पूर्वप्रधानमन्त्री ओलीलाई विश्व स्काउटकाे 'मेधावी याेगदान पदक'

 वैशाख १, २०७९ बिहीबार १८:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएकाे छ । नेपाल स्काउटले आज बिहीवार आयोजना गरेकाे कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई त्याे पदक प्रदान गरिएको हो । 

प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएकाे योगदानको कदर गर्दै ओलीलाई त्याे पदक प्रदान गरिएको हो । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर देशका लागि पूर्वप्रधानमन्त्री ओलीले दिनुभएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताउनुभयो । 

पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान् समाज निर्माणमा अग्रसर हुनुपर्ने बताउनुभयो । स्काउटलाई अप्ठ्याराका साथीका रूपमा उहाँले चित्रण गर्नुभयो । 

कार्यक्रममा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा. गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली त्याे पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ । नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । प्रधानमन्त्रीकै रूपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराउनुभएको थियो । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना सात सय ५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भइ देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया