललितपुरको चाकुपाटमा रहेको क्लासिक ग्यालरीमा सञ्चालन हुनेछ।

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया