“बेखाचा” र “आशामरु” हरु सधैँ जन्मिँदैनन्

 बैशाख १०, २०७९ शनिबार १२:९:१ | कुमार रञ्जित
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै “हल्लै हल्लामा उड्ने सहर हो” भन्नेहरुको यहाँ कमि छैन। उपत्यका बाहिरबाट विभिन्न कामका सन्दर्भमा आएर यहाँ डेरामा बस्नेहरु र नयाँ बसाइँसराइ गर्नेहरुका लागि मात्रै होइन, यहीँ जन्मेर हुर्केर जीवनयापन गरिरहेका रैथानेहरुलाई पनि कहिलेकाहीँ त्यस्तै हो कि जस्तो लाग्ने गर्दछ। पालिकाको चुनाव सन्निकट छ। यस्तोमा सजिलै प्रस्तुत हुने “फेसबुके उम्मेदवार” बन्नेहरुको लस्कर देख्दा र उनीहरुका कुरा पढ्दा पनि हल्लामै उडाउने खालको देखिन्छ। केही गर्नै नपर्ने र बोली दिए पुग्नेहरुका लागि त अहिले “फेसबुके प्रतिबद्धता” स्टाटसमा लेख्न के गाह्रो भो र ? यस्तो माहोलमा काठमाण्डाैका रैथानेहरुले अत्यन्तै माया गरेर केही प्रतिबद्धता नै नमागिकन जनताले नै उम्मेदवारी दर्ता गराइदिएर अत्यधिक मतदान गरेर जिताएर सेवा लिएका इतिहासका पानामा धुमिल दुई नमुना जनप्रतिनिधिहरुको स्मरण गर्नु सान्दर्भिक देखिन्छ । 

यतिबेला काठमाण्डाै महानगरपालिका अन्तर्गतको २१ नम्बर वडाका बासिन्दाले यहाँका मेयर विद्या सुन्दर शाक्य दुई पटक वडाध्यक्ष भइसकेको आफ्ना वडामा ३०–४० को दशकका चर्चित वडा सदस्य बेखा महर्जनलाई सम्झिरहेका छन्। कुनै जमानामा नेपाली रङ्गमञ्चका सर्वाधिक लोकप्रिय नायक बेखाले “सुधारिएको पञ्चायती व्यवस्था” अन्तर्गत काठमाण्डाैका २१ नम्बर वडामा २ कार्यकाल जनताबाट निर्वाचित भएर सेवा प्रदान गर्नुभएको थियो। उहाँ २०३८ र २०४४ सालमा सम्पन्न बालिग मताधिकारबाट निर्वाचित भएर नगर सभासद अर्थात न.स.स हुनुभएको थियो। 

नेपालभाषाका मौलिक साथै हिन्दी सिनेमाका गीतलाई त्यही लयमा नेपालभाषाबाट उल्था गरेर गाउन सिपालु बेखा महर्जन “बेखाचा” नामबाट चर्चित हुनुहुन्थ्यो। यङ्गाल टोलका बेखाचालाई २१ वडावासीले यति माया र विश्वास गर्थे कि उहाँले कहिल्यै “म उम्मेदवार बन्छु” भन्नै परेन। वडा अन्तर्गतकै लगन र भोटेबहाल क्षेत्रका मतदाताले दुवै पटक अत्यधिक बहुमतबाट विजयी मात्रै तुल्याएनन्, सिन्दुर जात्रा समेत गरेर टोल–टोलमा घुमाए। उहाँ नसस हुँदाका वडाध्यक्ष जोशीदेवलका जुजुकाजी तण्डुकारका अनुसार बेखा आफ्ना वडावासीका घर–घरमै पुगेर आवश्यक सेवा दिनुहुन्थ्यो। प्रत्येक पटकका भेटघाट कार्यक्रमहरुका आफ्नो सुरिलो स्वरमा गीत पनि गाउनु हुन्थ्यो। इन्द्रजात्रा र गाईजात्रा जस्ता राष्ट्रिय पर्वहरुमा त बेखाचा “सुपर स्टार” नै हुनुहुन्थ्यो। 

आठ दशक लामो जीवन यात्रामा बेखाचाले आफ्नो लोकप्रियता र समाजसेवालाई व्यापारको वस्तु बनाउनु भएन। काठमाण्डाैको परम्परागत रङ्गमञ्चीय “दबू प्याखं” युगका ती नायकले एक दशक अगाडि धर्ती त्याग गर्दा एकान्त र शान्त थियो। बल्खुमा भएको एउटा घर पनि बिक्री भइसकेको थियो। उहाँका एक छोरी विदेशमा छन् भने अन्य सन्तानहरु जीवनयापनका लागि अझै सङ्घर्षरत छन्।

त्यस्तै अर्का पात्र हुनुहुन्थ्यो, काठमाण्डाै नगरका २३ नम्बर वडा अन्तर्गत ॐ बहाः टोल, जोरगणेशस्थानभित्र चोकका आशामरु शाक्य। उहाँ पनि २०३८ र ०४४ सालमा सम्पन्न बालिग मताधिकारबाट निर्वाचित भएर न.स.स. नै हुनुभएको थियो। परिवार नभएका एक्ला आशामरु आफ्ना वडावासीका सेवामा घर–घरमै पुग्ने गर्नुहुन्थ्यो। प्रत्येक चाडपर्व र वडावासीका शुभकार्य र भोजभतेरमा रातदिन खटेर काम गरिदिने आशामरुको बानी र मिठो पकाउने खुबीले गर्दा स्थानीय जनताले आफ्ना निकट र भरोशायोग्य जनप्रतिनिधि हुन लायक पात्र बनाए। आशामरु स्थानीय नेवाः परिकार बनाउन सिपालु हुनुहुन्थ्यो। उहाँले कयौँ आफ्ना निकट मित्रहरुलाई “तःखाः” र “सन्याखुना” जस्ता मौलिक परिकार बनाउन पनि सिकाउनु भयो। त्यतिबेला आशामरुका निकट मध्येका एक शुभरत्न शाक्यका अनुसार सरल र इमान्दार व्यक्तित्व भएकै कारण आशामरुले चुनावमा आफू उम्मेदवार हुन विज्ञापन र कुनै प्रकारका शीर्षकमा खर्च गर्नु परेन। 

बेखाचा र आशामरु दुई यस्ता पात्र हुनुहुन्थ्यो, जसले मतदातालाई हर प्रकारले सेवा पुर्याउनुभयो। मतदाताले पनि उहाँहरुलाई मतदान गर्नुअघि कुनै प्रश्न गर्नु परेन। योग्यता, दक्षता र जनताका घर–घरमा पुग्ने इमानदारिता भयो भने जनताको विश्वास जित्न सकिन्छ भन्ने यी दुई ऐतिहासिक पात्रहरुको सन्देश थियो। बेखाचा र आशामरु जस्ता पात्रहरु हरेक समाजमा जुनसुकै बेला नहुन सक्दछन्। बेखाचा र आशामरुहरु सधैँ जन्मिँदैनन्। तथापि वर्तमानमा ललितपुर महानगरपालिका अन्तर्गत वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकार पनि त्यस्तै पात्र मध्येका एक हुनुहुन्छ, जसलाई वृद्धावस्थामा पनि जनताले आफ्ना जनप्रतिनिधिबाट वञ्चित गर्न चाहँदैनन्। उहाँलाई कुनै प्रचार सामग्रीको जरुरी पर्दैन। त्यसैले जनताका मनमा बस्न सक्ने प्रतिनिधि पात्र बन्ने कोसिसबाट कुनै आकाङ्क्षी टाढिनु हुँदैन। त्यसका लागि आकर्षक नारा मात्रै पर्याप्त हुँदैन। 

यतिबेला पालिका चुनावका लागि उम्मेदवारी दाबी गरिरहँदा र उम्मेदवार छनोट भइरहँदा मतदाताप्रति जिम्मेवार हुने र सेवादायक प्रतिनिधि हुने पक्ष बिर्सेर ठूल्ठूला योजना अघि सार्ने प्रवृत्ति बढ्दो छ। त्यस्तो प्रवृत्तिले स्थानीय चुनावमा जनतालाई सही सेवक प्रतिनिधि छान्न अल्मल्याइरहेको देखिन्छ। जनताको मन जित्ने कार्य गर्नेतर्फ ध्यान पुर्याउनेहरुले आकर्षक नारा मात्रै दिँदैनन्, व्यवहारमा पनि सदा जनताका मनमा बस्ने कार्य गर्नेछन् भनेर “बेखाचा” र “आशामरु” हरुले शिक्षा दिएर गएका छन्।

अन्तिम अपडेट: बैशाख १२, २०७९

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया