स्थानीयवासी भन्छन्, ‘घरमै ठोकिन्छ जस्तो गरेर २/३ पटक घुमेकाे थियाे जहाज’

 जेठ १५, २०७९ आइतबार १६:१:४५ | रासस
unn.prixa.net

फाइल फाेटाे

मुस्ताङ – पोखराबाट मुस्ताङका लागि उडेको तारा एअरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो । 

हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई–तीन पटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताउनुभयो । 

‘हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो’, उहाँले भन्नुभयो, ‘हल्का कुहिरो लागेर पानी परिरहेको थियो’ । उहाँले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताउनुभयो । 

‘घरमै ठोकिन्छ जस्तो गरेर दुई–तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ’, उहाँले भन्नुभयो, ‘केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ । तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उहाँले बताउनुभयो । 

‘त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन’, उहाँले भन्नुभयो, ‘आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।’ 

सम्पर्कविहीन भएको तारा एअरको विमान चालक दलका तीन सदस्यसहित १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका धेरैजसो ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयवासीले बताए । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया