भोलिदेखि जहाज नउडाउने आन्तरिक वायुसेवा कम्पनीको चेतावनी, स्लट र समय सच्याउन माग

 वैशाख १५, २०७९ बिहीबार १७:२८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आन्तरिक वायुसेवा कम्पनीले भोलि रातिदेखि उडान बन्द गर्ने चेतावनी दिएका छन् ।

१८ घन्टा विमानस्थल सञ्चालन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिका र स्लट सार्वजनिक गरेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले त्यसलाई कार्यान्वयन नगर्ने र जबरजस्ती गरिए भोलिदेखि सबै उडान बन्द गर्ने चेतावनी दिएको हो ।

विविध प्राविधिक कारणले तत्कालको लागि राति आठ बजेपछि नियमिततर्फका उडान गर्न सक्ने अवस्था नरहेको जानकारी गराउँदा गराउँदै पनि प्राधिकरणले बुधवार नयाँ स्लटको व्यवस्था गरेर पत्र पठाएको भन्दै सङ्घले आपत्ति जनाएको छ ।

प्राधिकरणले दिएको स्लट र तालिका तत्कालै कार्यान्वयन गर्न नसकिने र यसको लागि केही समय माग गरिए पनि प्राधिकरणले एकतर्फी निर्णय लाद्न खोजेकाले समस्या भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

प्राधिकरणले व्यावहारिक पक्ष नै नहेरिकन एकैपटक राति १२ बजेसम्म उडान गर्न भन्दै नयाँ तालिका र स्लट दिएकाले बाध्य भएर उडान बन्द गर्ने चेतावनी दिनुपरेको उहाँको भनाइ छ ।

‘हामीले पहिले नै बुकिङ लिइसकेका यात्रुले के गर्ने, रातिको १२ बजे उडान हुने यात्रुले कसरी विमानस्थल आउजाउ गर्ने लगायतका व्यावहारिक कुरा हेरिएको छैन, त्यसैले समय मागिएको हो’ बर्तौलाले भन्नुभयो । 

सङ्घले वैशाख ३ गतेकै स्लट सम्बन्धी व्यवस्थाअनुसार उडान अनुमति दिन माग गरेको छ । स्लट संशोधन नभएसम्मका लागि सबै उडान स्थगित हुने सङ्घले चेतावनी दिएको छ । प्राधिकरणले रात्रिकालीन उडान हुने विमानस्थलमा  भोलिदेखि दैनिक १८ घन्टा उडान गर्ने निर्णय गरिसकेको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया