नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

 जेठ ११, २०७९ बुधबार ८:४१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ ।

पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजाे सार्वजनिक गरेको हाे । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरकै शाक्यमुनिको मूर्ति रहेको छ ।

प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो । प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाःहिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।

अमेरिकी मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्नुभएको हो । यूपीएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री सङ्ग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।

मूर्ति साविककै ठाउँमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा २० (क) को प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ । 
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया