गण्डकी गाउँपालिका : उपाध्यक्षसहित १५ जनप्रतिनिधिद्वारा गाउँ सभा ‘बहिष्कार’, केन्द्र विवाद कायमै

 जेठ २४, २०७९ मंगलबार १९:५६:६ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको गण्डकी गाउँपालिकाकाे दशौँ गाउँ सभा नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । पालिकाकाे दोस्रो चुनावपछिको पहिलो गाउँ सभामा पालिकाको केन्द्र परिवर्तनको विषय पनि प्रस्तावको रूपमा आउन लागेको भन्दै उनीहरू सभामा सहभागी नभएका हुन् । 

आज मङ्गलवारको गाउँ सभामा पालिकाको केन्द्र परिवर्तनसम्बन्धी प्रस्ताव तेस्रो नम्बरमा राखिएको थियो । चालु आर्थिक वर्षको बजेट संशोधनसम्बन्धी पहिलो र आउँदाे आर्थिक वर्षको बजेटको पूर्वतयारी सम्बन्धी दोस्रो प्रस्तावमा भने सभामा छलफल भएको छ । ४४ सदस्यीय गाउँ सभामा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्षसहित २९ जना जनप्रतिनिधि रहेका छन् । यस्तै उपाध्यक्षसहित १३ जना कांग्रेसबाट र एमालेबाट निर्वाचित दुई जना जनप्रतिनिधि छन् । 

पालिका उपाध्यक्ष ललिता अधिकारीसहित १५ जना जनप्रतिनिधि सभास्थल छोडेर बाहिरिएका हुन् । दुवै पार्टीका प्रतिनिधि सभा छोडेर हिँडेपछि पालिकाको केन्द्र परिवर्तनसम्बन्धी प्रस्तावमा भने छलफल नभएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताउनुभयो । ‘उहाँहरूले बहिष्कार नै गरेको त भन्नुभएन तर कोही बिरामी परेँ भन्दै, कोही पार्टीले बोलायो भन्दै सभाबाट निस्कनुभयो’, तिमिल्सिनाले भन्नुभयो, ‘अब कार्यपालिकामा त्याे प्रस्तावबारे थप छलफल गरेर सभामा प्रस्तुत गरिन्छ ।’ 

गाउँपालिका अध्यक्षको शपथ ग्रहण गरेकै दिन कार्यपालिका बैठक राखेर तिमिल्सिनाले गाउँपालिकाले प्रशासकीय भवन तथा वडा नम्बर ६ र ८ को कार्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रद्द गराउनुभएको थियो । गण्डकी गाउँपालिकाको केन्द्रकाे विषयमा विवाद रहँदै आएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले पाँच वर्षदेखिको केन्द्रसम्बन्धी विवाद हचुवाका भरमा हल हुन नसक्ने बताउनुभयो । स्थानीयवासीले जग्गा दिएर प्रशासकीय भवन निर्माणको तयारी गरिएको ओखलडाँडामा केन्द्र राख्ने कि नराख्ने भनेर गाउँ सभामा प्रस्ताव ल्याएर छलफल हुनुपर्ने उहाँको भनाइ छ । ‘ओखलडाँडालाई पनि प्रस्तावको रूपमा ल्याएर छलफल गरौँ, अरू ठाउँहरूबारे पनि सभामा छलफल गरौँ भन्ने हाम्रो भनाइ हो’, उहाँले भन्नुभयो, ‘नयाँ ठाउँ पनि निश्चित छैन, कति जग्गा कसरी जुटाउने भन्ने पनि छैन, अनि कसरी छलफल हुन सक्छ ?’ केन्द्रका विषयमा एक पटक जिल्लाका  राजनीतिक दलको नेतृत्व तहसँग पनि छलफल भए विवाद समाधानको बाटो निस्कन सक्ने उपाध्यक्ष अधिकारीकाे भनाइ छ । 

प्रशासकीय भवन निर्माणको ठेक्का रद्द गराउनु भएका अध्यक्ष तिमिल्सिनाले भने पायक पर्ने ठाउँमा केन्द्र सार्ने विषयमा अध्ययन गर्न जेठ १६ गते कार्यदल बनाउनुभएको थियो । कार्यदलले गण्डकी गाउँपालिका ६ कै आइडाँडा, वनटार, दलभञ्ज्याङ लगायतका ठाउँकाे अध्ययन गरेर पालिकामा सुझाव पेस गरिसकेको छ । कार्यदलले आइडाँडा भन्ने ठाउँमा जग्गा व्यवस्थापन गरेर केन्द्र सार्न सकिने सुझाव दिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । 

कार्यपालिका सदस्य सीताराम रसाइली संयोजकत्वको कार्यदलमा वडाध्यक्षहरू तुलबहादुर गुरुङ, पहलमान वयलकोटी, राजुबाबु भण्डारी र सुवास पन्त सदस्य रहेका थिए । प्रशासनिक सुगमता हेरेर नयाँ ठाउँमा पालिकाको केन्द्र रहनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

अहिले केन्द्र रहेको भूम्लीचोकको ओखलडाँडामा प्रशासकीय भवन र वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्ने गरी विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । त्यसका लागि स्थानीयवासीबाट झन्डै आठ रोपनी जग्गा उपलब्ध भएको छ । वडा नम्बर ८ को कार्यालय भवनसमेत गरि प्याकेजमै टेन्डर आह्वान गरिएको थियो । तीन वटै भवन निर्माणका लागि झन्डै १२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया