विमान दुर्घटना : थप १२ जनाको शव काठमाण्डौ ल्याइयो

 जेठ १७, २०७९ मंगलबार १४:३२:२० | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रतिकूल मौसमका कारण आइतवार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा भएको तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाण्डौ ल्याइएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव हिजो सोमवार बेलुकी र आज मङ्गलवार थप १२ जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार काठमाण्डाै ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सोमवार नै विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोगसमेत गठन गरेको छ ।

गएकाे आइतवार बिहान १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भिरमा ठोक्किएर दुर्घटना भएको थियो ।

हिजो दिनभर खोज्दा नभेटिएको विमान आज बिहान भेटिएको थियो । विमानमा आगो नलागे पनि सिधै पहाडमा ठोक्किएकाले क्षतविक्षत अवस्थामा शवहरू भेटिएका नेपाली सेनाले जनाएको छ । विमानमा १६ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिक थिए ।

 सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया