जुम्लामा भोट नहालेको भन्दै बन्धक बनाइ कुटपिट, घाइतेलाई अस्पताल पुर्‍याइयाे

 जेठ १, २०७९ आइतबार १६:३७:४७ | नेत्र शाही
unn.prixa.net

जुम्ला –  जुम्लामा भोट नहालेको भन्दै वडाध्यक्षका उम्मेदवारले दुई जनालाई कुटपिट गरेका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ८  नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुपबहादुर रोकायाले भोट नहालेको र धोका दिएको भन्दै त्यही वडाका कुमार बिक्रम शाही र कमल बोहरालाई कुटपिट गरेका छन् । 

वडाध्यक्षका उम्मेदवार रोकाया सहितले कुटपिट गरेर चन्दननाथ ८ कोटिला गाउँ निवासी स्थानीय कुमार शाही घाइते भई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । वडाध्यक्षका उम्मेदवार रोकायाले आफूलाई उनका भाइ कृष्ण रोकाया, त्यही वडाका वसन्त धराला, देवि धराला, बिर्ख रोकाया सहितका व्यक्तिले सामूहिक रुपमा कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 

वडाध्यक्ष उम्मेदवार रोकायाले फोन गरेर काम छ भन्दै आफू सहित चार जना लिएर उमगाडमा कुटपिट गरेका र पछि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामूहिक रुपमा कुटपिट गरेका भन्दै प्रहरीमा उजुरी परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार घाइते कुमार विक्रम शाहीलाई उपचारकाे लागि अस्पतालमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेकाे उहाँले बताउनुभयाे ।
   
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया