रसुुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो, पक्राउ शून्य

 जेठ १४, २०७९ शनिबार ८:३६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

रसुवा - रसुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो छ । जिल्लामा गएको वैशाख पहिलो हप्तादेखि चोरीको घटना सुरु भएको थियो । त्यसयता जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतबाट चोरी भएको छ । केही संस्था तोडफोड मात्र गरिएको भए पनि घरहरूमा नगद तथा गहना र प्रायजसाे सहकारीबाट नगद चोरी भएको छ । 

तर अहिलेसम्म प्रहरीले चोरीमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालीका र उत्तरगया गाउँपालिकामा चोरीका घटना भएको छ । गएकाे बिहीवार राति उत्तरगया गाउँपालिका–५ मा रहेको दुई वटा सहकारीका कार्यालयमा चोरी भएको छ । कालीका बहुउद्देश्यीय सहकारी संस्था र जनजागरण बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।

कालीका बहुउद्देश्य सहकारी संस्थाबाट ७३ हजार ४ सय ४५ रुपैयाँ चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द घिमिरेले बताउनुभयाे । उत्तरगया गाउँपालिका–४ कर्मीडाँडामा रहेको लहरेपौवा स्वास्थ्य चौकी र स्थानीयको घरमा पनि एकै पटक चोरी भएको छ । बिहीवार चोरी गर्ने व्यक्तिले जनजागरण बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोडसमेत गरेको संस्थाका अध्यक्ष ओम आचार्यले बताउनुभयो । कार्यालयमा तोडफोड गरे पनि नगद भने चोरी भएको छैन । 

गएकाे हप्ता पनि कालीका गाउँपालिकाको कालीकास्थान धारापानी, बेतिनी तथा उत्तरगया गाउँपालिका–५ को माझगाउँ र बनुवा घुम्तीमा चोरीको घटना भएको थियो । कालीका गाउँपालिकामा विभिन्न ठाउँमा सातवटा निजी घर तथा बेतिनीमा रहेको सामुदायिक स्वास्थ्य एकाइका साथै सहकारी संस्था र उत्तरगया गाउँपालिका–५ वडा कार्यालय निजी घरसमेत तोडफोड भएको भन्दै प्रहरीमा उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म चाेरीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन । प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार चोरीमा संलग्नको खोजी कार्य भइरहेको छ । चोरीका घटना स्थानीय त्रसित भएका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया