रसुवागढीमा निर्माणाधीन एकीकृत जाँच चौकीको काम अबकाे १ वर्षभित्र सक्ने लक्ष्य

 बैशाख ६, २०७९ मंगलबार २०:१८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाकामा छरिएर रहेका कार्यालयहरूलाई एकै ठाउँमा राख्नका लागि निर्माण थालिएको एकीकृत जाँच चौकी (आईसीपी) को निर्माणले गति लिएको छ । अबको एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको हो । अहिलेसम्म आईसीपी निर्माणको ६८ प्रतिशत काम सकिएको छ । भवन पाँच तलाको हुनेछ । यसमा भन्सार, अध्यागमन, क्वारेण्टीन र सुरक्षा निकाय रहने छन् । भवन निर्माणपछि जाँच/पास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुनेछ । 

आउँदो चैतसम्ममा निर्माण सम्पन्न गर्ने समयसीमा भएकाले कामलाई तीव्रता दिइएको श्यामसुन्दर रबिना जेभी कन्ट्रक्नशका प्रोजेक्ट म्यानेजर योगेन्द्र तुम्बाहाङफेले बताउनुभयो । तर तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न हुने देखिँदैन । सुपर स्ट्रकचरको काम सक्न झन्डै एक वर्ष लाग्नेछ । 

२०७५ सालकाे पुसदेखि आईसीपीको निर्माण सुरु भएको थियो । आईसीपी निर्माणको ठेक्का पाएको श्यामसुन्दर रबिना जेभी कन्ट्रक्नशले सँगै सशस्त्र प्रहरी बलको भवनको काम पनि गरिरहेको छ । आईसीपी भवनको पहिलो तलाको ढलान गर्ने काम चलिरहेको उहाँले बताउनुभयो । अहिले त्यहाँ ४८ जना कामदारले काम गरिरहेका छन् । 

२०७५ पुसदेखि निर्माण सुरु भए पनि कामले गति लिन सकेको थिएन । अहिले भने आईसीपी निर्माणले गति लिएको छ । कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाइ, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण निर्माण कार्य सुस्त भएको थियो ।

निर्माण प्रक्रिया सुरु भएपछि आफूले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुस १९ मा सर्वोच्च अदालतमा रिट हालेको थियो । अदालतमा परेको रिट निवेदन २०७५ जेठ २४ मा खारेज भएको थियो । न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेपछि निर्माणको काम सुरु भएको थियो । सम्झौताअनुसार २०७७ असार २५ मा भवन निर्माण गरिसक्नुपर्ने थियो ।

विभागका अनुसार आईसीपीकाे काम सक्न ६१ करोड ९८ लाख ६८ हजार ७५ रुपैयाँ खर्च हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया