ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ दिनुभयाे : सांसद विश्वकर्मा

 जेठ १२, २०७९ बिहिबार १७:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताउनुभएको छ ।  

आज बिहीवार प्रतिनिधि सभामा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद विश्वकर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषय आफ्ना कार्यकतासँग बसेर गफ दिएको जस्तो भएको टिप्पणी गर्नुभयो । विश्वकर्माले ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्ना कार्यकर्तासँग बसेर गफ गरे जस्तो गरेर सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो । कहाँको नीति तथा कार्यक्रम छ, कहाँ अदालतको आदेश छ । हुँदै नभएको कुरालाई उखान टुक्कासँग जोडेर गरेका गफ र कुण्ठा अभिव्यक्त गर्ने कुरालाई लिएर हामीले आधार बनाउन मिल्दैन ।’

सांसद् विश्वकर्माले ओलीको भाषण सरकारले प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रमप्रतिको टिप्पणीका रूपमा लिने बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया