डोटीका छ स्थानीय तहको मत परिणाम सार्वजनिक, कांग्रेस अग्रस्थानमा

 जेठ ३, २०७९ मंगलबार ८:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी - डोटीका नौ वटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौँकी गाउँपालिका र सायल गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । 

बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिलाले दुई हजार ५८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका विष्नादेबी बमले दुई हजार ६३ मत ल्याएर निर्वाचित हुनु भएको छ । यस गाउँपालिकाका अन्तरगतका जम्मा ७ वडा मध्ये नेकपा (एमाले) ले २, नेपाली कांग्रेस ३ र नेकपा (माओबादी केन्द्र) ले २ वटा वडामा वडाअध्यक्ष पदमा जित हासिल गरेका छन् ।

उता बडिकेदार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउद निर्वाचित हुनु भएको छ । अध्यक्ष पदमा निर्वाचित साउदले दुई हजार ३४३ मत प्राप्त गर्नु भएको छ । यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले २ हजार ४०७ मत ल्याएर निर्वाचित हुनु भएको छ । 

यस गाउँपालिका अन्तरगतका जम्मा ६ वडा मध्ये नेकपा एमालेले २, नेपाली कांग्रेस २ र नेकपा माओबादी केन्द्रले १ वटा वडामा वडा अध्यक्ष पदमा जित हासिल गरेका छन् ।

यसैगरी डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका दुर्गादत्त ओझाले ३ हजार ४४९ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएको हो । 

उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ले ३ हजार ५ सय ९९ मत प्राप्त गरी विजयी हुनभएको हो । यस गाउँपालिकाका अन्तर्गतका जम्मा ६ वडा मध्ये नेकपा एमालेले ४, नेपाली कांग्रेस २ वटा वडामा वडाअध्यक्ष पदमा जित हासिल गरेका छन् ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार बन्नु भएका गणेशबहादुर खड्काले ३ हजार ७ सय ७३ मतसहित अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । उपाध्यक्षमा ३ हजार ६७४ मतसहित कांग्रेसकी लक्ष्मी रोकाया विजयी हुनुभएको छ । 

यस गाउँपालिका अन्तर्गतका जम्मा ७ वडा मध्ये नेकपा एमालेले ३, नेपाली कांग्रेसले ४ वटा वडाको वडाअध्यक्ष पदमा जित हासिल गरेका छन् । पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेस विजयी भएको छ । 

५ हजार १ सय ३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित हुनु भएको छ भने ४ हजार ७२४ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित हुनु भएको छ । 

यस गाउँपालिका अन्तर्गतका ७ वटै वडाको वडाअध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । यसैगरी सायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । 

३ हजार २४३ मत ल्याएर अध्यक्षमा कांग्रेसका धर्मराज जोशी विजयी हुनु भएको छ भने २ हजार ९ सय ३७ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी निर्मला बोहरा ओली निर्वाचित हुनुभएको छ । यस गाउँपालिकाका अन्तर्गत जम्मा ६ वडा मध्ये नेकपा एमालेले १, नेपाली कांग्रेसले ५ वटा वडाको वडाअध्यक्ष पदमा जित हासिल गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया