परदेशीका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामाग्री प्रदान

 जेठ २७, २०७९ शुक्रबार १६:३०:४० | रामकुमार थापा
unn.prixa.net

धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाले वैदेशिक रोजगारको कारण समस्यामा परेका अभिभावकका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिकाले नगरभित्रका १० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । 

परदेशमा मृत्यु भएका ४ जना, परदेशमा अभिभावक हराएकाका १ जना, भनेको जस्तो कमाई नभएर स्वदेश फर्किएका २ र  विदेशमा भनेको जस्तो काम र तलब नभएको ३ जना गरी १० जना परदेशीका बालबालिकालाई  शैक्षिक सामाग्री वितरण गरिएको हो । 

नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना, उप मेयर दीपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलेले शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।

शैक्षिक सामाग्री नभएकै कारण बालबालिकालाई विद्यालय पठाउन समस्या भएपछि परियोजनामार्फत शैक्षिक सामाग्री वितरण गरिएको हो । उनीहरूका अभिभावकलाई परियोजनामार्फत नै नगरपालिकाले व्यक्तिगत मनोपरामर्श पनि प्रदान गरिरहेको छ । 

नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले नगर बासीको सुख दुःखमा साथ दिने भन्दै वैदेशिक रोजगारको विषयमा कुनै समस्या भए आफूलाई सिधा सम्पर्क गर्नको लागि पनि आग्रह गर्नुभएको छ ।

चिन्तामा परेका धेरैलाई चिन्ताबाट मुक्त गराउन र नयाँ जीवनमा फर्काउनको लागि मनोपरामर्शले काम गरेको भन्दै मनोसामाजिक समस्या लुकाएर नराख्नसमेत नगरप्रमुख ढुङ्गानाले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया