म्याग्दीको अन्नपूर्णमा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार ११:११:३१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार एमालेका उम्मेदवार भरतकुमार पुन (भारत)ले ४ हजार ५८ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।

अध्यक्षमा विजयी पुनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका क्याप्टेन बलबहादुर तिलिजाले ३ हजार ३ सय १७ मत पाउनुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले बताउनुभयो ।

यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकै उम्मेदवार दिवाकुमारी तिलिजा पुनले ४ हजार १५ मतसहित विजयी हुनुभएको उहाँले जानकारी दिनुभयो ।

उपाध्यक्षमा विजयी पुनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ललिता तिलिजाले ३ हजार ३ सय ५८ मत पाउनुभएको छ ।

जम्मा ८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा एमालेले ५ वटा वडा र कांग्रेसले ३ वटा वडामा प्यानल जितेका छन् ।

पालिका तह चुनावका लागि कुल १२ हजार २६ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा गएको शुक्रबार सम्पन्न चुनावमा ७ हजार ८ सय ३ अर्थात् ६४ प्रतिशत मत खसेको थियो ।

अन्नपूर्णको जम्मा ४२ पदका लागि विभिन्न राजनीतिक दलबाट गरी ९८ जना उम्मेदवारहरुले चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

अन्नपूर्णसहित ६ वटा पालिका रहेको म्याग्दीमा सबै पालिकाहरुको मतपरिणाम सार्वजनिक भैसकेको छ ।

सार्वजनिक मतपरिणामअनुसार एमालेले बेनी नगरपालिकामा मेयरसहित अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेको छ । नेपाली कांग्रेसले रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा धवलागिरि गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले बेनी नगरपालिकाकाे उपमेयर तथा धवलागिरिको उपाध्यक्षमा विजयी भएको छ हाे ।

एक नगरपालिका, ५ वटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा एमालेले ४ वटा पालिकासहित २२ वटा वडा, कांग्रेसले २ वटा पालिकासहित १७ वडा र माओवादीले २ पालिकाको उपप्रमुखसहित ६ वटा वडामा चुनाव जितेको छ । जिल्लाभर कुल २ सय ३७ पदका लागि विभिन्न दलबाट ७ सय १९ जना उम्मेदवारले चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया