बलात्कार, एसिड आक्रमणजस्ता घटना हुनै नदिने गरी कानुन प्रबन्ध गरिँदैछ : मन्त्री खाण

 जेठ १३, २०७९ शुक्रबार १६:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको बेला गृहमन्त्री खाणको यस्तो भनाइ बाहिर आएको हो । 

राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिकोत्सवको अवसर पारेर आज शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिरहेको पनि बताउनुभयो । त्यस अवसरमा गृहमन्त्री खाणले राष्ट्रिय मानव अधिकार आयोगका सबै सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले भन्नु भयो, ‘आयोगले गरेको सिफारिसहरूको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ । यस कार्यका लागि सरकारले कार्यदलसमेत बनाएको छ । बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रलाई चुस्त बनाइएको छ । त्यस्तो घटना हुनै नदिन आवश्यक कानुनको तर्जुमा गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी गराउन चाहन्छु ।’

गृहमन्त्री खाणले राष्ट्रिय मानव अधिकार आयोगको स्वयत्तता र स्वतन्त्रलाई आँच नआउन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । त्यसका लागि सरकारले आवश्यक कानुन परिमार्जन गर्न संसदमा विधेयक पेस गरेको उहाँकाे भनाइ छ । 

गृहमन्त्री खाणले नेपालमा मानव बेचबिखन हुन नदिन राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया