चुनाव सकिएकाे १२ दिन पुग्याे, अझै ५ वटा पालिकाको नतिजा आउन बाँकी

 जेठ ११, २०७९ बुधबार १९:४४:१० | रासस
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव सम्पन्न भएको १२ दिन पुगे पनि अझै पाँच वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाण्डाै महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । 

बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाण्डाै महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार चार सय ३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार तीन सय ९७ मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले ५३ हजार ६ सय ४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार सात सय ५६ मत प्राप्त गर्नुभएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका बलदेव चौधरी सात सय ४४ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका वसन्तकुमार बस्नेतले तीन सय ४४ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा नेकपा (माओवादी केन्द्र) की गीता खड्का कार्कीले आठ सय १८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसकी सरिता राईले तीन सय २० मत प्राप्त गर्नुभएको छ ।   

रौतहटको गरुडा नगरपालिकको मेयरमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार आठ सय सात मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार चार सय १८ मतका साथ पछ्याइरहनुभएको छ । 

उपमेयरमा कांग्रेसकी पुनमकुमारी चौधरीले पाँच हजार एक सय ४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालकी विन्दुकुमारी देवीले तीन हजार एक सय ६४ मत प्राप्त गर्नुभएको छ ।

रौतहटकै फतुवा विजयपुर नगरपालिकाको मेयरमा कांग्रेसका गोपाल राय यादवले चार हजार एक सय १७ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ । एमालेका विजय यादव दुई हजार नाै सय २२ मतका साथ पछि हुनुहुन्छ । उपमेयरमा कांग्रेसकी अमवेया खातुनले चार हजार दुई सय ५१ मत र एमालेका कान्ती देवीले तीन हजार दुई सय ७० मत प्राप्त गर्नुभएको छ । 

सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस एक सय ३८ नगरपालिका र एक सय ८८ अध्यक्षसहित तीन सय २७ स्थानमा विजयी भएको छ । एमाले ८१ नगरपालिका र एक सय २३ गाउँपालिकासहित दुई सय चार स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी एक सय २१ पालिकामा विजयी भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया