जनपक्षीय न्याय सेवामा सर्वोच्चकाे जोड : कामु प्रधानन्यायाधीश कार्की

 जेठ १८, २०७९ बुधबार २०:१७:२४ | नेत्र शाही
unn.prixa.net

सुर्खेत जुम्ला उच्च अदालतको भवन निर्माण उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश कार्की । तस्बिर : नेत्र शाही, जुम्ला ।

जुम्ला – जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाका दुई भवन उद्घाटन गरिएका छन् । 

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज बुधवार भवनको उद्घाटन गर्नुभएको हो । २०५९ साल कात्तिक २८ गते द्वन््दवकालमा आक्रमण हुँदा जलेको तत्कालीन पुनरावेदन अदालत र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवन उद्घाटन गरिएको हो ।  

भवन उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले काम सुरु गरेको बताउनुभयो । मुद्दा दर्तादेखि फैसलासम्म मात्रै नभइ त्यसबाट आउने सकारात्मक प्रतिफलबाट नागरिकले न्याय पाउने उहाँको भनाइ छ । 

कामु प्रधानन्यायाधीश कार्कीले छिटो, निष्पक्ष र प्रभावकारी ढङ्गबाट न्याय सेवा दिन अदालतका न्यायाधीशलाई निर्देशनसमेत दिनुभयो । 

नयाँ भवन बनेपछि लामो समय साँघुरो ठाउँबाट दिइँदै आएको सेवा अब फराकिलो हुने भएको छ । सुर्खेत जुम्ला उच्च अदालत इजलासको भवन तीन करोड २२ लाख १३ हजार सात रुपैयाँ र जिल्ला अदालतको भवन चार करोड २१ लख ४३ हजार रुपैयाँमा निर्माण भएको हो । 

कामु प्रधानन्यायाधीश कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र चन्दननाथ मन्दिरको अवलोकन भ्रमणसमेत गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया