म्याग्दीमा ६० प्रतिशत मतदान, चुनाव शान्तिपूर्ण

 बैशाख ३०, २०७९ शुक्रबार १६:५३:३१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पालिका चुनावअन्तर्गत आज (शुक्रबार) जारी मतदानमा दिउँसो ४ बजेसम्म म्याग्दीमा ६० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार बिहान ७ बजेदेखि जारी मतदानमा अहिलेसम्म जिल्लाभर ६० प्रतिशतको हाराहारीमा मतदान भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान प्रक्रियामा सर्वसाधारण, नागरिकहरुले उत्साहपूर्ण तरिकाले सहभागिता जनाएका छन् । जिल्लाको केही मतदास्थलमा वारिसेको नाममा राजनीतिक दलहरुबीच सामान्य विवाद भए पनि निर्वाचन प्रक्रिया भने शान्तिपूर्ण रुपमा चलिरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र प्रभावकारी बनाइएको हुँदा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया चलिरहेको स्थानीय प्रशासनले जनाएको छ । म्याग्दीका सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक, गर्भवती महिला, बिरामी तथा किरियापुत्रीलाई मतदान गर्नका लागि प्राथमिकता दिएर मतदानको कार्य भैरहेको छ । निर्वाचनमा ५ सय ६१ जना कर्मचारी र शिक्षक तथा १ हजार ४ सय ४७ जना सुरक्षाको जनशक्ति परिचालन गरिएको छ ।

म्याग्दी जिल्लामा जम्मा ७४ ओटा मतदानस्थल र १ सय १४ ओटा मतदान केन्द्र रहेकोमा स्थानीय तह निर्वाचनका लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन् । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कुल २ सय ३७ पदको लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावमा उठेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया