गठबन्धन गरेर प्रतिगमनविरुद्ध सङ्घर्ष नगरेकाे भए देश दुर्घटनामा परिसक्थ्याे : प्रचण्ड

 वैशाख २५, २०७९ आइतबार १६:५७:४० | रासस
unn.prixa.net

कास्की – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युगको सुरुवात यही गठबन्धनबाटै गर्ने सङ्कल्प लिइएको बताउनुभएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनले आज आइतवार पोखरामा आयोजना गरेको चुनावी सभामा उहाँले यस्तो दाबी गर्नुभएको हो । 

संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीको रक्षाका लागि गठबन्धनको जन्म भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन गरेर प्रतिगमन र प्रतिक्रान्तिकारीका विरुद्ध सङ्घर्ष नगरेको भए देश दुर्घटनामा परिसक्थ्यो भन्नुभयो । 

उहाँले भन्नुभयो, ‘देशलाई प्रतिगमन र निरङ्कुशताबाट बचाउन नै यो गठबन्धनको जन्म भएको हो ।’ देशका छ महानगर र ११ उपमहानगरमा गठबन्धनका साझा उम्मेदवार छान्न सजिलो नभए पनि सबैले देशको समग्र राजनीतिक स्थितिलाई विचार गरेर नेपालीको भाग्य र भविष्यप्रति इमानदार भएर निर्णय गरिएको उहाँको दाबी छ ।  

अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आउँदो प्रदेश र सङ्घीय चुनावसम्म कायम रहने बताउनुभयो । उहाँले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने प्रयास भएका भन्दै उहाँले गठबन्धनको निरन्तरतामा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्र, संविधान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गठन्धनलाई विभाजित गर्ने षड्यन्त्र भइरहेका छन्, गठबन्धनका शक्तिहरूले धेरै मेहनत र अप्ठ्यारोसँग जुधेर अहिलेको गठबन्धनलाई अघि बढाउनुपर्दछ, पालिका चुनावमा मात्र होइन, भोलि प्रदेश र सङ्घीय चुनावसम्म लैजानु आवश्यक छ ।’

गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन उहाँले मतदातासमक्ष आग्रह गर्नुभयो । वैशाख ३० गतेको पालिका चुनावमा पोखरा महानगरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य मेयरको र र नेपाली कांग्रेसका कोपिला रानाभाट उपमेयरको उम्मेदवार हुनुहुन्छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया