चन्द्रबहादुर : जुन कार्यालयमा सहयोगी भएर काम गरे त्यही वडाकाे वडाअध्यक्ष

 जेठ ६, २०७९ शुक्रबार ९:५८:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - चन्द्रबहादुर गुरुङ झन्डै पाँच वर्ष दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ को कार्यालय सहयोगी पदमा कार्यरत हुनुभयो ।

२०७४ को पालिका चुनावमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि चन्द्रबहादुर गुरुङ कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थाल्नु भएको थियो । कार्यालय सहयोगीको पदबाट राजीनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिनु भएका चन्द्रबहादुर कार्यालय सहयोगी भएर काम गरेको कार्यालयको वडा अध्यक्ष बन्नु भएको छ ।

नेकपा एमालेले उहाँलाई वडा अध्यक्षको उम्मेदवार बनाएको थियो । जुन कार्यालयमा कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति त्यही कार्यालयको अध्यक्ष भएर सेवा गर्ने अवसर प्राप्त भएको हो ।‘करिब पाँच वर्ष कार्यालय सहयोगी भएर नजिकबाट सेवा गर्ने मौका पाएँ । मलाई पार्टीले टिकट दियो । राजीनामा दिएर म चुनावमा होमिएँ । जनताको अभिमतले आज म वडा अध्यक्षमा निर्वाचित हुन पुगेको छु’ गुरुङले भन्नुभयो, ‘जुन पाँच वर्ष मैले कार्यालय सहयोगी भएर सेवा गरें, अब वडा अध्यक्ष भएर जनताको सेवामा समय बिताउने छु ।’

कार्यालय सहयोगी पदमा रहँदा सबै काम गर्नुपर्याे । सरसफाइदेखि झाडु, पोछासम्म । यति मात्र होइन, सिफारिसका काम समेत चन्द्रबहादुरले नजिकबाट सिक्नु भएको छ । ‘कार्यालय सहयोगी भएर सबै काम गरियो । त्यसमा पनि वडा सचिवसँग नजिक रहेर सिफारिसका काम जान्ने अवसर मिलेको थियो’ उहाँले भन्नुभयो, ‘अहिले म वडा अध्यक्षमा निर्वाचित भएर जनताको सेवा गर्ने अवसर पाएको छु । उत्साहित भएर जनसेवामा समय बिताउने छु ।’ वडा अध्यक्षमा उहाँ जस्तै अन्य व्यक्तिहरु पनि चुनावमा होमिएका थिए । तर, उहाँले सबैभन्दा धेरै मत प्राप्त गर्नुभयो । त्यो जनमतले कार्यालय सहयोगीको कुर्सीदेखि वडा अध्यक्षको कुर्सीसम्म पुर्याएको छ ।

नेपाली कांग्रेसका प्रभाकरदेव चौधरीलाई १ सय ३४ मतले पछि पार्दै चन्द्रबहादुर वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । चन्द्रबहादुरले ९ सय ५० मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रभाकरदेव चौधरीले ८ सय १६, नेकपा माओवादीका रामचन्द्र चौधरीले २ सय ६, एकीकृत समाजवादीका विष्णु गुरुङले ९८, मङ्गोल नेशनल अर्गनाइजेसनका मोतिलाल चौधरीले ७०, राप्रपाका यदुवंशी चौधरीले ६१ मत प्राप्त गर्नु भएको थियो ।

चन्द्रबहादुर आफू मात्रै निर्वाचित हुनुभएन उहाँको सिङ्गो टिम नै निर्वाचित भयाे । सदस्यमा आत्मराम पौडेल, चुमानसिंह खत्री क्षेत्री, महिला सदस्यमा पार्वती सुवेदी, दलित महिला सदस्यमा रञ्जना सुनाम निर्वाचित हुनु भएको छ । ‘महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, आदिवासी जनजाति सबैलाई समान व्यवहार गर्नुपर्ने मुख्य सिकाइ रह्यो । अझ सबैको साझा भएर सेवा दिने प्रयत्न गर्नेछु’ उहाँले भन्नुभयो, ‘सबैलाई समान अवसर प्रदान गर्ने कुरामा मेरो ध्यान जाने छ ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया