२ चोक्टा मासु र १ गिलास रक्सीमा नबिक्नु होला : डा. भट्टराई

 बैशाख ६, २०७९ मंगलबार १८:१४:५२ | किरण लोहनी
unn.prixa.net

गोरखा – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सोचेर मत दिन मतदातालाई आग्रह गर्नुभएको छ । पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न गोरखा आउनुभएका नेता भट्टराईले पटक–पटक सत्तामा पुगेका दलहरूलाई फेरि भोट दिएर गल्ती नगर्न मतदातालाई आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘जनतालाई लुटेर, अकुत सम्पत्ति कमाएर, छोराछोरी विदेशमा पढ्न पठाएर ठूला सहरमा मोजमस्ती गरेर बसेकाहरू चुनावमा फेरि भोट माग्न आउनेवाला छन् । दुई चोक्टा मासु र एक गिलास रक्सीमा नबिक्नु होला, एक पटक झुक्किनु स्वाभाविक हो तर पटक–पटक झुक्किनु तपाईँकै गल्ती हो ।’ 

कार्यक्रममा नेता भट्टराईले सत्ता गठबन्धनभित्रका दलबीच अवस्थाअनुसार छुट्टाछुट्टै चुनावी तालमेल हुन सक्ने बताउनुभयो । उहाँले महानगर र उपमहानगरबाहेक अन्य पालिकामा आफ्नो अनुकूलतामा तालमेल हुन सक्ने बताउनुभएको हो । महानगरपालिका र उपमहानगरपालिकाको भागबनडा केन्द्रीय संयन्त्रले लगभग टुङ्गो लगाएको बताउँदै उहाँले भन्नुभयो, ‘त्योभन्दा तलका पालिका र वडामा आवश्यकता र औचित्यका आधारमा गठबन्धनभित्र जोसँग मिल्छ उसैसँग गठबन्धन गर्ने कुरा भएको छ ।’ सत्ता गठबन्धनबाहिरका दलसँग भने चुनावी तालमेल हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । 

सभालाई सम्बोधन गर्दै नेता भट्टराईले अहिलेको संविधान अपूरो रहेकाले संशोधन आवश्यक रहेको बताउनुभयो । 

यस्तै कार्यक्रममा बोल्दै पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले नेपालको चुनाव महँगो हुँदै गएको बताउनुभयो । अहिलेको संसदीय प्रणालीका कारण चुनाव महँगो हुँदै गएको उहाँको भनाइ छ । अहिलेको चुनाव प्रणालीकै कारण किसान, मजदुर, निम्न आय भएका वर्ग आर्थिक अभावमा  चुनावमा प्रतिस्पर्धामा आउन सक्ने अवस्था नरहेकाले पार्टी र उम्मेदवारले खर्च गर्नुनपर्ने समावेशी चरित्रको समानुपातिक चुनाव प्रणाली अपनाउनुपर्ने उहाँको सुझाव छ । 

नेता यादवले अहिलेको संसदीय प्रणालीले राजनीतिक स्थिरता कायम हुन नसक्ने भन्दै त्यसैका कारण सांसद खरिदबिक्रीको बजार लाग्ने गरेको टिप्पणी पनि गर्नुभयो । शासकीय स्वरूप, संसदीय प्रणाली, चुनाव प्रणाली र न्याय प्रणाली परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया