पालिका चुनाव : जुम्लामा १७ सय २१ सुरक्षाकर्मी परिचालन

 बैशाख २६, २०७९ सोमबार ९:३१:४८ | नेत्र शाही
unn.prixa.net

जुम्ला -  जुम्लामा चुनावकाे सुरक्षाका लागि एक हजार सात सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने पालिकाको चुनावलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउन लागि आवश्यक सुरक्षाकर्मी खटाएकाे हाे । 

चुनाव सुरक्षामा नेपाल प्रहरी ४ सय ३२ ,नेपाली सेना ३ सय ५०, सशस्त्र प्रहरी दुई सय ७० र ६ सय ६९ जना म्यादी प्रहरी परिचालन गरिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन गरेर तथा स्थलगत निरीक्षणको काम गरिरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भयाे । उहाँले भन्नुभयाे,‘चुनावी गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाका लागि जनशक्ति खटाइएको छ।'

यस्तो हुनेछ सुरक्षाको तीन घेरा 

चुनाव सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ । चुनावको सुरक्षा चुनौती आकलन गर्दै चारै वटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् । 

चुनाव निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । केही सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइँले बताउनुभयाे । उहाँले भन्नुभयाे 'मर्यादित चुनावको महत्त्वपूर्ण सर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।' 

नेपाली सेनाको नन्दबक्स गणका गणपति रबिन थापाले जुम्लाका आठवटै पालिकामा  नेपाली सेना परिचालन भएको बताउनु भयाे । उहाँले चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले  सेनाले सुक्षाको लागि कुनै पनि कसर बाँकी नराखि काम गर्ने बताउनुभयाे । चुनावकाे सुरक्षाका लागि तीन वटा सुरक्षा टाेली नै परिचालन गरिएको र अनुगमन समेत भएको उहाँले बताउनु भयाे । 

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर ३३ गण जुम्लाका एसपी  चित्रङ्गत  दाहालले शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गराउने विषयमा जिल्लामा रहेका सबै सुरक्षा निकाय योजनाबद्ध तरिकाले लागेको बताउनु भयाे । उहाँले भन्नुभयाे,‘मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने अवस्था तयार पार्ने गरी सुरक्षा रणनीति बनाइएको छ।'

भाैगोलिक हिसाबले विकट ठाउँमा रहेका मतदान स्थल, हुन सक्ने झडप, भिडभाड लगायतकाे अवस्थालाई आकलन गरेर जुम्लाको सुरक्षा संयन्त्र विशेष योजना बनाएरै अगाडि बढेको दाहालले बताउनु भयाे । चुनावको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभाग रहने उहाँले बताउनुभयाे । 

यसैगरी जिल्ला प्रहरी कार्यालयले मातहतका सबै कर्मचारी र म्यादी प्रहरीलाई चुनाव सुरक्षा अनुशिक्षण तालिम दिएर पठाएको छ । प्रहरी नायब उपरीक्षक चन्दका अनुसार चुनाव स्वच्छ, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रहरीलाई तालिम प्रदान गरिएकाे हाे। 

यसैगरी चुनावमा २०४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ४९६ जना कर्मचारी समेत मुख्य चुनाव कार्यालयमा खटाइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया